धरानः मौसमविद्का अनुसार असार साउनमा पर्नुपर्नेजस्तो पानी भोलि अर्थात् बुधबारसम्म पर्ने सम्भावना रहेको बताएका छन् ।
मौसमविद् सजिना शाक्यले भोलिसम्म भारी वर्षाको सम्भावना रहेको बताइन् । भारी वर्षाका अहिले कोशी, कन्काइ, महाकाली, कर्णालीलगायतका नदीमा पानीको सतहले खतराको घण्टी दिइसकेको छ ।
मौसमविदहरुका अनुसार नेपालमा पछिल्लो केही वर्षयता वर्षाको प्रकृतिमा समेत परिवर्तन आएको छ । छोटो समयमा धेरै वर्षा हुन थालेपछि विपदका घटनाहरु पनि बढ्न थालेका हुन् । अधिक वर्षा हुने दिनहरु समेत वृद्धि भएको मौसमविदहरुको मत छ । नेपालमा दुइवटा प्रणाली मिसिँदा पनि मनसुनको जस्तै झरी परिरहेको मौसमविद बताउँछन् ।
नेपालमा वार्षिक वर्षाको ८० प्रतिशत वर्षा मनसुन अवधिमा हुने गर्छ । समान्यतया नेपालमा मनसुन अवधि जुन १० देखि सेप्टेम्बर २३ बीचको १०५ दिनलाई मान्ने गरिएको छ । तर, पछिल्लो समय वर्षाको अवधि बढेको देखिएको छ ।
मौसमविद तथा मौसम विज्ञान विभागका पूर्व महानिर्देशक डा.ऋषिराम शर्माले नेपालमा अत्याधिक वर्षा हुने दिनहरूमा वृद्धि भएको बताए । तापक्रम वृद्धि भएसँगै वायुमण्डलमा संग्रह भएको अत्याधिक तापशक्तिका कारण यस्तो विषम मौसमी अवस्था उत्पन्न भएको उनको तर्क छ । पूर्वी नेपालमा पूर्वीय र पश्चिम नेपालमा पश्चिम वायुको प्रभावले पानी परिरहेको छ । पश्चिमी वायु र बंगालको खाडीबाट जलवाष्पयुक्त वायु वायु नेपालमा प्रवेश गरेकोले यतिको वर्षा भएको उनले जानकारी दिए । न्यून चापीय रेखा अहिले नेपालको तराइ क्षेत्रको आसपासमा भएकाले वर्षा नरोकिएको उनी बताउँछन् । मौसम विदहरुले यसलाई जलवायु प्रकोपको रुपमा समेत लिएका छन् ।