केही दिनयता बजारमा जताततै व्यापार व्यवसायमा मन्दी छाएको छ । यता पाँच सय र हजारको नोट पनि हाहाकार भएको सर्वसाधारणले कुरा गरेको प्रशस्तै सुनिन्छ । केही वर्षअघिसम्म दिनमा एक लाखदेखि पाँच लाख रुपैयाँसम्मको व्यापार व्यवसाय गर्नेहरु अहिले बहनी हुन समेत गाह्रो पर्ने बताउँछन् ।
यसरी बजारमा मन्दी छाएको सहजै अनुमान लगाउन सकिन्छ । तर, अहिले बजारमा मन्दीको अवस्था देख्दा पैसा कता गयो ? भन्ने प्रश्न समेत खडा हुन खोज्छ । सरकारले त नोट प्रशस्तै छापेर बजारमा पठाएको छ । तर, ती नोट कता गए ? हो, अहिले यो सवाल सबैको मनमा उब्जिएको छ ।
एक वर्षअघिसम्म मानिसहरुले धमाधम जग्गा किनेर घर बनाउने गर्थे । उता कामदार नपाएर घरधनी तथा ठेकेदार भौतारिन्थे । यसैगरी, त्यसबेला बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म ज्यालादारी गरेको हजार रुपैयाँ दिइन्थ्यो । तर, अहिले यसको ठिक विपरीत छ । अहिले पहिला त काम नै पाइदैँन ।
काम पाएपनि हजार रुपैयाँ दिइने ठाउँमा पाँच सय रुपैयाँ ज्यालादारी दिइन्छ । यता एक वर्षअघि दुई हजारदेखि पाँच हजार रुपैयाँ भनिने कपडा अहिले पाँच सय रुपैयाँमा समेत बिक्री हुदैँन । त्यसैगरी, दुई वर्षअघि आनाकै करोडमा किनेको जग्गा अहिले लाखमा बिक्दैँन ।
त्यस्तै, सेयर र गाडीको पनि यँही हालत छ । ३२ सय कित्तामा किनेको सेयर अहिले सय रुपैयाँमा बिक्री हुदैँन त ५० लाख रुपैयाँमा किनेको गाडी लाख रुपैयाँमा बिक्दैँन । मालपोत र यातायात कार्यालय गएमा त्यहाँ दिनमा एउटा पनि घरजग्गा नामसारी नभएको तथा सवारीसाधन किनबेच नभएको पनि देखिन पाइन्छ ।
अहिले नेपालका भूरादेखि बुढासम्मले मुलुकको अर्थतन्त्रको अवस्थाबारे थाहा पाउनुका साथै अन्तर्राष्ट्रियस्तरमै यो प्रचारप्रसार भइरहेको छ । यस्तो अवस्था सिर्जना हुँदा पनि अर्थमन्त्री प्रकाशशरण महत र राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीले अहिले पनि जनतालाई ढाँटिरहेका छन् ।
बजार कुन अवस्था र कतातिर गइरहेको छ ? भनेर न अर्थमन्त्रीलाई थाहा छ न राष्ट्र बैंकका गर्भनरलाई । आफुलाई पैसाको खाँचो परेर तीन वर्षअघि करोडमा किनेको घडेरी अहिले लाख रुपैयाँमा बेच्छु भन्दा पनि किन्ने कोही छैन ।
मुलुकभर ५० प्रतिशत सटर, कोठा, फल्याट आदि खाली भइसकेका छन् । यता जसोतसो बसिरहेकाहरु पनि भाडा तिर्न नसकेर मारमा परेका छन् । गत जेष्ठ १५ गते सरकारले बजेट ल्यायो । तर, न ज्येष्ठ नागरिकको भत्ता नै कटौती गप्यो न सरकारी कर्मचारीको तलबभत्ता ।
यता जनप्रतिनिधिको तलबभत्ता र सेवासुविधा कटौती गर्नु त पर कै कुरो हो । अहिले राज्यको ढुकुटीमा राजस्व आउन निकै कम भइसकेको छ । बजारमा आएको मन्दीको प्रभाव राजस्व संकलनमा परेको छ । तर, यस्तो हुँदा पनि सरकारले सरकारी खर्च कटौती गरेको छ ।
सरकारको पछिल्लो गतिविधिले कतै सरकार आफैं त मुुलुक विदेशीको जिम्मा लगाउन लागेको होइन ? भन्ने प्रश्न समेत सर्वसाधारणको मनमा उब्जिएको छ । अहिले एक नेपालीको टाउकोमा विदेशी ऋण ९० हजार पुगेको छ । यसरी सरकारले विदेशीसँग लिएको ऋणको साँवाब्याज तिर्न नसके नेपाल कालोसूचीमा पर्ने ग्यारेन्टी छ ।
अहिले सर्वसाधारण जनताले राज्यलाई राजस्व तिर्न छोडिसकेका छन् । यता अलिअलि उठेको राजस्वले सरकारले सरकारी खर्च धानोस् कि विदेशी ऋण तिरोस् । रोग लागेपछि त्यसको उपचार गर्नुपर्छ । साथै, समयमै त्यस रोगको उपचार नगरे ज्यानै पनि जान सक्छ ।
श्रींलकामा आर्थिक मन्दी आउनेबित्तिकै त्यँहाको सरकारले त्यो कुरा स्वीकार्दै विदेशी ऋण तिर्न नसक्ने बतायो । यता सर्वसाधारण जनता पनि सडकमा उत्र्रिए । सरकार परिवर्तन भयो । विदेशी ऋण मिनाहा गरियो । सरकारी खर्च कटौती गरियो । जसले गर्दा अहिले श्रींलकाको अर्थतन्त्रमा सुधार आएको छ ।
तर, नेपाल सरकारका अर्थमन्त्री र राष्ट्र बैंकका गर्भनर अहिले पनि अर्थतन्त्र ठिकठाक रहेको दाबी गर्छन् । यदि अर्थतन्त्र ठिकठाक नै छ भने बजारमा किन मन्दी भयो ? किन पैसाको हाहाकार भयो ? अब यसको जवाफ सर्वसाधारणलाई चाहिन्छ ।
पछिल्लो समय मन्दी कै कारण विभिन्न क्षेत्रमा कार्यरत कर्मचारीले ६ महिनादेखि दुई वर्षसम्मको तलब पाएका छैनन् । अनि यो मन्दी नभई के हो त ? कर्मचारीहरु आफुले काम गरेको तलब माग्छन् । तर, साहुहरु बजारमा मन्दी छ भनेर टार्छन् ।
मुलुकको अर्थतन्त्र पूरै मन्दीमा गइसकेको छ । तर, अझै पनि सत्तामा बस्नेहरु झुठो कुरा बोल्न छोडेका छैनन् । अहिले विज्ञदेखि अर्थविद्सम्मले मुलुक छ दशकअघिको अवस्थामा पुगेको बताइसकेका छन् ।
अहिले संसदमा कुनै सेयर दलाली सांसद भएर गएका छन् त कुनै जग्गा दलाली । यता व्यापारीहरु पनि सांसद भएर गएको सजिलै देखिन सकिन्छ । साथै, उनीहरु अहिले बजारको अवस्थाबारे राम्ररी परिचित छन् । तर, पनि आवाज उठाउन पछि परेका छन् ।
अहिले बजारमा मन्दी आयो भनेर त जोकोही भनिरहेका हुन्छन् । तर, यस विषयमा पनि सर्वसाधारण दुई भागमा विभाजन भएका छन् । एकथरी भन्छन्, ‘हिजो सरकारले पाँच हजार मूल्य निर्धारण गरेको जग्गा जग्गा दलालीले खण्डीकरण गरेर आनाकै लाख रुपैयाँमा बेचे । बैंकले सय रुपैयाँ कित्तामा निकालेको सेयर दलालीले ३२ सय रुपैयाँमा बेचे त पाँच सय किलोमा बिक्री नहुने फलाम भारतले गाडी बनाएर नेपाललाई किलोकै लाख रुपैयाँमा बेच्यो । अनि को डुब्यो ?’
केही दिनअघि नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वगृहमन्त्री बालकृष्ण खाँण र एमाले नेता टोपबहादुर रायमाझी पक्राउ पर्दा प्रधानमन्त्री प्रचण्डले भनेका थिए, ‘यो त टे्रलर मात्र हो । फिल्म अझै बाँकी नै छ ।’ त्यसरी नै अहिले आम नागरिक पनि मुलुकको आर्थिक अवस्थामा भर्खरै संकट देखिन थालेको भन्दै जटिल अवस्था त अझै देखिन बाँकी नै रहेको बताउँछन् ।
अहिले आम नागरिक अबको केही महिनापछि नै मुलुकमा खाद्यान्न संकट निम्तिने बताउँछन् । साथै, लुटपाट, ठगी, चोरी, हत्या हिंसालगायतका घटना पनि हवात्तै बढ्ने उनीहरु जनाउँछन् । आर्थिक मन्दीका कारण श्रींलकाकै जनताले एक किलो चामलको १६ सयदेखि २५ सय रुपैयाँसम्म तिरेको सुनियो ।
तर, हाम्रो मुलुकमा त अहिले नै एक वर्षअघिसम्म १५ सय रुपैयाँमा पाइने चामल ३२ सय रुपैयाँ पुगेको छ । अहिले श्रींलका, पाकिस्तानलगायतका जनतालाई घर, गाडी, सेयर, लत्ताकपडाको आवश्यकता परेको छैन । उनीहरुलाई चाहिएको भनेकै खाद्यान्न हो ।
यसरी श्रींलकाको अवस्था देख्दा नेपाल यो अवस्थामा पुग्दैँन भनेर कसरी भन्न सकिन्छ । मुलुकको सबै खेतीयोग्य जमिन घर र बाटो बनाउँदा मासिएको छ । बैंक तथा वित्तिय संस्थाको सम्पूर्ण लगानी घरजग्गा, गाडी र सेयरमा छ । यसले नेपालमा न त खेतीयोग्य जमिन नै छ न अर्थतन्त्र सुधार्ने बाटो । अनि कसरी मुलुक श्रींलकाको अवस्थामा पुग्दैँन भनेर भन्न सकिन्छ ?
मुलुकको अर्थतन्त्रमा मन्दी आउनेबित्तिकै ३५ हजार बढी सहकारी संघसंस्थाले करोडौं बचतकर्ताको खर्बो रकम डुबाएर भागे । यता आफ्नो रकम डुबेको चिन्ता कति बचतकर्ता आत्महत्या गर्नुपर्ने अवस्थामा पुगे त कति असपतालमा थलो परे । त्यसरी नै अहिले मुलुकको नाम चलेका १७ वटा बैंक पनि डुब्ने अवस्थामा पुगेका छन् ।
जसले गर्दा यी बैंकमा बचत गर्नेहरु भोलि सहकारीकै बचतकर्ताको अवस्थामा नपुग्ने भनेर भन्न सकिदैँन । यसरी सहकारीका बचतकर्ताको आँसु नसुक्दै बैंकका बचतकर्ताको रुवाँबासी हुने भएको छ । तर, यस्तो अवस्थालाई पनि सत्तापक्ष र विपक्ष दलले चासो दिएका छैनन् ।
अहिले सुनिन्छ, सरकारले अवकाश कर्मचारीलाई तलब दिएको छैन । कतिपय सरकारी कर्मचारीले वर्षो दिनदेखि तलब पाएका छैनन् त ज्येष्ठ नागरिकले भत्ता पाएका छैनन् ।
त्यसैले, अब प्रधानमन्त्री प्रचण्ड, नेकपा एमालेका अध्यक्ष केपी ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन, नेकपा एसका नेता माधवकुमार नेपाल, जसपाका नेता उपेन्द्र यादव र रास्वपाका सभापति रवि लामिछानेले कि त आत्मसर्मपण गर्नुपर्छ होइन भने देशबाट भाग्न तयारी अवस्थामा बस्नुपर्छ ।
किनकि जब जनता सडकमा उत्र्रिने छन् तब यीमध्ये कसैलाई छोड्ने छैनन् । जसरी श्रींलकाका जनता एकाएक सडकमा उत्र्रिए त्यहाँका राजनीतिक दललाई धपाउन सफल भए त्यसरी नै नेपाली जनता सडकमा उत्र्रिएर यस्ता राष्ट्रघातीलाई धपाउनेछन् ।
अहिले सर्वसाधारण जनता खान नपाएर भोकभोक हिडेका छन् । यति मात्र नभई भोकका कारण आफु मर्नुका साथै आफ्नालाई समेत मारेका छन् । तर, राजनीतिक दलका नेताहरु अहिले पनि एकअर्कालाई आरोपप्रत्यारोप लगाएर उम्किने खोजिरहेका छन् ।
जनताले विश्वास गरेर राजनीतिक दलहरुलाई सत्तामा पुप्याए । तर, राजनीतिक दलहरु राष्ट्र र जनताको हितमा काम गर्नुभन्दा पनि लोभ र भ्रष्टाचारमा लागे ।
त्यसैले, अहिले आफ्नो मातृभूमि बचाउन सार्वभौम जनता गाउँ गाउँबाट वा सहर सहरबाट आन्दोलनको तयारी गरिरहेका छन् । र, जुन दिन यो आन्दोलनले मोड लिन्छ, त्यो दिन राजनीतिक दलका नेताहरुलाई नेपालमा बस्ने अन्तिम दिन हुन्छ ।