Hamro Koshi Aawaj

शनिबार, कार्तिक २१ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

कांग्रेसको महाधिवेशन अनिश्चित

हाम्रो कोशी आवाज
कार्तिक ७ २०७८, आइतबार
कांग्रेसको महाधिवेशन अनिश्चित

धरानः सत्तारूढ नेपाली कांग्रेसको १४ औं महाधिवेशन थप अनिश्चित बन्दै गएको छ । पटक–पटक गरी पाँच पटक अधिवेशनको कार्यतालिका हेरफेर गरिसकेको कांग्रेसले फेरि पनि महाधिवेशनको घोषित कार्यतालिकालाई धकेल्ने तयारी गरेको हो । तर, कहिले महाधिवेशन गर्ने भन्ने विषयमा कांग्रेसभित्र औपचारिक छलफल भने शुरु हुन सकेको छैन ।
कांग्रेसले यसअघि गएको साउनमा ९ देखि १३ मंसिरसम्म महाधिवेशन गर्नेगरी कार्यतालिका ल्याएको थियो । अब मंसिरका लागि तय महाधिवेशन माघमा गर्ने कि वैशाखमा गर्ने भन्ने विषयमा सभापति शेरबहादुर देउवा निकटका नेताहरूले आन्तरिक छलफल चलाएका स्रोतले जनाएको छ ।
महाधिवेशन अझै लम्ब्याउँदै जाने पक्षमा कांग्रेसभित्रको संस्थापन इतर समूह भने तयार देखिएको छैन । वरिष्ठ नेता रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौला पक्षले तोकिएकै मितिमा महाधिवेशन गर्नुपर्ने भन्दै संस्थापन समूहलाई दबाब दिँदै आइरहेका छन् । निर्धारित मितिमा अधिवेशन हुन नसक्दा प्रदेश अधिवेशनका लागि तय मिति समेत अब प्रभावित हुने क्रममा छ ।
कांग्रेसले प्रदेश तहको अधिवेशन १० देखि १२ कात्तिकसम्मका लागि तय गरेको छ । यस्तै, १३ जिल्लामा अझै पनि वडा अधिवेशन शुरु हुन सकेको छैन । रसुवा, रौतहट र बारा जिल्लाको क्रियाशील सदस्यताको नामावली सार्वजनिक नै भएको छैन ।
पछिल्लो पटक निर्धारित कार्यतालिकाअनुसार कांग्रेसको वडा अधिवेशन १८ भदौ, गाउँ र नगर अधिवेशन २७ भदौ, प्रदेश सभा क्षेत्रीय अधिवेशन १ असोज, प्रतिनिधि सभा क्षेत्रीय अधिवेशन र एक मात्र प्रतिनिधि सभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन ५ असोजमा हुने उल्लेख थियो ।
यसैगरी, एकभन्दा बढी प्रतिनिधि सभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन १० असोज, प्रदेश अधिवेशन १० कात्तिकदेखि १२ गतेसम्म र केन्द्रीय महाधिवेशन आउँदो मंसिर ९ गतेदेखि १३ गतेसम्म काठमाण्डौमा हुने उल्लेख छ । तर, यीमध्ये धेरैजसो तालिका प्रभावित भइसकेको छ ।

प्रकाशित मिति: कार्तिक ७ २०७८, आइतबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend