नगरपालिकामा आन्दोलन, धर्ना, काउन्टरमा ताला
धरानः धरानका मेयर हर्कराज राई साम्पाङले खानेपानीको मूल्य एकलौटी ढङ्गले बढाएको भन्दै धरानका राजनीतिक दलहरू आन्दोलित भएका छन् ।
बिहीबार खानेपानी शुल्क वृद्धिविरूद्ध धरान उपमहानगरपालिकामा घेराउ गर्दै धर्ना समेत दिएका छन् । शुल्क र महसुल बढाएको विषयमा विभिन्न दलहरुले आन्दोलन चर्काउँदै गएपछि मेयर साम्पाङले मौखिकरूपमा वार्ताका लागि आहवान समेत गरे । उनले गेटनजिकै आएर मेयर साम्पाङले खानेपानीबारे आइतबार १० बजे वार्तामा बोलाएका थिए ।
विद्यार्थीसहित पुगेका प्रदर्शनकारीले धरान उपमहानगरको गेटमा तोडफोड समेत गर्न थालेपछि प्रहरीले लाठीचार्ज समेत गरेको थियो । लाठीचार्जबाट एकजना विद्यार्थी घाइते बनेका थिए भने एक प्रहरीको हातको दुई औलामा गम्भीर चोट लागेको थियो ।
त्यसपछि विद्यार्थीले आन्दोलनलाई थप सशक्त बनाउँदै लगेका थिए । मेयर साम्पाङले लिखितरुपमा विद्यार्थीको माग सम्बोधन गरिनुपर्ने र माफी माग्नुपर्ने भन्दै विद्यार्थीले गेटमा तोडफोड थालेका थिए । मेयरले लिखित माफी नमागेसम्म प्रदर्शन नरोक्ने भन्दै विद्यार्थीहरूले नाराबाजी जारी राखे । दलहरू पनि विद्यार्थीलाई साथ दिन बसिरहे ।
केहीबेर तनावग्रस्त स्थिति बनेपछि मेयर साम्पाङले विद्यार्थीहरूमाथि भएको बल प्रयोगको घटनामा लिखित दुःख प्रकट गरेपछि प्रदर्शन रोकिएको थियो ।
कांग्रेस सभापति श्याम पोखरेलले खानेपानीको शुल्क र महसुल वृद्धिको निर्णय खारेज नभएसम्म धरानमा आन्दोलन जारी रहने बताए । उनले मेयर साम्पाङले वार्तामा बोलाएपनि लिखितरूपमा वार्ताको आह्वान नगरेसम्म उपमहानगर कार्यालय केन्द्रित प्रदर्शन पनि जारी रहने समेत बताए । ‘आजै बैठक बसेर भोलि कुन समयमा कस्तो आन्दोलन हुन्छ भन्ने निख्र्यौल गर्र्छौं ।’ उनले भने ।
बोर्डको अध्यक्ष भएका हैसियतले मेयर साम्पाङले मनपरी ढङ्गले खानेपानीको नयाँ धारा जडा, नामसारी र महसुलमा मनपरी ढङ्गले वृद्धि गरेको दलहरूले आरोप लगाएका छन् । दलहरूले आन्दोलनका क्रममा खानेपानी बोर्डको कार्यालय र काउन्टरहरूमा समेत तालाबन्दी गरेका थिए ।
तालाबन्दीपछि मेयर साम्पाङ रिट निवेदन लिएर उच्च अदालत गएका थिए । उच्च अदालतले तालाबन्दी खोल्न आदेश दिएको थियो । बुधबारको आदेशपछि दलहरूले आज तालाबन्दी खोलेका थिए । दलहरूले तालाबन्दी खोलेसँगै खानेपानीको काउन्टरहरूमा विद्यार्थी समूहले बिहीबार फेरि तालाबन्दी गरेका छन् ।
नेपाली कांग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), जनता समाजवादी पार्टी नेपाल, नेकपा (एकीकृत समाजवादी), राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, नागरिक उन्मुक्ति पार्टी, सलोराम संघीय लिम्बुवान मञ्च र राष्ट्रिय साझा पार्टीले चरणबद्ध आन्दोलनमा छन् ।
यसअघि साउन १७ गते विभिन्न सरोकारवाला संघसंस्थाहरूसँग अन्तरक्रिया, साउन १८ गते सबै वडा कार्यालयमा वडास्तरबाट ध्यानाकर्षणपत्र बुझाएर साउन २० गते धर्ना कार्यक्रम आयोजना गरिएको थियो। तर पटकपटक धर्ना र ध्यानाकर्षण बुझाए पनि मेयर साम्पाङले बेवास्ता गरेपछि बिहीबार भने स्थानीय उपभोक्ताहरूसहित बृहत प्रदर्शन गरिएको थियो ।
धरान खानेपानी व्यवस्थापन बोर्डका अध्यक्ष भनेर दाबी गर्ने मेयर साम्पाङले एकलौटी रूपमा चालू आर्थिक वर्षबाट लागू हुने गरी खानेपानी महसुल वृद्धि गरेका थिए।
मेयर साम्पाङले भने २०७४ सालमा कायम भएको खानेपानीको मूल्य नबढेको र एडिबी परियोजनाको ऋण छिट्टै तिरिसक्न आफूले मूल्यवृद्धि गराएको बताएका छन् । धरानबासीलाई पानी खुवाउने मुद्दा बोकेर उपमहानगरपालिकाको प्रमुख बनेका मेयर साम्पाङ अहिले खानेपानीकै कारण बदनाम बनिरहेका छन् । उनलाई कतिपयले आफ्नो खुट्टामा आफैंले बन्चरो हाने समेत भनिरहेका छन् । एडिबीको ५७ करोड १९ लाख १० हजार ऋण तिर्न ३३ प्रतिशतदेखि ९ हजार ९ सय प्रतिशतसम्म खानेपानीको शुल्क बढाएपछि उनको गुनागान गाउनेहरु पनि उनीमाथि खनिन थालेको दृश्य अचम्मकै थियो । तस्वीरहरुः हाम्रो कोशी आवाज























