-राजेन्द्र शर्मा
१. के थियो पञ्चायतकालमा ?
पञ्चायतकालमा पत्रिकामाथि ‘सेन्सर’ हुन्थ्यो । अञ्चलाधीशको निर्देशनमा सिडिओ र उसको अण्डरमा इन्सपेक्टर, थानेदार, हल्दार, पुलिस यी सबैले थर्काउँथे पत्रकारलाई । पञ्चायती व्यवस्थाविरुद्ध र पञ्चहरुविरुद्ध ओकल्ने हिम्मत प्रायः पत्रकारमा हुँदैनथ्यो । २०३५–०३६ को आन्दोलन र २०३७ को जनमत सङ्ग्रहपछि यो अलिक खुकुलो भयो । राज्यको स्वरुप निरङ्कुश छ भने स्वभाविकरूपले मिडिया क्षेत्रमा सबैभन्दा ठूलो चुनौति हुन्छ र राज्य पक्षबाट हुने पहिलो आक्रमण पनि मिडियामाथि नै हुन्छ । आज बर्माका पत्रकारहरू, क्यूबाका पत्रकारहरू र लिवियाका पत्रकारहरूको जे हविगत छ निश्चय पनि भारत, बेलायत र अमेरिकाका पत्रकारहरूको त्यो अवस्था छैन । मिडिया कत्तिको स्वतन्त्र छ त्यसकै आधारमा त्यो देशको प्रजातान्त्रिक अवस्थाको मूल्याङ्कन हुन्छ ।
२. संस्कार कसरी विकास भयो ?
२०४७ सालमा प्रजातान्त्रिक अभ्यासमा प्रवेश गरेको नेपालले केवल १५ वर्षको छोटो अनुभवमै गणतन्त्रमा पाइला टेक्ने जमर्को गरयो । नेपाली जनमानसमा प्रजातान्त्रिक सोच र आचरणले दह्रिलो जरा गाढ्न नपाउँदै उपभोग गर्ने अवसर पाएको स्वतन्त्रताले संस्कारमा परिवर्तन ल्याउन सकेन केवल नारामा मात्र परिवर्तन आयो । शक्ति हातमा आएपछि ‘नवराज’ बन्ने इच्छा नेताहरुले बनाए र आफू बलियो हुन ३ टा एम. अर्थात् मनि, मसल र मिडिया चाहिन्छ भन्ने गलत सोचले दलहरूमाथि शासन गरयो । जसरी पनि सत्ता चाहिने र बल सञ्चय गर्न नैतिक र अनैतिक कुनैपनि बाटो आफूलाई सही लाग्ने परम्पराको प्रारम्भ पनि यसै कालमा भयो । आस्थाका आधारमा मिडिया हाउसहरू खडा भए । राज्यको चौथो अङ्ग भनिने मिडिया सेक्टर कुनै एक दलको पक्षपोषण गर्ने मुखपत्रमा बदलियो । मिडिया हाउसहरू एक अर्कामा हानाथाप, फुट र हिलो छ्यापाछ्यापमा उत्रिए । प्रजातन्त्रको खुल्लापनको दुरुपयोग भयो र छाडापनमा प्रजातन्त्रलाई बुझ्ने संस्कार बन्यो । २०७४ पछि त झन् च्याउसरह युट्युबे मिडिया हाउसहरु जन्मिए । कुनै व्यक्ति वा समूह विशेषलाई मात्र सघाउने र उसैको गुणगानमा रमाउने तर देश र जनताका लागि भने कसैले सरोकार नराख्ने परम्परा बस्यो ।
३. अपराधीले राजनीतिक संरक्षण पाउँछन् ?
पञ्चायतकालमै पत्रकार पदम ठकुराठीमाथि सुतेकै ठाउँमा टाउकामा गोली प्रहार भयो । पेशेवर गुण्डाको प्रयोगबाट मिडिया सेक्टरका मानिसहरूमाथि आक्रमण गर्ने घटना नेपालका लागि नौलो होइन । प्रकाश पत्रिकाका तत्कालीन सम्पादक दक्षिण कोरियाका पूर्व राजदूत कमल कोइरालामाथि पत्रिकामा विचार राखेकै अभियोगमा आफ्नै कार्यकक्षमा एक राजनीतिक दलका कार्यकर्ताको हुद्दाले कालो मोसो दल्ने र हातपात गर्ने बेइज्जतपूर्ण काम गरे । सरकार मौन रहयो, नागरिक समाजले औपचारिकतामा विरोध गरिहेरयो तर जनताले पुरस्कृत गरे, सो दल नेपालमा अर्को चुनावमा सबैभन्दा बढी सिट जित्न सफल भयो । राज्यपक्षले नै गिरफ्तार गरी बेपत्ता पारिएका पत्रकार कृष्णसेनलाई हिरासत मै राज्यले हत्या गरयो तर विद्रोही समूहका समर्थक कृष्णसेन मारिएकामा अन्य मिडिया ग्रुपको अलिकति पनि निधारको छाला खुम्चिएन । जमीम साहको काठमाण्डुको व्यस्त बजारको माझमा हत्या भयो । हत्यारा फरार भयो । पत्रकार कनक दीक्षितमाथि हिमाल कार्यालय हाताभित्रै साङ्घातिक हमला भयो, कार्यालय तोडफोड भयो तर राजनीतिक संरक्षणका कारण अपराधीहरु दण्डित हुन सकेनन् । मेचीदेखि महाकालीसम्म यस्ता अनन्त घटनाहरू छन् जहाँ मिडियाकर्मीहरूमाथि आक्रमण हुन्छ तर अपराधीले सधैं राजनीतिक संरक्षण प्राप्त गर्छ । धरानमै पनि पत्रकार खगेन्द्र श्रेष्ठको हत्या भयो । स्व. चन्द्रमणि अधिकारी, मणि भट्टराई, बासु बराल, लीलानाथ घिमिरे, चन्द्र कट्टेलहरूमाथि विगतमा हमलाहरू भए तर अपराधी भने कुनै न कुनै संरक्षणमा रहिरहे कारबाहीमा परेनन् ।
४. कसले गर्छ पत्रकारमाथि आक्रमण ?
मिडिया सेक्टरका मानिसहरु माथि मूलरुपमा तीन क्षेत्रबाट आक्रमण भएको देखिन्छ । मुख्यतः १) राज्यपक्षले गर्ने दमन, २) राजनीतिक दल वा पदबाट हुने दमन र ३) गुण्डागर्दीबाट हुने दमन । राज्यको राजनीतिक रुपान्तरणसँगै पहिलो प्रकारको दमन अर्थात् राज्यपक्षबाट हुने दमन घटेको भने पक्कै छ तर त्यसको निराकरण भने भएको छैन । अन्तर्राष्ट्रिय सन्धि सम्झौता, संयुक्त राष्ट्रसंघको वडापत्र र देशले निर्माण गरेका प्रजातान्त्रिक कानुनहरुका कारण यस्ता अपराधहरू क्रमशः घट्दै गएको पाइएको छ ।
राज्यपक्ष आस्थाका आधारमा व्यवहार नगर्ने कानुन नै बनेकाले अपराधविमुख हुँदै जाँदैछ । दास्रो प्रकृतिको राजनीतिक दलहरूबाट वा पदबाट हुने दमन भने अहिले मुलुकमा व्यापक देखिएको छ । राजनीतिक दादागिरी, विचारको काँचोपन र आपराधिक मानसिकता नै यस्ताखाले दमनका प्रमुख कारक हुन् । जबसम्म अपराधीलाई राजनीतिक दलको सदस्यता दिएर आफ्नो दल सबैभन्दा बलियो छ भन्ने वा आफू पदमा रहेका कारण बलियो छु भन्ने दम्भ रहिरहन्छ तबसम्म यस्ता अपराधहरू दलका झण्डामुनि मौलाइरहन्छन् । यो सोंचमा परिवर्तन आउन नेपाललाई अझै एक दुई दशक लाग्न सक्छ । तेस्रो खाले दमन भनेको गुण्डाहरुबाट हुने दमन हो । क्षणिक लाभ हानी, लेनदेन र व्यक्तिगत मुद्दाहरुका आधारमा हुने यसखाले अपराध राज्य संक्रमणकालमा रहेसम्म, कानुनको परिपालनमा कमी कमजोरी रहेसम्म र राज्यको पूर्ण उपस्थितिको प्रत्याभूति नभएसम्म यसखाले अपराधहरु चलिरहन्छन् ।
५. अब के गर्नुपर्छ त ?
यो सिलसिलालाई अन्त्य गर्न समाजका कुन कुन अङ्ग के के मा जिम्मेवार हुनुपर्छ र के कुरामा ध्यान दिनु जरुरी छ भने हाम्रो मुलुकमा प्रजातन्त्र अनि त्यसपछि गणतन्त्र त आयो तर त्यस बमोजिमको आचरण र संस्कार भने पटक्कै विकास भएन । तसर्थ सुरुवात हामी आफूबाटै गर्नु जरुरी छ । हाम्रो आचरण सुधार्नु जरुरी छ । राजनीतिक हस्तक्षेपसँगै पदीय हस्तक्षेपले पराकाष्ठा नाघेको छ त्यसको अन्त्य हुनु जरुरी छ । अपराधलाई संरक्षण गर्ने, अपराधीलाई आफ्नो दलको सदस्यता दिने, अपराधीलाई आफ्नो पदको ढाडस दिने, क्षणिक लाभ हानी र लेनदेन मै अपराधमा उत्रिने, कुनै एक निश्चित बिचारका लागि आफ्नो सम्पूर्ण उर्जाको मिडिया हाउसले दुरुपयोग गर्ने, सही र गलत छुट्याउने भन्दा तेरो र मेरो छुट्याउने परिपाटीको अन्त्य गरियो भने यो अवस्थामा सुधार आउन सक्छ ।
संक्रमणकालमा केही कुरा पनि स्थिर हुँदैनन् राजनीतिक स्थिरताले मात्रै मुलुक अघि बढ्न सक्छ । आशा गरौं राजनीतिक कटमिरोपनले धमिल्याएको नेपाली पोखरी राजनीतिक दल कै सुझबुझले सङ्लो पार्नुपर्छ । त्यसमा सबभन्दा बढी जिम्मेवारी दल कै हुन्छ । हामी सबै मिलेर दललाई नै स्वच्छ बनाउन सहयोग गरौं । त्यसपछि आशा गरौं कि पत्रकारहरु निर्भिक भएर स्वतन्त्र पत्रकारिता गर्न सक्लान् ।
धरान–१४, सुनसरी