Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानमा अनि प्रहरीले चलायो चार राउण्ड गोली, सरकारी गाडीको प्रयोग, ६९० केजी गाँजासहित पक्राउपछि सार्वजनिक

हाम्रो कोशी आवाज
मंसिर १९ २०८१, बुधबार
धरानमा अनि प्रहरीले चलायो चार राउण्ड गोली, सरकारी गाडीको प्रयोग, ६९० केजी गाँजासहित पक्राउपछि सार्वजनिक

धरानः धरानमा प्रहरीले ६९० गाँजा बरामद गरी सार्वजनिक गरेको छ ।
सरकारी गाडीको नम्बर प्लेट भएको दुईवटा स्कारपियो गाडीमा गाँजा चार राउण्ड हवाई फायर गरी मंगलबार साँझ बरामद भएको इलाका प्रहरी कार्यालय धरानमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो ।
प्रहरीले गाँजा लिएर आएको सेतो नम्बर प्लेटको दुईवटा स्कारपियो गाडीबाट ६ सय ९० केजी गाँजा बरामद गरेको इलाका प्रहरी कार्यालय धरानका डिएसपी प्रकाश जवेगूले जानकारी दिए । गाँजासँगै एउटा गाडीका चालक सुन्दरहरैंचा ११ बस्ने ३६ वर्षीय श्यामकुमार विश्वकर्मालाई समेत पक्राउ गरिएको उनले जानकारी दिए ।
धरान–१३ अमरहाटस्थित कोशी लोकमार्गमा धनकुटाबाट धरानतर्फ आउँदै गरेको बा१झ ५१२७ र बा१झ ४६०५ नम्बरको सरकारी नम्बर प्लेटका गाडीमा त्यतिको परिमाणमा गाँजा बरामद भएको सुनसरीका प्रहरी प्रमुख एसपी सुमनकुमार तिम्सिनाले जानकारी दिए । दुईवटा गाडीबाट कालो रंगको प्लाष्टिकमा बेरिएको अवस्थामा बा१झ नम्बरको गाडीमा ३६० केजी (प्लाष्टिकबाहेक) र अर्को गाडीमा ३३० केजी गाँजा बरामद भएको प्रहरीले जनाएको छ ।
धनकुटाबाट गाँजा आउँदैछ भन्ने गोप्य सूचना पाएपछि इलाका प्रहरी कार्यालय धरानका डीएसपी जवेगू र वडा प्रहरी कार्यालय भानुचोकका प्रमुख रुद्र खडकाको टोली धरान–१३ को त्रिवेणी चोकमा चेकजाँच अगाडि बढाएका थिए । चेकजाँचका क्रममा बा१झ नम्बरको गाडीका चालकले गाडी भगाएपछि ४ राउड गोली फायर गर्नुपरेको प्रहरीले जनाएका छ । गोली गाडीको शिशाभन्दा माथिल्लो मागमा लागेको छ । शुरुमा प्रहरीले धरान–भेडेटार सडक खण्डमा पर्ने आँपगाछीमै ती सवारी साधन नियन्त्रणमा लिने योजना बुनेको थियो ।
‘आँपगाछीमै पक्राउ गर्न सकिन्छ कि भनेर त्यहाँ पुगियो तर गाडी हुइँकिएर स्पिडमा आयो, ट्रक बाटोमा तेस्र्याएर अनि छेकेर एउटा गाडी रोक्न सफल भयौं तर अर्को गाडी रोक्ने क्रममा हाम्रो टोलीलाई नै पेलेर किच्याउने हिसाबले हुइँकियो, त्यसपछि गोली चलाउनू भनेपछि प्रहरी पोशाकमा रहेका प्रहरीले गोली चलाए र गाडीको माथिल्लो भागमा लाग्न पुग्यो ।’ डिएसपी जवेगूले भने ।
बा१झ ५१२७ नम्बरको गाडीलाई रोक्ने क्रममा भागेको र धरान–१३ सूर्यमार्गमा रोकिराखेको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।  उनले भने, ‘गोली चलाएपछि अलिक तलतिर गएर गाडी छाडेर फरार भएको अवस्था छ, हामीले खोजी गरिरहेका छौँ ।’ सो गाडीका चालक भने फरार छन् । फरार रहेका चालकको खोजी भइरहेको समेत प्रहरीले जनाएको छ । पक्राउ परेका चालक विश्वकर्मालाई लागूऔषध मुद्दामा जिल्ला अदालतमा म्याद थप भई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
दुवै सवारी साधनमा कानुन मन्त्रालय र अख्तियारको सवारी साधनसँग मिल्ने गरी नम्बर प्लेट राखिएको पाइएको प्रहरीले जनाएको छ । ‘बरामद भएका गाडीहरू सरकारी हुन् वा फेक हुन् भन्नेबारेमा थप अनुसन्धान भइरहेको छ तर अहिलेलाई कानुन मन्त्रालय र अख्तियारको सवारी साधनको नम्बरसँग मिल्न गएको छ, अनुसन्धान भइरहेको छ ।’
सस्तोमा भारतीय सवारी साधन किनिएको र नम्बर प्लेट नेपालको सरकारी निकायको राखिएको हुनसक्ने प्रहरीको अनुमान छ ।

प्रकाशित मिति: मंसिर १९ २०८१, बुधबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend