Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानमै भइरहयो पत्रकारमाथि आक्रमणः संरक्षणमा रहिरहे कारबाहीमा परेनन्

हाम्रो कोशी आवाज
मंसिर २४ २०८१, सोमबार
धरानमै भइरहयो पत्रकारमाथि आक्रमणः संरक्षणमा रहिरहे कारबाहीमा परेनन्

-राजेन्द्र शर्मा
१. के थियो पञ्चायतकालमा ?
पञ्चायतकालमा पत्रिकामाथि ‘सेन्सर’ हुन्थ्यो । अञ्चलाधीशको निर्देशनमा सिडिओ र उसको अण्डरमा इन्सपेक्टर, थानेदार, हल्दार, पुलिस यी सबैले थर्काउँथे पत्रकारलाई । पञ्चायती व्यवस्थाविरुद्ध र पञ्चहरुविरुद्ध ओकल्ने हिम्मत प्रायः पत्रकारमा हुँदैनथ्यो । २०३५–०३६ को आन्दोलन र २०३७ को जनमत सङ्ग्रहपछि यो अलिक खुकुलो भयो । राज्यको स्वरुप निरङ्कुश छ भने स्वभाविकरूपले मिडिया क्षेत्रमा सबैभन्दा ठूलो चुनौति हुन्छ र राज्य पक्षबाट हुने पहिलो आक्रमण पनि मिडियामाथि नै हुन्छ । आज बर्माका पत्रकारहरू, क्यूबाका पत्रकारहरू र लिवियाका पत्रकारहरूको जे हविगत छ निश्चय पनि भारत, बेलायत र अमेरिकाका पत्रकारहरूको त्यो अवस्था छैन । मिडिया कत्तिको स्वतन्त्र छ त्यसकै आधारमा त्यो देशको प्रजातान्त्रिक अवस्थाको मूल्याङ्कन हुन्छ ।
२. संस्कार कसरी विकास भयो ?
२०४७ सालमा प्रजातान्त्रिक अभ्यासमा प्रवेश गरेको नेपालले केवल १५ वर्षको छोटो अनुभवमै गणतन्त्रमा पाइला टेक्ने जमर्को गरयो । नेपाली जनमानसमा प्रजातान्त्रिक सोच र आचरणले दह्रिलो जरा गाढ्न नपाउँदै उपभोग गर्ने अवसर पाएको स्वतन्त्रताले संस्कारमा परिवर्तन ल्याउन सकेन केवल नारामा मात्र परिवर्तन आयो । शक्ति हातमा आएपछि ‘नवराज’ बन्ने इच्छा नेताहरुले बनाए र आफू बलियो हुन ३ टा एम. अर्थात् मनि, मसल र मिडिया चाहिन्छ भन्ने गलत सोचले दलहरूमाथि शासन गरयो । जसरी पनि सत्ता चाहिने र बल सञ्चय गर्न नैतिक र अनैतिक कुनैपनि बाटो आफूलाई सही लाग्ने परम्पराको प्रारम्भ पनि यसै कालमा भयो । आस्थाका आधारमा मिडिया हाउसहरू खडा भए । राज्यको चौथो अङ्ग भनिने मिडिया सेक्टर कुनै एक दलको पक्षपोषण गर्ने मुखपत्रमा बदलियो । मिडिया हाउसहरू एक अर्कामा हानाथाप, फुट र हिलो छ्यापाछ्यापमा उत्रिए । प्रजातन्त्रको खुल्लापनको दुरुपयोग भयो र छाडापनमा प्रजातन्त्रलाई बुझ्ने संस्कार बन्यो । २०७४ पछि त झन् च्याउसरह युट्युबे मिडिया हाउसहरु जन्मिए । कुनै व्यक्ति वा समूह विशेषलाई मात्र सघाउने र उसैको गुणगानमा रमाउने तर देश र जनताका लागि भने कसैले सरोकार नराख्ने परम्परा बस्यो ।
३. अपराधीले राजनीतिक संरक्षण पाउँछन् ?
पञ्चायतकालमै पत्रकार पदम ठकुराठीमाथि सुतेकै ठाउँमा टाउकामा गोली प्रहार भयो । पेशेवर गुण्डाको प्रयोगबाट मिडिया सेक्टरका मानिसहरूमाथि आक्रमण गर्ने घटना नेपालका लागि नौलो होइन । प्रकाश पत्रिकाका तत्कालीन सम्पादक दक्षिण कोरियाका पूर्व राजदूत कमल कोइरालामाथि पत्रिकामा विचार राखेकै अभियोगमा आफ्नै कार्यकक्षमा एक राजनीतिक दलका कार्यकर्ताको हुद्दाले कालो मोसो दल्ने र हातपात गर्ने बेइज्जतपूर्ण काम गरे । सरकार मौन रहयो, नागरिक समाजले औपचारिकतामा विरोध गरिहेरयो तर जनताले पुरस्कृत गरे, सो दल नेपालमा अर्को चुनावमा सबैभन्दा बढी सिट जित्न सफल भयो । राज्यपक्षले नै गिरफ्तार गरी बेपत्ता पारिएका पत्रकार कृष्णसेनलाई हिरासत मै राज्यले हत्या गरयो तर विद्रोही समूहका समर्थक कृष्णसेन मारिएकामा अन्य मिडिया ग्रुपको अलिकति पनि निधारको छाला खुम्चिएन । जमीम साहको काठमाण्डुको व्यस्त बजारको माझमा हत्या भयो । हत्यारा फरार भयो । पत्रकार कनक दीक्षितमाथि हिमाल कार्यालय हाताभित्रै साङ्घातिक हमला भयो, कार्यालय तोडफोड भयो तर राजनीतिक संरक्षणका कारण अपराधीहरु दण्डित हुन सकेनन् । मेचीदेखि महाकालीसम्म यस्ता अनन्त घटनाहरू छन् जहाँ मिडियाकर्मीहरूमाथि आक्रमण हुन्छ तर अपराधीले सधैं राजनीतिक संरक्षण प्राप्त गर्छ । धरानमै पनि पत्रकार खगेन्द्र श्रेष्ठको हत्या भयो । स्व. चन्द्रमणि अधिकारी, मणि भट्टराई, बासु बराल, लीलानाथ घिमिरे, चन्द्र कट्टेलहरूमाथि विगतमा हमलाहरू भए तर अपराधी भने कुनै न कुनै संरक्षणमा रहिरहे कारबाहीमा परेनन् ।
४. कसले गर्छ पत्रकारमाथि आक्रमण ?
मिडिया सेक्टरका मानिसहरु माथि मूलरुपमा तीन क्षेत्रबाट आक्रमण भएको देखिन्छ । मुख्यतः १) राज्यपक्षले गर्ने दमन, २) राजनीतिक दल वा पदबाट हुने दमन र ३) गुण्डागर्दीबाट हुने दमन । राज्यको राजनीतिक रुपान्तरणसँगै पहिलो प्रकारको दमन अर्थात् राज्यपक्षबाट हुने दमन घटेको भने पक्कै छ तर त्यसको निराकरण भने भएको छैन । अन्तर्राष्ट्रिय सन्धि सम्झौता, संयुक्त राष्ट्रसंघको वडापत्र र देशले निर्माण गरेका प्रजातान्त्रिक कानुनहरुका कारण यस्ता अपराधहरू क्रमशः घट्दै गएको पाइएको छ ।
राज्यपक्ष आस्थाका आधारमा व्यवहार नगर्ने कानुन नै बनेकाले अपराधविमुख हुँदै जाँदैछ । दास्रो प्रकृतिको राजनीतिक दलहरूबाट वा पदबाट हुने दमन भने अहिले मुलुकमा व्यापक देखिएको छ । राजनीतिक दादागिरी, विचारको काँचोपन र आपराधिक मानसिकता नै यस्ताखाले दमनका प्रमुख कारक हुन् । जबसम्म अपराधीलाई राजनीतिक दलको सदस्यता दिएर आफ्नो दल सबैभन्दा बलियो छ भन्ने वा आफू पदमा रहेका कारण बलियो छु भन्ने दम्भ रहिरहन्छ तबसम्म यस्ता अपराधहरू दलका झण्डामुनि मौलाइरहन्छन् । यो सोंचमा परिवर्तन आउन नेपाललाई अझै एक दुई दशक लाग्न सक्छ । तेस्रो खाले दमन भनेको गुण्डाहरुबाट हुने दमन हो । क्षणिक लाभ हानी, लेनदेन र व्यक्तिगत मुद्दाहरुका आधारमा हुने यसखाले अपराध राज्य संक्रमणकालमा रहेसम्म, कानुनको परिपालनमा कमी कमजोरी रहेसम्म र राज्यको पूर्ण उपस्थितिको प्रत्याभूति नभएसम्म यसखाले अपराधहरु चलिरहन्छन् ।
५. अब के गर्नुपर्छ त ?
यो सिलसिलालाई अन्त्य गर्न समाजका कुन कुन अङ्ग के के मा जिम्मेवार हुनुपर्छ र के कुरामा ध्यान दिनु जरुरी छ भने हाम्रो मुलुकमा प्रजातन्त्र अनि त्यसपछि गणतन्त्र त आयो तर त्यस बमोजिमको आचरण र संस्कार भने पटक्कै विकास भएन । तसर्थ सुरुवात हामी आफूबाटै गर्नु जरुरी छ । हाम्रो आचरण सुधार्नु जरुरी छ । राजनीतिक हस्तक्षेपसँगै पदीय हस्तक्षेपले पराकाष्ठा नाघेको छ त्यसको अन्त्य हुनु जरुरी छ । अपराधलाई संरक्षण गर्ने, अपराधीलाई आफ्नो दलको सदस्यता दिने, अपराधीलाई आफ्नो पदको ढाडस दिने, क्षणिक लाभ हानी र लेनदेन मै अपराधमा उत्रिने, कुनै एक निश्चित बिचारका लागि आफ्नो सम्पूर्ण उर्जाको मिडिया हाउसले दुरुपयोग गर्ने, सही र गलत छुट्याउने भन्दा तेरो र मेरो छुट्याउने परिपाटीको अन्त्य गरियो भने यो अवस्थामा सुधार आउन सक्छ ।
संक्रमणकालमा केही कुरा पनि स्थिर हुँदैनन् राजनीतिक स्थिरताले मात्रै मुलुक अघि बढ्न सक्छ । आशा गरौं राजनीतिक कटमिरोपनले धमिल्याएको नेपाली पोखरी राजनीतिक दल कै सुझबुझले सङ्लो पार्नुपर्छ । त्यसमा सबभन्दा बढी जिम्मेवारी दल कै हुन्छ । हामी सबै मिलेर दललाई नै स्वच्छ बनाउन सहयोग गरौं । त्यसपछि आशा गरौं कि पत्रकारहरु निर्भिक भएर स्वतन्त्र पत्रकारिता गर्न सक्लान् ।
धरान–१४, सुनसरी

प्रकाशित मिति: मंसिर २४ २०८१, सोमबार

प्रतिक्रिया दिनुहोस्

  • धरानको विजयपुरः ‘माल पाएर चाल नपाएको’ ठाउँ

    -राजकुमार दिक्पाल केही सातादेखि ऐतिहासिक विजयपुर क्षेत्रलाई लिएर विवाद चर्किएको छ। स्वस्थ बहस र समाधानतर्फ अघि बढ्नुपर्ने विवाद झन् जटिल बन्दै गएको छ। सम्बन्धित पक्षहरूले...

    • ३ घण्टा अगाडी
    • ७ मिनेट पाठ
  • श्रमदानको ओज

    -बैकुण्ठ दाहाल नेपालको राजनीतिक इतिहासमा धेरै दलहरू स्थापना भए, धेरै नाराहरू उठे, तर आम नागरिकले चाहेको सुशासन, उत्पादनमुखी अर्थतन्त्र र श्रमको सम्मान अझै पनि पूर्णरूपमा...

    • ५ दिन अगाडी
    • ३ मिनेट पाठ
  • डिग्री पास छ तर सर्वसाधारणले पाउँदैनन् जागिर

    जताततै भूपू कर्मचारीको बिगबिगी धरानः सरकारी कार्यालयमा सरकारले प्राइभेट कम्पनीबाट गार्ड नियुक्त गरेको हुन्छ । यता, स्थानीय पालिकाले नगरप्रहरी राखेको हुन्छ । बैंक तथा वित्तिय...

    • ७ दिन अगाडी
    • ६ मिनेट पाठ
  • नजानिँदो सत्ताको अस्थिर चक्रव्यूह

    -कृष्णबहादुर तामाङ “संसदीय अङ्कगणित र जोड घटाउले विकासको गतिलाई सधैँ बन्धक बनाउन सक्दैन । नेपालको सात दशक लामो राजनीतिक अस्थिरताबाट मुक्त हुने सबैभन्दा प्रभावकारी विकल्प...

    • १ हप्ता अगाडी
    • ८ मिनेट पाठ
  • हामी १२ वर्षमा प्रवेश

    धरानः हाम्रो कोशी आवाज डटकम आफ्नो स्थापनाको ११ वर्ष पूरा गरी आज १२ औं वर्षमा प्रवेश गरेको छ । हामी छैटौं वर्ष पूरा गरी...

    • १ हप्ता अगाडी
    • ३ मिनेट पाठ
  • कथा: धुवाँले निलेको सपना

    -तोमनाथ उप्रेती मोरङको दक्षिणी भेग, रतुवामाई नगरपालिका महादेवाको बिहानको आफ्नै सुगन्ध थियो। असारको वर्षापछि धानका बोटहरूमा टल्किने शीतका थोपा मोतीझैँ देखिन्थे। पूर्वबाट उठेको घामको सुनौलो...

    • १ हप्ता अगाडी
    • ६ मिनेट पाठ

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend