Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

५५ रुपैयाँबाट सुरु गरेर कृषिबाटै करोडपति !

हाम्रो कोशी आवाज
फाल्गुन २७ २०८०, आइतबार
५५ रुपैयाँबाट सुरु गरेर कृषिबाटै करोडपति !

सुनसरी । कृषि क्षेत्रमा ‘सम्भावना नभएको’ भन्दै खेतबारी बाँझै राखेर विदेश पलायन हुने युवापुस्ताको सङ्ख्या ठूलो छ। देशमै पनि गाउँको उर्वर खेतबारी चट्टै छाडेर सहरतिर मजदुरी गर्नेहरू उत्तिकै छन्।

धरानको वसन्तटारका कृष्ण राईले भने कृषि पेसामै ठूलो सम्भावना रहेको देखे। कृषिबाटै नाम र दाम कमााएका उनी भन्छन्‌, ‘अल्छी गर्नेलाई कतै सम्भावना छैन, जाँगर हुनेलाई कृषिमा सम्भावनै सम्भावना छ।’

सोताङ प्राङ्गारिक कृषि फर्म खोलेर तरकारी र फलफूलको खेतीसँगै कुखुरा, बाख्रा, बङ्गुरदेखि गाईसम्म पालन गरेका राईले यसैबाट वार्षिक करोडौं रुपैयाँ बराबरको कारोबार गर्दै आएका छन्‌। कृषिबाटै उनले करोडौँको जग्गा जमिन जोडेका छन्‌, भव्य घर बनाएका छन्‌। कृषिबाट उनी आफुले मात्र कमाएका छैनन्‌, अरूलाई पनि रोजगारी दिएका छन्‌।

कृषि कर्मबाटै उनले धरानमा अढाई बिघा जग्गा जोडेका छन्‌ भने बराह क्षेत्रमा करिब १५ विघा किनिसकेका छन्‌। ती जग्गामा कतै विभिन्न तरकारी र फलफूल लगाएका छन्‌ भने कतै ठूलो मात्रामा सयौं प्रजातिका फूलको नर्सरी बनाएका छन्‌। उनको गोठमा ५५ वटा गाई छन्। ती गाईबाट उत्पादन भएको दूध धरान बजारमा दैनिक पाँच सय लिटर बिक्री गर्छन्‌।

त्यस्तै उनको खोरमा अहिले १० वटा बङ्गुरका माउ छन्। तिनबाट उत्पादन भएका बच्चा बेच्छन्‌ भने मासुका लागि पालिएका बङ्गुर पनि बेच्छन्‌। उनले कुखुरा, हाँसलगायतका पंक्षीहरू पनि पालेका छन्‌। घरै उनले माटो बिना साग फलाउनी सकिने हाइड्रोफोनिक प्रविधिबाट सागको खेती गरेका छन्‌ भने त्यससँगै माछा पनि पालेका छन्‌।

उनको सोताङ प्राङ्गारिक कृषि फर्ममा राईका बुवा, आमा, श्रीमती र छोराले पनि सहयोग गर्छन्। त्यसबाहेक उनले १६ जनालाई रोजगारीसमेत दिएका छन्‌। हालसम्म कृषि क्षेत्रमा उनको लगानी नै करोडौँ पुगिसकेको छ। उनले धरान–७ शान्तिपथमा तरकारी तथा फलफूल बिक्री गर्न पसल पनि सञ्चालन गरिरहेका छन्‌। त्यसबाहेक घरमै किन्न आउनेहरू पनि उत्तिकै हुन्छन्। तरकारी, फलफूल तथा पशुपालनबाट मासिक रु १२ लाखको हाराहारीमा कमाई भइरहेको उनी बताउँछन्‌।

५५ रुपैयाँबाट सुरु

अहिले करोडौँको लगानी पुगेको राईको कृषि फर्मको सुरुआत भने जम्मा ५५ रुपैयाँ लगानीबाट भएको थियो। उनी भन्छन्‌, ‘सुरुमा ५५ रुपैयाँ लगानी गरेर कृषि क्षेत्रमा लागेको थिएँ, त्यहि फैलिँदै अहिले करोडौंको भएको हो।’

सामान्य आर्थिक अवस्थाको कृष्णको परिवारसँग पहिला जम्मा छ कट्ठा जग्गा मात्र थियो। त्यसैमा बावुले परम्परागत कृषि कर्म गर्दै आएका थिए। खासै राम्रो उब्जनी हुँदैनथ्यो। त्यसबाट जीवन धान्न नै मुस्किल पर्ने अवस्था थियो।

करिब २६ वर्षअघि कृष्णले स्कुलबाट फर्किने क्रममा बाटोमा एक जना मान्छेले काँक्राको बीउ किनिरहेको देखे। त्यसपछि बीउ बेच्नेसँग सोधखोज गर्दा राम्रो फल्ने काँक्राको बीउ हो भन्ने जानकारी पाए।

‘त्यसपछि मैले पनि १० रुपैयाँमा १८ वटा काँक्राको बीउ किनेर ल्याएँ’, उनी सम्झिन्छन्‌, ‘त्यो बीउलाई मलजल गर्दा जम्मा लगानी ५५ रुपैयाँ पुगेको थियो। त्यसबाट फलेका काँक्रा बिक्री गर्दा पाँच सय ५० रुपैयाँ कमाएँ। त्यहीँबाट कृषिमा सम्भावना रहेछ भन्ने बुझेर लागि परेको हुँ।’

कृषिलाई परम्परागतबाट आधुनिक तरिकाले अघि बढाउने सोंच भएपनि तालिमको अवसर थिएन। उनका लागि त्यसबेला रेडियो नेपाल र नेपाल टेलिभिजनबाट प्रशारण हुने कृषि कार्यक्रम नै तालिम बने।

ती कार्यक्रम नियमित सुन्ने र हेर्ने गर्न थाले। पत्रपत्रिकामा कृषिका समाचार देख्ने बित्तिकै पढ्न थाले। उनी भन्छन्‌, ‘कसैले खेतीपातीका विषयमा कुरा गरेको सुनें भने ध्यान दिएर सुन्थे, कतै पत्रपत्रिकामा कृषिकाबारे लेखिएको भेटे, घरमा ल्याएर मज्जाले पढ्थें। मेरा गुरुहरू तिनै थिए।’

खेती र पशुपालन गर्दा समस्या नआउने कुरै भएन, उनले पनि धेरै रोग र विभिन्न समस्या भोगे, तर समस्यासँग कहिल्यै हार मान्नु भएन। यसरी सिक्दै अघि बढाएको कृषि कर्म अहिले उनी अरूलाई पनि सिकाउँछन्‌। उनले केही वर्षअघि बसन्तटारमा रु ८५ लाख लगानी गरेर आधुनिक कृषि तालिम केन्द्रका लागि भवन निर्माण गरेका छन्‌।

कृषिसम्बन्धी विभिन्न तालिम यसैमा सञ्चालन गर्छन्‌। उनको कृषि फर्ममा अध्ययन भ्रमणमा टाढादेखिका कृषकहरू पनि आउने गरेका छन्। उनी भन्छन्‌, ‘अहिले खेतीपाती र पशुपालन गर्ने तरिका मात्र होइन, आफ्ना उत्पादनलाई कसरी बजारीकरण गर्ने भन्ने विषयमा प्रशिक्षण पनि दिँदै आएको छु।’

प्राङ्गारिक गाउँ

धरान उपमहानगरपालिका–४ मा पर्ने बसन्तटार गाउँ प्राङ्गारिक खेतीका लागि चर्चित छ। यो गाउँमा कृषिलाई व्यवसायीकरण गर्नमा कृष्णकै ठूलो योगदान छ। उनकै प्रेरणाले गाउँभर अहिले कृषि फर्महरू खुलेका छन्। कृषिबारे बुझ्न आउनेहरूका लागि यो गाउँ पाठशाला जस्तै बनेको छ।

कृष्णले आफ्नो खेतबारी मात्र होइन पूरा गाउँलाई नै प्राङ्गारिक बनाउनी निक्कै मिहिनेत गर्नु परेको थियो। अन्य गाउँलेले जस्तै कृष्णले पनि सुरुका वर्षमा धेरै उत्पादन हुने लोभमा खेतीमा रासायनिक मल र विषादीको प्रयोग गरेका थिए।

तर केही वर्षमा माटोको उर्वरा शक्ति हराएर उब्जनी घट्न थाल्यो। त्यसपछि उनले किन यस्तो भयो ? भनेर कारण खोजे। धेरैतिर बुझ्दा थाहा भयो, रासायनिक मल र विषादीको प्रयोगले माटोको उर्वरा शक्ति नै हराउने रहेछ।

बारीमा रासायनिक मल र विषादी प्रयोग गरेर आफैंले गल्ति गरेको महशुस गरी उनले त्यसलाई सुधार्ने वाचा गरे। तर बिग्रिएको माटो सुधार गर्नु त्यत्ति सजिलो काम थिएन। त्यसका लागि निक्कै मिहिनेत गर्नु परेको उनको अनुभव छ।

माटो सुधार्न कृष्णले आफैं जैविक मल उत्पादन गर्न थाले। जैविक वनस्पतीकै विषादी बनाए। जैविक मल र विषादी बनाउने काम अहिले पनि गरिरहेका छन्‌। उनी भन्छन्‌, ‘रासायनिक मल र विषादी हाल्नु हुन्न भन्ने बुझेपछि म प्राङ्गारिक खेतीका अभियन्ता बनेको हुँ।’

प्राङ्गारिक खेती गर्नका लागि आफ्नो बारीमा मात्र रासायनिक मल र विषादी प्रयोग नगरेर हुने अवस्था थिएन। उनी भन्छन्‌, ‘मैले मेरो बारीमा त रासायनिक मल र विषादी प्रयोग गरिन तर गाउँमा अरूले प्रयोग गरेपछि त्यसको असर मेरो बालीमा पनि पर्ने रहेछ। त्यसो हुँदा प्राङ्गारिक खेती गर्न सम्भव नदेखिएपछि अरूलाई पनि बुझाउने कोसिस गरें र सफल पनि भएँ।’

अहिले उनको पाइला पछ्याउँदै बसन्तटार गाउँका एक सय ५० घरघुरीले प्राङ्गारिक खेती गर्छन्। त्यसमध्ये ५५ घरको मुख्य आम्दानीको स्रोत प्राङ्गारिक कृषि नै रहेको उनी बताउँछन्‌। बसन्तटार अहिले कृषि अभियन्ताहरूका लागि सिकाइको थलो बनेको छ।

कृषिबाट राम्रो आम्दानी गर्नुका साथै अरूका लागि प्रेरणाका स्रोत समेत बन्नु भएका कृष्णलाई विभिन्न सङ्घसंस्थाले सम्मान समेत गरेका छन्। परिवारसहित कृषिमै रमाइरहेका राई भन्छन्‌, ‘कृषिमा अलि मेहनत आवश्यक पर्छ तर सम्भावनै छैन भन्ने कुरा गलत हो। पलायन हुनुभन्दा युवाहरूले आफ्नै ठाउँमा पसिना बगाए देश समृद्ध बन्छ, कसैले पनि परिवार पाल्न विदेश भौंतारिनुपर्ने अवस्था आउँदैन।’

प्रकाशित मिति: फाल्गुन २७ २०८०, आइतबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend