Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

बालेनः र्‍यापर, मेयरदेखि प्रधानमन्त्रीसम्म

हाम्रो कोशी आवाज
चैत्र १३ २०८२, शुक्रबार
बालेनः र्‍यापर, मेयरदेखि प्रधानमन्त्रीसम्म

३६ वर्षीय बालेन्द्र शाह नेपालको ४३ औं प्रधानमन्त्री बनेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता शाह संविधानको धारा ७६(१) बमोजिम प्रधानमन्त्री बनेका हुन् ।
शीतलनिवासमा शुक्रबार राष्ट्रपति रामचन्द्र पौडेलले बालेनलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराएका हुन् ।
गएको फागुन (२१) को प्रतिनिधिसभा निर्वाचनमा उनी झापा–५ बाट निर्वाचित भएका थिए । पूर्वप्रधानमन्त्री तथा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई उनले करिब ५० हजार मतान्तरले पराजित गरेका थिए । बालेनले ६८ हजार ३४८ मत ल्याउँदा ओलीले १८ हजार ७३४ मत मात्रै पाए ।
उनी काठमाडौं महानगरपालिकाको मेयर पदबाट राजीनामा दिएर प्रतिनिधिसभा निर्वाचनमा होमिएका थिए । २०७९ वैशाख ३० गते भएको स्थानीय निर्वाचनमा उनी स्वतन्त्र उमेदवार थिए । र, भारी मतले निर्वाचित बने ।
शाहले ६१ हजार ७६७ मत ल्याएर निर्वाचित हुँदा कांग्रेसका उम्मेदवार सिर्जना श्रेष्ठले ३८ हजार ३४१ मत मात्रै पाएकी थिइन् । शाहले गएको माघ ४ गते मेयर पदबाट राजीनामा दिएका थिए ।
छोटो अवधिमै छलाङ मार्दै उनी प्रधानमन्त्री पदमा पुगेका छन् । ०८२ भदौको जेनजी आन्दोलनपछि शाहलाई प्रधानमन्त्री बन्न जेनजी अगुवाले प्रस्ताव गरेका थिए । शाहले अस्वीकार गरे । र, रास्वपाबाट चुनाव लडे ।
रास्वपाले उनलाई प्रधानमन्त्रीको उमेदवार घोषणा गरेर चुनावमा होमिएको थियो । चुनावबाट रास्वपा दुई तिहाइ नजिक पुग्यो । १८२ सिट जितेको रास्वपाबाट बालेन प्रधानमन्त्री बनेका हुन् ।
यस्तो छ उनको पृष्ठभूमि
बालेन ०४७ वैशाख १४ गते काठमाडौंको नरदेवीमा जन्मिएका हुन् । उनी आयुर्वेदिक चिकित्सक स्व. रामनारायण शाह र आमा धुव्रदेवी शाहका सुपुत्र हुन् ।
बालेन सिभिल इन्जिनियर, संरचनात्मक अनुसन्धानकर्ता, लेखक, कलाकार पनि हुन् । उनी चर्चित र्‍यापर हुन् । दुई दर्जनभन्दा बढी र्‍याप कम्पोज गरेका छन् । उनका र्‍याप भ्रष्टाचारको विरोध तथा सुशासनको अपेक्षा, युवा तथा सामाजिक मुद्दामा बढी केन्द्रित छन् ।
जसले पूर्वाधार विकास, सम्पदा संरक्षण तथा सार्वजनिक नेतृत्वमा विषयगत अनुभव हासिल गरेका छन् । महानगरको मेयर हुँदा उनले महानगरपालिकाका अवैध संरचना हटाउन, फुटपाथ तथा सहरी व्यवस्थापनमा केही काम गरे ।
पुल, सडक र भवन डिजाइन तथा निर्माणमा अनुभव आर्जन गरेका शाहले सम्पदा संरक्षण तथा संरचनागत संरक्षण, पर्यटनमार्फत आर्थिक विकास र परम्परागत नेवार वास्तुकलामा विशेष जोड दिएका छन् । उनले ०७२ को भूकम्पपछिको पुनर्निर्माण तथा राष्ट्रिय विकासमा सक्रिय योगदान दिएका थिए ।
पीएचडी गर्दैछन् बालेन
शाहले काठमाडौं विश्वविद्यालयबाट विद्यावारिधि (पीएचडी) गर्दैछन् । पर्यटन तथा अर्थतन्त्र प्रवद्र्धनका लागि काठमाडौंका नेवार संरचनाहरूको संरक्षण उनको शोधको विषय हो । विश्वेश्वरैया प्राविधिक विश्वविद्यालय भारतबाट एम.टेक (संरचनात्मक इन्जिनियरिङ) गरेका छन् । नेपालको पूर्वाञ्चल विश्वविद्यालयबाट सिभिल इन्जिनियरिङमा स्नातक गरेका थिए ।

प्रकाशित मिति: चैत्र १३ २०८२, शुक्रबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend