Hamro Koshi Aawaj

बिहिबार, असोज १ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

भोटेकोशी महाप्रलय बित्यासः अब पाठ सिकौं

रुषा थापा
भाद्र २५ २०८३, बिहिबार
भोटेकोशी महाप्रलय बित्यासः अब पाठ सिकौं

पछिल्लो समय बजारमा व्यापक चर्चा छ–काठमाडौं उपत्यका छिट्टै भासिन्छ । चिया पसलदेखि सार्वजनिक स्थलसम्म यही कुरा भइरहेको सुनिन्छ । यद्यपि, यो सत्य हो या झुट ? पत्ता लगाउने काम सरकारको हो । रसुवाको भोटेकोशीमा हालै आएको बाढीले हजारौंको ज्यान लिएको छ । यदि डेढ वर्षअघि बाढी आएको बेला नै सरकारले सतर्कता अपनाएको भए यत्रो जनधनको क्षति हुने थिएन ।
त्यसैगरी, अहिले उपत्यकामा पनि भासिने चर्चा व्यापक छ । यसैले, अब सरकारले यसबारे अनुसन्धान गर्नुपर्छ । भूगर्भ विद्हरुलाई काममा खटाउनुपर्छ । किनकि जनताको ज्यानभन्दा ठूलो केही पनि होइन । बरु सबैको ज्यान बचाउन नसकिएला । तर, पूर्वसतर्कताले धेरैको ज्यान त जोगाउन सकिन्छ नि । सरकारले अध्ययन गरेर उपत्यका जोखिमपूर्ण भएमा सर्वसाधारणलाई सर्न वा स्थानान्तरण हुन आह्वान गर्नुपर्छ ।
जनताले त शंकामात्र गर्न सक्छन् । अध्ययन, अनुसन्धान गर्न उनीहरुसँग स्रोतसाधन छैन । त्यो काम राज्यको हो । आफ्ना जनताको शंका हटाउने काम राज्यको हो । त्यसकारण सरकारले उपत्यकाको भौगोर्भिक अवस्था वा जोखिमबारे अध्ययन गर्न ढिलो गर्नुहुन्न । नत्र ठूलो जनधनको क्षति भोग्नुपर्ने छ । उपत्यकामा करोडौंको हाराहारीमा नागरिक बस्छन् । देशभरका जिल्ला जनता यहाँ बसोबास गर्छन् ।
यदि उपत्यका भासिएमा हजार होइन, लाख होइन, करोडौंको ज्यान जानेछ । त्योसँगै खर्बौ बढीको भौतिक क्षति व्यहोर्नुपर्नेछ । जुन पक्कै पनि हामीले सहन सक्ने छैनौं । त्यसैले, सरकार सचेत हुनुपर्छ । आफ्ना नागरिक र सम्पत्ति जोगाउन सक्रिय हुनुपर्यो । उपत्यका अव्यवस्थित बनेको छ । यहाँ जताततै घरलगायत संरचना बनेका छन् ।
संरचना निर्माण गर्नु वा हुनु नराम्रो कुरा होइन । तर, संरचना निर्माणअघि माटो वा भूगोलको अवस्थाबारे अध्ययन गरिएन । अध्ययनबिनै धमाधम संरचना निर्माण गरियो । जसले जोखिम निम्त्याउँदैछ । त्यसो त उपत्यका केही दशकअघिसम्म ठूलो ताल रहेको पनि बताइन्छ । स्थानीय बुढापाका भन्छन्–यहाँ त ठूलो पोखरी–ताल थियो । अहिले ताल–पोखरी केही पनि छैन, छ त घरैघर ।
उपत्यकामा खाली जमिन देखिनै महामुस्किल छ । समतलदेखि डाँडाकाँडासम्ममा संरचना बनाइएको छ । जताततै प्लटिङ गरिएको छ । अग्लाअग्ला संरचना ठड्याइएको छ । फेरि सरकार यसलाई विकास भन्छ । घरलगायत संरचना निर्माण हुनुमात्र विकास हो र ? यदि यही संरचना पनि व्यवस्थित र अध्ययन गरेर मात्र निर्माण भएको भए विकास भन्न मिल्थ्यो । तर, यहाँ त एउटै संरचना माटो र भूगोलको अवस्थाबारे संरचना गरेर निर्माण भएको पाइँदैन । यसले जमिनको भार सहनसक्ने क्षमतासमेत कमजोर हुँदै गएको देखिन्छ ।
२०४७–४८ सालतिर काठमाडौंको बानेश्वर, शान्तिनगरलगायत एरिया बाह्रै महिना डुबान हुन्थ्यो भन्नेहरु अहिलेपनि छ । यता, भक्तपुरको राधेराधे, कमेरोटारलगायत एरिया पनि वर्षैभरि डुबान हुने स्थानीय बुढापाका बताउँछन् । राधेराधेलाई त ०२१ सालमा नापीका क्रममा सिमसार क्षेत्रमै राखिएको थियो । अहिले यहाँ खाली ठाउँ पाउन मुस्किल छ ।
जताततै घरलगायत संरचना बनेका छन् । अनि केही गरी पहिलेजस्तै राधेराधे बाह्रै महिना डुबानमा पर्ने भएमा यहाँको हालत के होला ? स्थानीय बुढापाका अनुसार ०५१ र ०५२ सालमा भारी वर्षा हुँदा राधेराधेसहित नयाँ थिमी, सिर्जनानगर, सल्लाघारी, चुनदेवी, सूर्यविनायकसम्म डुबानमा परेको थियो । उता, काठमाडौं र ललितपुर पनि डुबानमा पर्यो ।
०५५ सालमा पनि सोही दोहोरियो । ०८१ असोज १० गतेदेखि १३ गतेसम्म र ०८२ असोज १७ गतेदेखि १९ गतेसम्म भएको वर्षाले पनि काठमाडौं उपत्यका डुबानमा परेको थियो । केही समयअघि वर्षा हुँदा पनि काठमाडौंको माइतीघरलगायत एरिया र ललितपुर तथा भक्तपुरका केही ठाउँ पनि डुबानमा पर्यो ।
उपत्यका भासिनेसँगै जलेर खरानी हुने जोखिम पनि उत्तिकै छ । गत वर्षको भदौ २३ र २४ गते भएको जेनजी विद्रोहका क्रममा सिंहदरबारसहित राजनीतिक दलका नेताका निवास, व्यापारिक केन्द्र, सरकारी कार्यालयलगायतमा आगजनी गरियो । घना बस्तीमा रहेका त्यस्ता ठाउँमा आगजनी गरिँदा बस्ती नै सखाप हुने डरसमेत देखियो ।
घना बस्तीकै बीचमा विमानस्थल, पेट्रोल पम्प, इन्धन तथा ग्यास डिपो, व्यापारिक महल, सरकारी कार्यालय, बसपार्क, बैंक, वित्तिय संस्था, फिल्म हललगायत छन् । यदि केही गरी एउटा ठाउँमा आगो लागे सबैतिर सल्कने खतरा छ । अर्कोतर्फ, घना बस्तीमा विमान दुर्घटना भए के होला ?
०६९ असोज १२ गते नरेफाँट, ०७४ फागुन २८ गते र ०८१ साउन ९ गते एयरपोर्टभित्रै विमान दुर्घटना भयो । यी दुर्घटनामा पाइलटले आफ्नो र यात्रुको ज्यान जोखिममा राखेर बस्ती जोगाए । तर, सधैं त यसरी नै बस्ती जोगिने छैन नि । यसैले, सरकारले विमानस्थल पनि बस्तीभन्दा निकै टाडा सार्न जरुरी छ । उपत्यकाका एउटै घरमा २० जनादेखि तीन सय जनासम्म बस्छन् । ०७२ वैशाख १२ गते महाभूकम्प गयो ।
उपत्यकासहित १४ जिल्लामा क्षति भयो । तर, सबैभन्दा बढी जनधनको क्षति उपत्यकामा भयो । ०८० कात्तिक १७ गते जाजरकोट र रुकुम पश्चिममा ठूल्लै भूकम्प गएपनि जनधनको धेरै क्षति भएन । किनकि ठूला ठाउँ थियो, घरहरु ढुंगा र माटाका थिए । नेपालमा ०४५ र १९९० मा पनि भूकम्प आएको थियो । तर, ती भूकम्पमा धेरै जनधनको क्षति भएन । किनकि घना बस्ती थिएन । घरहरु अग्ला थिएनन् ।
हरेक वर्ष बर्खा आउनासाथ बाढी, पहिरो र डुबान हुन्छन् । सयौंले ज्यान गुमाउँछन् । खोला नदी किनारमा बाक्लो बस्ती बसेको छ । बाढी आउँदा बस्ती नै बग्छ । तर, कहिलेसम्म त्यस्ता बस्ती बचाउन सकिएला । रसुवामा जसरी पानी नै नपरी बाढी आएमा खोला नदी किनारका हजारौं बस्तीसँगै मानिस पनि बग्नेछन् । तब हुने क्षतिको कल्पनासमेत गर्न सकिँदैन । त्यसैले, अब सरकार जनता जोगाउन लाग्नुपर्छ ।
जोखिमयुक्त क्षेत्रको पहिचान गरौं र सुरक्षित स्थानमा मात्र बस्ती बसाल्न दिनुपर्छ । नत्र हरेक वर्ष केही न केहीले जनताको ज्यान लिइरहनेछ । उसै त मुलुकको जनसंख्या लगातार घटिरहेको छ । यदि यही क्रममा जनता मरिरहने हो भने कुनै दिन देशै रित्तो हुन पनि बेर लाग्दैन । त्यसैले, समय फर्केर आउँदैन । अझै पनि सरकारको आँखा नखुल्ने हो भने भविष्यमा हुने भयावह अवस्थाको जिम्मेवार स्वयम् राज्य हुनेछ । विपद् बाजा बजाएर आउँदैन, सरकारले बुझोस् र रसुवा बाढीबाट पाठ सिक्दै अघि बढोस् ।

प्रकाशित मिति: भाद्र २५ २०८३, बिहिबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend