Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

हर्क साम्पाङसहित अन्य दल उपसभामुखको लागि लबिङमा

हाम्रो कोशी आवाज
चैत्र २२ २०८२, आइतबार
हर्क साम्पाङसहित अन्य दल उपसभामुखको लागि लबिङमा

धरानः श्रम, संस्कृति पार्टीका अध्यक्ष एवं सांसद हर्कराज राई (साम्पाङ) ले अब हुने उपसभामुखको निर्वाचनमा हर्क साम्पाङले आफ्नो पार्टीको पनि दाबी रहेको सार्वजनिक गरेका छन् । सत्ता समीकरण र शक्ति बाँडफाँटको विषयमा अन्य दलहरूसँग छलफल भइरहेको उनले जानकारी दिए ।
आइतबार सिंहदरबारस्थित संसद् भवनमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै अध्यक्ष राईले नयाँ जनमतको कदर गर्दै सभामुखले संसद्रुमा सबै दल र स्वतन्त्र सांसदहरूलाई समान व्यवहार गर्ने विश्वास व्यक्त गरे । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट निर्वाचित अर्यालले आइतबार नै राष्ट्रपति रामचन्द्र पौडेलसँग सपथ लिएर कार्यभार सम्हालेका छन् ।
आइतबार प्रतिनिधिसभाले सभामुखमा डोलप्रसाद अर्याललाई चयन गरेसँगै अब उपसभामुखको निर्वाचन हुँदैछ । नेपालको संविधानको धारा ९१ (१) अनुसार संसदको पहिलो बैठक बसेको १५ दिनभित्र सभामुख र उपसभामुख चयन भइसक्नुपर्ने छ। चैत १९ गते संसदको अधिवेशन सुरु भएकाले अब वैशाख ४ गतेभित्र उपसभामुख समेत चयन भइसक्नुपर्नेछ ।
संवैधानिक व्यवस्थाअनुसार प्रतिनिधिसभामा एकभन्दा बढी दलको प्रतिनिधित्व भएको अवस्थामा सभामुख र उपसभामुख फरक दल र लिङ्गको हुनुपर्छ। धारा ९१ (२) मा उल्लेख गरिएको छ, ‘प्रतिनिधि सभाको सभामुख र उपसभामुख मध्ये एकजना महिला हुने गरी गर्नु पर्नेछ र प्रतिनिधि सभाको सभामुख र उपसभामुख फरक फरक दलको प्रतिनिधि हुनु पर्नेछ ।’
रास्वपाबाट अर्याल सभामुख चयन भइसकेकाले अब संसदमा प्रतिनिधित्व गर्ने अरु दलका महिला सांसदबाट उपसभामुख चयन गर्नुपर्ने भएको छ ।
उपसभामुखमा नेकपा, श्रम संस्कृति पार्टी र राप्रपाले दाबी प्रस्तुत गर्दै रास्वपासँग संवाद अघि बढाएका छन्। उपसभामुख चयनबारे संसद सचिवालयलाई अहिलेसम्म दलहरुले कुनै तयारी अघि बढाउन भनेका छैनन् ।
नेकपाले आफूलाई उपसभामुख दिनुपर्ने लबिङ गरेको छ । संयोजक पुष्पकमल दाहाल प्रचण्डले यसअघि नै रास्वपा सभापति रवि लामिछानेसँगको भेटमा आफ्नो दललाई उपसभामुख दिन आग्रह गरेका थिए। प्रमुख सचेतक युवराज दुलालले उपसभामुखमा आफ्नो पार्टीको दाबी रहेको बताए। उनले भने, ‘त्यसमा हाम्रो पार्टीको पनि दाबी रहन्छ ।’
