Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानमा इमान्दार उम्मेदवार अइन्द्रविक्रम बेघा

हाम्रो कोशी आवाज
बैशाख २६ २०७९, सोमबार
धरानमा इमान्दार उम्मेदवार अइन्द्रविक्रम बेघा

धरानः वैशाख ३० गते हुन गइरहेको निर्वाचनमा चार दलीय गठबन्धनबाट उपमेयरका उम्मेदवार आइन्द्रविक्रम बेघा छन् । धरानको राजनीतिमा क्रियाशील बेघा धरानको विकासका मुद्दामा स्पष्टवक्ता, इमान्दार, जुझारु साथै लोकप्रिय युवा नेताकारुपमा परिचित छन् । संघीय गणतन्त्रका लागि भएको माओवादी आन्दोलनमा भूमिगत जीवन समेत बिताएका बेघा जेल जीवन बिताएका व्यक्ति हुन् ।
माओवादीको परिवर्तनकारी एजेण्डाअनुसार मुलुकमा संघीय गणतन्त्र आएकोमा कसैको दुईमत नहोला । त्यही परिवर्तनकारी शक्तिका युवा अगुवा बेघा यसपालिको स्थानीय चुनावमा धरान उपमहानगरपालिकाको उपमेयरका उम्मेदवार छन् । २०७४ सालको चुनावमा मेयरको प्रत्यासी हुँदा ११ हजार बढी मत प्राप्त गरेका उनी धरानका युवा, महिला, श्रमिक, सुकुम्बासीदेखि ज्येष्ठ नागरिक सबैका लागि परिचित युवा नेता हुन् ।
राजनीतिक जीवनमा कहिल्यै कुनै पनि प्रकारको पद, प्रतिष्ठा, प्रलोभन र अवसरवादबाट अलग निर्विवाद बेघाको जन्म २०३९ साल असार २७ गते आइतबार ताप्लेजुङमा भएको हो । जन्म ताप्लेजुङमा भएपनि उनले राजनीतिक कर्मक्षेत्र धरानलाई बनाएर क्रियाशील रहँदै आएका छन् । धरानमा स्थायी बसोबास वडा १५ हो ।
बेघाको प्रारम्भिक शिक्षा झापाबाट शुरु भएको हो । बाल्यकालमा ताप्लेजुङमा मावलीमा बसेर कक्षा–२ का पढ्दै गर्दा झापा बारदशी झरेका उनले माविस्तरको पढाइ पूरा गरेका हुन् । उच्च शिक्षाको लागि धरानको महेन्द्र बहुमुखी क्याम्पसमा पढाइ शुरु गरेका उनको राजनीतिक जीवन त्यही माओवादीमा आवद्ध हुँदै शुरु भएको हो । पार्टीको पूर्णकालिक क्याडरका रुपमा रहेर उनी भूमिगत आन्दोलनमा सामेल भए ।
आन्दोलनकै क्रममा २०६० साल भदौ १५ गते पाँचथरको फिदिममा बेघा पक्राउ परे । बन्दी जीवनमा बेगाले भोग्नुपरेको नेपाली सेनाको अमानवीय यातनाको अनुभव दर्दनाक छ । त्यस बेला चिरञ्जवी लामिछाने पाँचथरका जिल्ला सचिव थिए । बेघा अनिरास्ववियु क्रान्तिकारीको केन्द्रीय थिए । पक्राउ गरिएका बेघालाई तत्कालीन शासकले ११ महिना बेपत्ता बनायो ।
सेनाले आँखामा पट्टी, हातमा हतकडी लगाएर सैनिक व्यारेकमा कठोर बन्दी बनाएको थियो । ११ महिनापछि पाँचथरका जिशिअ डिल्लीराम लुइँटेललाई सहकर्मीहरुले सार्वजनिक गर्न दबाब दिएपछि बल्ल जिसिअकै रोवहरणमा बेघालाई सार्वजनिक गरिएको थियो । लगत्तै उनलाई हिरासतमा लिएर विरानगर मोरङ कारागार चलान गरियो । त्यसैबीच कारागारमा भएको ठूलो झडपमा प्रहरीको कुटपिटबाट एक बन्दीको मृत्यु भयो । बन्दीहरु आन्दोलित भए । त्यसैबीच बेघासहित केहीलाई सुन्दरीजल जेल सरुवा गरियो ।
सुन्दरीजल बसाइकै बेला मुलुकमा ०६२–०६३ को आन्दोलन शुरु भयो । २०६३ जेठ १२ गते बेघा रिहा भए । तीन वर्षको जेल जीवनका बीच जेलैबाट उनले स्नातक सम्मको पढाइ पूरा गरेका हुन् । जनआन्दोलनले मुलुकमा राजतन्त्र समाप्त गरी गणतन्त्र स्थापना हुँदासम्म बेघाले पार्टीका विभिन्न जिम्मेवारी सम्हालेको अनुभव प्राप्त गर्न पाए । एरिया सदस्य हुँदै जिल्ला कमिटी सदस्य, प्रदेश कमिटी, एरिया कमिटी, प्रदेश कमिटीको जिम्मेवारी पूरा गरेका बेघाले विद्यार्थी राजनीतिमा अनेराश्ववियुको केन्द्रीय सचिवको जिम्मेवारी पूरा गरेका छन् ।
पार्टीमा सक्रिय बेघाले आन्दोलनको नेतृत्व गर्ने क्रममा प्रदेश १ को राजधानी धरान बनाउने मागसहित भएको आन्दोलनको पार्टीबाट नेतृत्व गरेका थिए । धरानमा सुकुम्बासी समस्याको मुद्दा बारम्बार उठाइरहने नेताको रुपमा उनलाई चिनिन्छ । धरानको खानेपानी समस्या समाधानको मुद्दा, विकास निर्माणको सवालमा सशक्त भूमिका निर्वाह गर्ने नेताका रुपमा पनि बेघा अग्रपंक्तिमा आउँछन् ।

केन्द्रमा सिधै पहुँच
नेता बेघाले आफूले जिते धरानको मुहार फेरिने बताउँछन् । केन्द्रीयमा ठोक्किन सक्ने र कुरा उठाउन सक्ने भएकोले आफूले धरानका लागि बजेट ल्याउन सक्ने र विकास निर्माण साथै धरानको समृद्धि हुने उनी बताउँछन् । ‘मेरो धेरै केन्द्रीय नेताहरुसँग पहुँच छ, त्यसकारण पनि धरानलाई केही सहज हुन्छ भन्ने सोचेको छु’, उनले भने, ‘मैले अहिले जतिपनि काम गरेको छु, अपचलन गरेको जस्तो लाग्दैन, अब पनि अपचलन नगरी केन्द्रको पहुँचलाई धरानसँग जोड्नेछु ।’
जसले यसअघि मेयरमा हारेपनि विकासमा पहल गरेका थिए
हामीमाझ धेरै नेता कार्यकर्ता छन् । धेरै नेता कार्यकर्तामा कसैबाट हारेमा केही गर्नु हुँदैन, त्यो काम जितेकाले नै गर्ने हो भन्दै छाडिदिने प्रचलन नयाँ होइन । अध्यापक डिवी श्रेष्ठ भन्छन्, ‘धरानमा विकास नहुनुमा व्यक्ति कामप्रेमी भएन, परिणामप्रेमी भयो वा पदप्रेमी भयो, पद मात्रै खोज्नेले जितेर गएपनि काम गर्दैन ।’
तर उनी कामप्रेमी, विकासप्रेमी बनेका छन् । उनी यसअघिको स्थानीय निर्वाचनमा माओवादी केन्द्रबाट मेयरमा चुनाव लडेका थिए । तर उनले केही मतले हारे । तरपनि अहिले धरानमा विकास निर्माण हुनुपर्छ भन्ने पक्षमा उनी लाग्दै काम पनि गरेर देखाएका थिए । विकासका लागि पहल गर्नेसम्म भएपनि उनको कामले देखाएको छ । त्यतिबेला उनको पदप्रेमी होइन कामप्रेमी व्यवहार देखेर सबैले तारिख गरेका थिए । दृढ इच्छाशक्ति भएका केही गर्न सकिन्छ भन्ने कुरा उनको उदाहरणबाट प्रष्टिन्छ । हारे पनि केही हुँदैन, इच्छाशक्ति भएमा विकास निर्माण तीब्र हुन्छ भन्ने उदाहरण उनले दिइसकेका छन् ।
धरान–२० चिन्डेडाँडामा भ्यू टावर उनकै पहलमा भएको हो । चिल्डेडाँडादेखि एक किलोमिटर माथि डाँडामा भ्यू टावर बनिसकेको छ । चिल्डेडाँडा पर्यटन तथा पूर्वाधार विकास केन्द्र नेपालका अध्यक्ष तथा चिन्डेडाँडा पर्यटन निर्माण समितिका अध्यक्ष सम्फर तामाङका अनुसार अहिले भ्यू टावरमा पर्यटक आउन थालिसकेका छन् । बेघाको पहलमा प्रदेश नं. १ को संघीय तथा आर्थिक मामिला मन्त्रालयबाट त्यतिबेलाका अर्थमन्त्री इन्द्र आङ्बोले ३० लाख रूपैयाँ बजेट छुट्याइदिएपछि यो भ्यू टावर बनेको थियो ।
यस्तै, धरानको कृषि बजारमा भवन बनिसकेको छ । त्यतिबेला ल्याइएको २० लाख रूपैयाँ बजेट उनकै पहलमा भएको र अहिले चिस्यान केन्द्र बन्दा प्रदेश १ का किसान, व्यवसायीलाई फाइदा पुगेको व्यवसायी बताउँछन् । त्यतिबेलाकी सङ्घीय तथा कृषि राज्यमन्त्री रामकुमारी चौधरीको विशेष निर्देशन तथा धरानका नेकपाका नेता एवम् कृषि उपज बजार व्यवस्थापन समितिका सल्लाहकार बेघाको पहलमा यस्तो भवन बनिसकेको हो । यसअघि भवन बनाउन १० लाख रूपैयाँ छुट्टिएर कृषि बजार उपजस्थलमै भवन निर्माण भइसकेको छ ।
यस्तै, धरान–४ स्थित सेउती खोला (अर्गानिक गाउँ बसन्तटार तलतिर) तटबन्धन निर्माण, वसन्तटार डाँडाटोल ड्रेन निर्माण भएको थियो । उनकै पहलमा ३२ लाख रूपैयाँ बजेट आएपछि ड्रेन निर्माण भएको हो । यस्तै, धरान–४ दानाबारीमा ट्रयाक खोल्न पनि उनले बजेट ल्याएका थिए । बेघाको पहलमा ३० लाख रूपैयाँ बजेट छुट्टिएर ट्रयाक खोलिएको हो ।
यस्तै, धरानमा अन्तरराष्ट्रियस्तरको क्रिकेट खेल मैदान निर्माण छ । क्रिकेट मैदानका लागि प्रदेश सरकारले ५० लाख बजेट विनियोजन गरेको थियो । सो बजेट ल्याउन नेता बेघाले पहल गरेका थिए । यस्तै, धरान–१५ स्थित खोरिया वस्तीमा तटबन्धनलगायत दर्जन बढी काम उनकै पहल भएको उनले जानकारी दिए ।

दम्पत्ति नै राजनीतिमै
धरानमा खोज्दै जाँदा हजारौं यस्ता जोडीहरू छन् जसले समाज जोड्दै अघि बढेका छन्, सफल छन् । फरक जातीय विवाह गर्नेहरू फरक संस्कृतिमा घुलमिल हुन थालेका छन् । जनयुद्धताका पाँचथरको रवि बजारमा एक अर्कामा चकलेट साटेर जनवादी विवाह गरेका बेघा र सविना खनाल (बेघा) एक पात्र हुन् जसले खनालकी छोरी विवाह गरे । उनीहरु दुवैजना राजनीतिमै जीवन व्यथित गरिरहेका छन् ।
विवाह भएको करिब १४ वर्ष भयो । अहिले छोरी एकता १५ वर्षकी भइन् । उनी अहिले सफल राजनीतिज्ञको रूपमा चिनिन्छन् । वि.सं. २०५६ सालदेखि नै माओवादी पार्टीमा सक्रिय उनले डिप्लोमा सम्मको शिक्षा हासिल गरेका छन् । स्कूले बेलामै माओवादीनिकट विद्यार्थी सङ्गठनमा लागेको उनी विद्यार्थीको इकाई कमिटी, केन्द्रीय सचिव हुँदै माओवादीको केन्द्रीय सदस्य समेत बने ।
सङ्घीय मामिला संविधानसभा तथा संस्कृति मन्त्रालयको मन्त्रीको प्रमुख स्वकीय सचिव भइसकेका उनले जनयुद्धकालमा ११ महिना बेपत्ता, ३ वर्ष जेल जीवन बिताएका थिए । विभिन्न क्लब साथै सामाजिक सेवामा पनि समर्पित रहँदै आएका छन् । उनी धरान–१५ खोरिया बस्तीमा स्थायी बसोबास गर्दै आएका छन् । जीवन सङ्गीनी सविना पनि पसल चलाएर बस्नुका साथै पार्टीलाई पनि समय दिँदै आएकी छिन् ।
‘धार्मिक र सांस्कृतिक चाडवाडमा पनि रमाउन सिकिसकेका छौं’, बेघाले भने, ‘धान नाच्नु परेपनि नाच्छिन्, लिम्बू संस्कृति चलिआएको चालचलनमा पनि रम्छिन्, त्यस्तै म पनि तीजमा दर खान बोलाउँछन् पुगेकै हुन्छु, बाबुआमाको मुख हेर्ने दिनमा पनि पुगेकै हुन्छु, अन्य संस्कार, संस्कृतिमा पनि भुलेकै छु ।’
सविनाले पनि पनि दुवै संस्कारलाई सम्मानपूर्वक स्वीकारेको बताउँछिन् । ‘दुवैको संस्कार, संस्कृति त ग्रहण गनैपरयो नि ।’ उनले भनिन् । परिवारको भावना बुझे, एकले अर्काको भावना बुझे, सम्मानका साथ अघि बढे परिवार सफल हुने अइन्द्रको धारणा छ । ‘सुखदुःखका नलुकाई भनसुन गर्नुपर्छ, दुःखसुख सामूहिकरुपमा सामना गर्नुपर्छ अनि मात्रै सुखी र समृद्ध परिवार बन्छ ।’ उनले अन्त्यमा भने, ‘उनी नभएको भए म कहाँ सफल हुन्थे र ?’

प्रकाशित मिति: बैशाख २६ २०७९, सोमबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend