कलेजोका कोषिकाहरूमा अत्यधिक बोसो जम्मा भएपछि फ्याटी लिभर हुन्छ । कलेजोमा थोरै मात्रामा बोसो हुनु सामान्य हो तर यो बोसो कलेजोको कुल तौलको १० प्रतिशतभन्दा बढी भयो भने त्यसलाई फ्याटी लिभर मानिन्छ । यसले गम्भीर शारीरिक समस्या उत्पन्न गर्न सक्छ ।
फ्याटी लिभरले सधैँ नोक्सान गर्छ भन्ने होइन, तर केही अवस्थामा यो अतिरिक्त बोसोका कारण कलेजो सुन्निन सक्छ । यस अवस्थालाई स्टिएटोहेपेटाइटिस भनिन्छ, यसले वास्तवमै कलेजोलाई नोक्सान पुर्याउँछ ।
कहिलेकाहीँ यस्तो फुलावट अत्यधिक मदिरा सेवनका कारण हुन्छ । यसलाई अल्कोहोलिक स्टिएटोहेपेटाइटिस भनिन्छ । तर, यदि यसको कारण मदिरा होइन भने त्यसलाई नन-अल्कोहोलिक स्टिएटोहेपेटाइटिस भनिन्छ ।
कलेजोमा भएको फुलावट लामो समयसम्म रहँदा कलेजो कडा बन्छ र त्यसमा घाउ बन्न थाल्छ । यस गम्भीर अवस्थालाई सिरोसिस भनिन्छ, जसले गर्दा कलेजोले आफ्नो काम गर्नै छोड्न सक्छ ।
ग्रेड १ – हल्का फ्याटी लिभर
यस अवस्थामा कलेजोका करिब ३३ प्रतिशत कोषिकामा बोसो जम्मा भएको हुन्छ । सामान्यतया कुनै विशेष लक्षण देखिँदैन । जीवनशैलीमा सुधार, ब्यायाम र सन्तुलित खानपानबाट यो अवस्था सुधार गर्न सकिन्छ । यो फ्याटी लिभरको सुरुवाती र सबैभन्दा हल्का चरण हो ।
ग्रेड २ – मध्यम (Moderate) फ्याटी लिभर
यसमा कलेजोका ३४ देखि ६६ प्रतिशत कोषिकामा बोसो हुन्छ । लक्षणहरूमा थकान, पेट गह्रौँ महसुस हुनु वा हल्का दुखाइ अनुभव हुन सक्छ ।
यदि जीवनशैलीमा सुधार नगरिएमा यो अवस्था गम्भीर कलेजो रोगमा परिणत हुन सक्छ ।
ग्रेड ३ – गम्भीर फ्याटी लिभर
यो फ्याटी लिभरको सबैभन्दा गम्भीर र विकसित चरण हो । यसमा ६६ प्रतिशतभन्दा बढी कोषिकामा बोसो जमेको हुन्छ । यस अवस्थामा कलेजोमा सुजन (स्टिएटोहेपेटाइटिस), घाउ (फाइब्रोसिस) वा सिरोसिसजस्ता जटिल अवस्था देखिन सक्छन् ।
विशेषज्ञहरू के भन्छन् ?
दिल्लीस्थित सर गंगाराम अस्पतालको लिवर, ग्यास्ट्रोएन्ट्रोलोजी र प्यान्क्रियाटो-बिलियरी साइन्सेस इन्स्टिच्युटका उपाध्यक्ष डा. पीयूष रञ्जनका अनुसार, सामान्य रूपमा हेर्दा फ्याटी लिभर डिजिज दुई प्रकारका हुन्छन्- पहिलो, मदिरा सेवनको कारण हुने (Alcoholic Fatty Liver Disease) र दोस्रो, मदिरा सेवन नगरेर पनि हुने (Non-Alcoholic Fatty Liver Disease) ।
उनी भन्छन्, ‘मोटोपन, मधुमेह (डायबेटिज), थाइराइडको गडबडी र कोलेस्टेरोलको स्तर बढ्नु फ्याटी लिभर हुनुका प्रमुख कारण हुन् ।’
डा. रञ्जनका अनुसार, कलेजोमा अत्यधिक बोसो जम्मा भएपछि त्यसले शरीरमा इन्सुलिनप्रतिको संवेदनशीलता (insulin sensitivity) घटाउँछ । यसको अर्थ, कलेजोले इन्सुलिनका सन्देशलाई ठीकसँग बुझ्न वा प्रक्रिया गर्न सक्दैन । त्यसैले यस्ता व्यक्तिहरूमा टाइप–२ मधुमेहको जोखिम उच्च हुन्छ ।
उनी भन्छन्, ‘आजको दिनमा फ्याटी लिभर डिजिज नै सिरोसिसको सबैभन्दा ठूलो कारण बन्न थालेको छ । उनका अनुसार, हाल करिब ३५ प्रतिशत मानिसमा फ्याटी लिभर देखिन्छ । तीमध्ये २५ प्रतिशतमा यो अवस्था गम्भीर बन्ने जोखिम हुन्छ ।
फ्याटी लिभरका खतरा कसरी थाहा पाउने ?
डा. पीयूष रञ्जनका अनुसार, कलेजोका कोषिकामा सामान्य बोसोको मात्राबाट सिरोसिसजस्तो गम्भीर अवस्थासम्म पुग्न ५ देखि १० वर्षसम्म लाग्न सक्छ । कलेजोमा सिरोसिस हुने खतरा भएको अवस्थालाई सिग्निफिकेन्ट फाइब्रोसिस (Significant Fibrosis) भनिन्छ । यसको पहिचान फाइब्रोस्क्यान (FibroScan) नामक प्रविधिबाट गरिन्छ । इलेस्टोग्राफी (Elastography) बाट पनि यसको जाँच गर्न सकिन्छ ।
यदि कलेजोमा अत्यधिक कडापन (stiffness) देखियो भने त्यसलाई औषधिबाट नियन्त्रण गर्नुपर्ने हुन्छ । साथै, जीवनशैलीमा सुधार, नियमित व्यायाम र स्वस्थ आहार अपनाएर पनि नियन्त्रणको प्रयास गरिन्छ ।
औषधिबाहेक मोटोपन, मधुमेह (डाइबेटिज) र कोलेस्ट्रोल नियन्त्रण गरेर पनि फ्याटी लिभर डिजिजलाई सुधार गर्न सकिन्छ । एन्टी-ओबेसिटी औषधिहरू (anti-obesity drugs) ले शरीरको बोसो घटाउने काम गर्छन्, जसले फ्याटी लिभरमा पनि सुधार ल्याउन सक्छ ।
के खाने, के नखाने ?
फ्याटी लिभरबाट जोगिन वा यसलाई नियन्त्रण गर्न खानपानमा विशेष ध्यान दिनु आवश्यक हुने विशेषज्ञहरू बताउँछन् ।
अति चिनी नखानुहोस्ः
– कुकी, बिस्कुट, क्यान्डी, सोडा, स्पोर्ट्स ड्रिंक, प्याक गरिएको जुस, मिठाई र चकलेटजस्ता चीजहरूबाट टाढा रहनुहोस् ।
तारेका र प्रशोधित (प्रोसेस्ड) खानेकुरा नखानुहोस्ः
– माछा वा लिन मीट (कम बोसो भएको मासु) डिप फ्राई गर्नुको सट्टा उमालेर वा स्टिम गरेर पकाउनु राम्रो ।
– प्रोसेस्ड मासु जस्तै; प्याक गरिएको ससेज, ह्याम आदि नखानुहोस् ।
– फ्राइड चिकेन, डोनट्स, चिप्स, बर्गर आदिबाट टाढै रहनुहोस् ।
– यस्ता प्रशोधित खाद्य वस्तुहरूमा प्रायः फ्रुक्टोज वा हाई-फ्रुक्टोज कर्न सिरप हुन्छ, जसले फ्याटी लिभर बढाउँछ ।
नुन (सोडियम) को मात्रा पनि सन्तुलनमा राख्नुहोस्ः
– अत्यधिक नुन भएको प्याक फूड (instant noodles, chips आदि) बाट टाढा रहनुहोस् ।
– सोडियमको दैनिक मात्रा २,३०० मिलिग्रामभन्दा बढी नहुने गरी ध्यान दिनुहोस् ।
सेतो पिठो र चामलका चीजहरू घटाउनुहोस्ः
– सेतो पाउरोटी, चामल पिसेर बनाइएको पास्ता र नियमित सेतो चामलको सेवन घटाउनुहोस् ।
– यी चीजहरूले रक्तमा चिनीको मात्रा छिटो बढाउँछन् ।
– यसको सट्टा फाइबरयुक्त साबुत अन्न (whole grains) खाने गर्नुहोस्, जसले चिनीको मात्रा नियन्त्रणमा राख्छ ।
एकैपटक धेरै खाना नखानुहोस्ः
– आवश्यकताभन्दा धेरै खाने बानीले अतिरिक्त क्यालोरी शरीरमा जम्मा हुन्छ, जुन बोसोको रूपमा कलेजोमा बस्न थाल्छ ।
– यसले फ्याटी लिभर रोगको जोखिम बढाउँछ ।
विशेषज्ञहरूका अनुसार के खाने ?
बिहान राम्रो नास्ता गर्नुस् ।
दिउँसो मध्यम मात्रामा खाना खानुस् ।
बेलुका हल्का खाना खानुहोस् र साँझको खाना ७ बजेसम्म सकाउन प्रयास गर्नुहोस् ।
ब्ल्याक कफी खान सकिन्छ । धेरै अनुसन्धानले देखाएको छ, ब्ल्याक कफीले फ्याटी लिभर र असामान्य लिभर एन्जाइम हुने जोखिम कम गर्न मद्दत गर्छ ।
पातला र पत्तेदार तरकारीहरू प्रशस्त मात्रामा खानुस् ।
यस्ता तरकारीहरूमा नाइट्रेट र पोलिफेनोल्स हुन्छन्, जुन फ्याटी लिभर नियन्त्रण गर्न सहयोगी हुन्छन् ।
आधा प्लेटमा फाइबरयुक्त फलफूल, तरकारी र साबुत अन्न राख्नुस् । खानामा दाल, चना, सोयाबिन, मटरजस्ता खानेकुरा पनि समावेश गर्नुस् ।
ओमेगा-३ फ्याटी एसिडले भरिपूर्ण माछा ट्राइग्लिसराइड्स (रक्तको बोसो) घटाउन मद्दत गर्छ ।
ब्यायाम किन आवश्यक ?
नियमित ब्यायाम, विशेष गरी एरोबिक एक्सरसाइज, फ्याटी लिभर रोगलाई नियन्त्रणमा राख्न निकै मद्दत गर्छ । विशेषज्ञहरूका अनुसार, सातामा कम्तीमा १ सय ५० मिनेट मध्यम तीव्रताका एरोबिक गतिविधि गर्न जरुरी हुन्छ । जस्तै; तेज हिँडाइ, साइकल चलाउने, पौडी खेल्ने आदि ।
वेटलिफ्टिङ (तौल उठाउने ब्यायाम) पनि लाभदायक हुन सक्छ । यसलाई हप्तामा कम्तीमा दुई दिन अभ्यासमा समावेश गर्न सकिन्छ ।
अचेल फ्याटी लिभरको रोग तीव्र गतिमा बढिरहेको छ । गलत खानपान, अस्वस्थ जीवनशैली र ब्यायाम नगर्नुका कारण मानिसहरू यसबाट प्रभावित भइरहेका छन् । मोटोपना, मधुमेह र कोलेस्टेरोलमा नियन्त्रण नहुँदा यो रोगको जोखिम अझ बढी हुन्छ, त्यसैले यी कुरामा सजग रहन आवश्यक छ ।
-बीबीसी हिन्दी