उपसभामुख दिए राष्ट्रियसभामा सत्तारुढ रास्वपमा शून्य अवस्थामा रहेकाले दोस्रो ठूलो दल हुँदा सरकारलाई त्यहाँ सहयोग गर्ने आश्वासन नेकपाले गरेको छ । त्यस्तै हर्क नेतृत्वको श्रम संस्कृति पार्टीले पनि उपसभामुख आफ्नो दलले पाउनुपर्ने दाबी सार्वजनिक रूपमा र रास्वपासँग पनि गरेको छ ।
उनले उपसभामुखमा आफ्नो पार्टीले दाबी रहेकाले त्यसलाई रयाल काडेको रुपमा लिन हुने उल्लेख गरे । उनले उम्मेदवारी दिने घोषणा नै गरिसकेका छन् । साङ्पाङले सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘लोकतान्त्रिक अभ्यास गर्नेछौँ। उम्मेद्वारी दिन पाउने हाम्रो अधिकार हो । मत हाल्नु नहाल्नु त्यो सांसदहरुको अधिकार हो। यसलाई ¥याल काड्ने स्याल काड्ने नभन्नु ।’
उता राप्रपाले पनि उपसभामुखमा दाबी प्रस्तुत गर्दैै रास्वपासँग सघन छलफल गरिरहेको छ। राप्रपा संसदीय दलका नेता ज्ञानबहादुर शाहीले शनिबार लामिछानेसँग उनको निवासमै पुगेर उपसभामुख आफ्नो दललाई दिन आग्रह गरे । अनौपचारिक रुपमा माग गरिहेको राप्रपाले लामिछानेसँग भेटेर औपचारिक रुपमा उपसभामुखका लागि याचना गरेको हो। राप्रपाले अवसर पाएको अवस्थामा उक्त दलकी खुश्बु ओली उम्मेदवार हुने निश्चित छ। उनले कुराकानी भए पनि आफ्नो दलले उपसभामुख पद पाउने नपाउने बारे टुंगो लागिनसकेको बताइन् ।
ओलीले भनिन्, ‘कुराकानी भइरहेको छ। हाम्रो संसदीय दलको नेताले हिजो रास्वपाका सभापतिज्यूलाई पनि भेट्नु भयो। के हुने हो, त्यसको जानकारी मसम्म आइपुगेको छैन ।’
रास्वपाले पनि विभिन्न दलसँग कुराकानी भए पनि कुन दलले तय गरेको उम्मेदवारलाई समर्थन गर्ने भन्ने यकिन भइनसकेका जनायो। रास्वपा सांसद लिमा अधिकारीले भनिन्, ‘कुराकानी भइरहेको सुनेका छौँ। तर कुन दललाई समर्थन गर्ने भन्ने यकिन भइसकेको छैन। छलफलमै होला ।’
उपसभामुख कुन दललाई दिने भन्नेबारे रास्वपाभित्र पनि प्रधानमन्त्री बालेन्द्र शाह र सभापति लामिछानेबीच एक मत देखिएको छैन। उपसभामुख पदलाई लिएर यति धेरै चासो हुनुको एउटा मुख्य कारण संवैधानिक परिषद् पनि हो।संविधानअनुसार सभामुख र उपसभामुख दुवै संवैधानिक परिषद्का सदस्य हुन्छन्।
प्रधानमन्त्री अध्यक्ष रहने उक्त परिषद्मा सभामुख, उपसभामुख, राष्ट्रियसभा अध्यक्ष, प्रमुख प्रतिपक्षी दलका नेता र प्रधानन्यायाधीश सदस्य रहने व्यवस्था छ ।
यही परिषद्ले संवैधानिक निकायका प्रमुख पदाधिकारी तथा सर्वोच्च अदालतका प्रधानन्यायाधीश र न्यायाधीशलगायत महत्त्वपूर्ण पदमा नियुक्तिका लागि सिफारिस गर्ने भएकाले उपसभामुख कुन दलले पाउँछ भन्ने विषयलाई विशेष अर्थका साथ हेरिएको हो ।

प्रकाशित मिति: चैत्र २२ २०८२, आइतबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend