Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धान दिवस र यथार्थता

हाम्रो कोशी आवाज
असार १५ २०८३, सोमबार
धान दिवस र यथार्थता

-नवराज बस्नेत

सन् १९६६ मा विश्वभर नै भोकमरी फैलियो । भोकमरीबाट बच्नका लागि सबैभन्दा महत्त्वपूर्ण बाली धान हुने संयुक्त राष्ट्रसंघले ठहर ग¥यो र धानलाई विश्वभर नै उत्पादन बढाउने अभियान चाल्न वर्ष बालीका रूपमा लियो । भोकमरीबाट मुक्तिको नारासहित उक्त वर्ष मुख्य बालीका रूपमा धान उत्पादनलाई जोड दिइयो । फलस्वरूप धान संसारका लागि मुख्य खानाका रूपमा स्थापित भयो ।
तत्पश्चात विश्वभर धानखेतीले प्रश्रय पायो । त्यसैले विश्व तहमा खुसियाली स्वरूप धानको सकारात्मक प्रचार-प्रसारका लागि दिवस तथा महोत्सव मनाउन थालियो ।
नेपालको सन्दर्भमा मनाङ र मुस्ताङ बाहेकका जिल्लामा धानखेती हुने गर्छ । समुद्र सतहभन्दा ६० मिटर उचाइ (झापा जिल्लाको कचनाकेवल)देखि तीन हजार ५० मिटर (जुम्लाको हुमचौर)सम्म हामीकहाँ धानखेती हुन्छ । नेपालमा कुल खेतीयोग्य जमिनमध्ये १४ लाख ७३ हजार हेक्टर (४७ प्रतिशत) क्षेत्रफलमा धानखेती गरिन्छ । विश्वमा झैँ नेपालमा पनि धान प्रमुख बालीका रूपमा स्थापित छ ।
सरकारले दुई दशकअगाडि २०६१ देखि नियमित रूपमा असार १५ गतेलाई धान दिवस तथा रोपाइँ महोत्सवका रूपमा मनाउँदै आएको छ । धान दिवस मनाउन थालेसँगै धान र यसको मुख्य परिकार भातका बारेमा चासो बढेको छ । हाल हामीकहाँ कृषि तथा पशुपक्षी विकास मन्त्रालय र मातमहतका निकायहरू, राजनीतिक पार्टीका किसान भ्रातृ संघ तथा संगठनहरू, अन्य स्वतन्त्र तथा खेतीपातीमा संलग्न संघ–संस्था र संगठनहरू एवं स्थानीय सरकार समेत धान दिवस मनाउन तल्लीन छन् ।
रमाइलोका लागि एक दिन हिलोमा खेलेर गर्ने मजाकले वास्तविक किसानको अपमान गर्न सक्छ । धान दिवस तथा महोत्सवलाई एक दिन हिलो खेल्ने र वर्षको एक दिन कोदाली समातेर फोटो खिच्ने मजाकका रूपमा लिनु हुँदैन ।
कृषि मन्त्रालयले यस वर्ष ‘जलवायुमैत्री कृषि, धान उत्पादनमा वृद्धि’ नाराका साथ २१औँ राष्ट्रिय धान दिवस तथा महोत्सव भव्य तयारीका साथ चितवनमा मनाउने भएको छ ।
हामी दिवस मनाउँदै छौँ । आकाशको पानीको भरमा धान रोप्नुपर्ने बाध्यता झेलिरहेका किसानले चाहेर पनि रोपाइँ गर्न सकेका छैनन् । परार साल १९औँ धान दिवस मनाइरहँदा देशभर ३५ प्रतिशत रोपाइँ सकिएको थियो । गत वर्ष २०औँ धान दिवस मनाइरहँदा १३÷१४ प्रतिशत रोपाइँ सकिएको थियो । यो वर्ष हामी तामझाम त गर्दै छौँ, मनसुनमा आधारित वर्षामै निर्भर किसानले रोपाइँ गर्न सकिरहेका छैनन् । अहिलेसम्म देशभरि पाँच प्रतिशत पनि रोपाइँ हुन सकेको छैन । यस्तो अवस्थामा हाम्रो तामझामले के अर्थ राख्ला !
सांस्कृतिक पक्ष
असारमा खाने दही र चिउरा, साउनमा खाने खिर ।
घरमा छैन मिठो बोली वचन, मनमा छैन थिर ।।
असार १५ हाम्रो संस्कृतिसँग जोडिएको दिन समेत हो । यस दिन दही–चिउरा र चामलबाट बनेका परिकार बनाएर खाने चलन छ ।
चामलबाट बनेका परिकार खाने र असारे गीत गाउँदै र बेठी बाजा बजाएर हिलोमा नाच्दै हिलो खेल्नु हाम्रो सांस्कृतिक परम्परा हो, अचेल यस्ता परम्परा जोगाउनुपर्ने भएको छ ।
आदिमकालदेखि नै किसान र प्रकृतिबिच घनिष्ठ सम्बन्ध रहँदै आएको छ । लामो समयदेखि खडेरीको सामना खेपिरहेका किसान जब वर्षा सुरु हुन्छ, तब हर्षले गद्गद् भई रोपाइँ व्यस्त हुन्छन् । किसानी काममा अधिक शारीरिक श्रम गर्नुपर्छ, पसिना बग्छ, हातमा ठेला उठ्छ । औजार चलाउँदा हात खुट्टामा घाउ चोट लाग्छ, भोक–प्यास लाग्छ ।
थकान मेटाई शरीरमा स्फूर्ति कायम राख्न किसानले रामदली, गोडेलो, बेठी गीत र असारे आदि श्रम गीत रची मिठो भाकामा गाउँदै आए । यसरी उत्साह र उमङ्ग थप्दै असारे झरीमा रुझ्दै संस्कृतिको जगेर्ना एवं कर्मको निरन्तरता दिइरहेका छन् किसानले ।
कुनै पनि दिवस मनाउने भनेको रमाइलोका लागि होइन । रमाइलोका लागि एक दिन हिलोमा खेलेर गर्ने मजाकले वास्तविक किसानको अपमान गर्न सक्छ । धान दिवस तथा महोत्सवलाई एक दिन हिलो खेल्ने र वर्षको एक दिन कोदाली समातेर फोटो खिच्ने मजाकका रूपमा लिनु हुँदैन । कृषि कर्म एक दिन गरेर सामाजिक सञ्जालमा फोटो देखाएर लाइक र कमेन्ट गर्ने पेसा होइन । खेतीका लागि त निरन्तर परिश्रम गर्नुपर्छ, भनिन्छ, धावन्ते खेती ।
नेपालले २०३१ सालमा आठवटा कम्पनी स्थापना गरी धान–चामल निर्यात गर्न थालेको थियो । सोही वर्ष ५५ हजार मेट्रिक टन चामल नेपालबाट भारत, बंगलादेश लगायत देशमा निर्यात भएको थियो । कम्पनी स्थापना भएको सात वर्षसम्म निरन्तर रूपमा धान चामल निर्यात भयो । आठौँ वर्षमा पुग्दा नाटकीय रूपमा नेपालमै चामल आयात हुन थाल्यो र दशौँ वर्षसम्म पुग्दा ती आठवटै कम्पनी बन्द हुन पुगे ।
जनसंख्या वृद्धि भयो, उपभोग बढ्यो, परम्परागत कृषि प्रणालीमा खेतीपाती भएका कारण उत्पादन घट्यो र निर्यात गर्न सकिएन भन्ने आधार बनाइयो । अवस्थाको सही विश्लेषण गर्न सकिएन, नीति–नियम किसानमैत्री बनाउन र कार्यान्वयन गर्न ध्यान दिइएन, किसानको सम्मान गर्न जानिएन फलस्वरूप किसान निराश भए । किसान निराश हुनु भनेको देशको कृषि क्षेत्र निराश हुनु हो । किसानप्रति सम्बन्धित निकायको दृष्टिकोण सकारात्मक नहुनु र किसानको अस्तित्व स्वीकार गर्न नसक्नुजस्ता कारण देशको उत्पादन ओरालो गतितिर झरेको हाम्रो अगाडि छर्लंग छ ।
हामीले धान दिवस तथा रोपाइँ महोत्सव मनाउन थालेको वर्ष पूरा भयो । समय सान्दर्भिक नारा घन्काउँदै दिवस मनाइरहँदा हामीले लिएको नारा सार्थक भयो कि भएन भनी कहिल्यै खोजेनौ । विगतका दिवसलाई फर्केर हेर्ने हो भने नारा एकातिर धान उत्पादनको अवस्था अर्कोतिर छ, अर्थात् फरक–फरक दिशातर्फ गएको पाइन्छ । हामीले एकातिर कृषि भूमिको संरक्षणको नारा लियौँ, अर्कोतिर धान फल्ने खेत खण्डीकरण भई कङ्क्रिटमा परिणत हुँदै छन्, अर्थात् बजार बन्दै छन् । सडक, हाइड्रोपावर निर्माण लगायत विभिन्न कम्पनीका नाममा धान फल्ने जग्गा अधिग्रहण गरियो । पहिरो र नदी कटानमा खेतहरु परेका छन् । हरेक वर्षमा हजारौँ हेक्टर जमिन बाढी–पहिरोले नोक्सान गर्छ । संरक्षण छैन, यस कारण धान फल्ने जमिन साँगुरिएर गई उत्पादन घट्दो छ ।
हिजो धान–चामल निर्यात गर्ने कृषिप्रधान देशका जनता हामी आज अर्बौंको चामल किनेर खान बाध्य छौँ । हामीले दुई बाली धानखेतीको विस्तारको नारा लगायौँ, तर खेतीयोग्य जमिनमा वर्षायाममा समेत बाली लगाउने वातावरण बनाउन सकेनौँ । पानीको स्रोत प्रशस्त भएर पनि सदुपयोग गर्न सकेनौँ । किसानलाई अकासेपानीको भरमा खेती लगाउन बाध्य बनायौँ । यसले देखाउँछ, कृषि नाराले चल्दैन ।
७० प्रतिशतभन्दा बढी पारिवारिक खेतीमा संलग्न साना किसानलाई राज्यले प्रोत्साहन गर्न सकेन । नेपालको भौगोलिक क्षमता, विशेषता, स्थानीय तह र किसानमा आश्रित समुदायको आवश्यकता नहेरी व्यावसायिक कृषिको नाममा रासायनिक मलको प्रयोगलाई जोड दिइयो । सरकारले आव २०८१÷०८२ का लागि कुल कृषि बजेटको आधाभन्दा बढी बजेट रासायनिक मलका लागि छुट्ट्याएको छ । गत वर्ष ३० अर्ब रकम रासायनिक मलमा खर्च गरे पनि धान रोपाइँ गर्ने समयमा किसानले मल पाउन सकेका छैनन् । कतिपय स्थानमा सहकारीबाट किसानलाई बाँड्न लगिएका सीमित कोटाको मल ५ तथा १० किलो भाग लगाएर वितरण गरिरहेका छन् ।
अर्कोतिर, वन्यजन्तुको प्रकोपका कारण खेतीपाती जोगाउन नसकी हार खाएर किसानहरू जमिन बाँझो राख्न बाध्य छन् । गाउँ ठाउँमा बसी कृषि कर्म गर्दै आएका देशका युवा जनशक्ति कृषिबाट निर्वाह नहुने देखेर गाउँबाट सहर र सहरबाट विदेशतिर जाने क्रम बढेर गएको छ । नागरिक समाजको दबाबमा सरकारले भूउपयोग नीति र नियमावली पास गरेको छ । अब त केही हुन्छ कि भनेर आशा गरे पनि प्रभावकारी रूपमा कार्यान्वयन हुन नसक्दा पलाएको आशा पनि निराशामा परिणत भएको छ ।
खेतीयोग्य जमिनमध्ये १८–२० प्रतिशत जमिनमा मात्र सिँचाइको व्यवस्था छ । जलस्रोतमा धनी राष्ट्र भएर पनि खेतीयोग्य जमिनको पाँच मिटर तलबाट पानी बगिरहँदा त्यसलाई उपयोगमा ल्याउन सकिएको छैन । डोजरे विकासका कारण परम्परागत रूपमा किसानको श्रमदानबाट निर्मित सिँचाइ कुलाहरू नोक्सान भई सञ्चालनमा आउन सकेका छैनन् ।
जमिनमा पानीको सतह घट्दै गएको छ । जसको असरले सुक्खा बढ्दै छ । हाम्रा अधिकांश जमिन सुक्खा छन् । सिँचाइको व्यवस्था छैन । कहिले आकाशबाट पानी खस्ला र रोपाइँ गरौँला भनेर किसानहरू आकाशतिर मुन्टो तेस्र्याउन विवश छन् । जलवायु परिवर्तनका कारण समयमा पानी नपर्दा किसानले बाली लगाउने समयमा बाली लगाउन सकेका छैनन् ।
जलवायु परिवर्तनले धानखेतीलाई असर पु¥याइरहेको छ, यसको न्यूनीकरणका लागि जलवायु अनुकूलित प्रविधिको अनुसन्धान र विकास गर्नुपर्नेछ, उपलब्ध प्रविधिहरूको प्रचार–प्रसार गरी त्यसको सही रूपमा अवलम्बन गर्न कृषक र अन्य सम्बद्ध पक्षलाई सचेत बनाउनुपर्नेछ— यस वर्षको नाराले यही सन्देश दिन खोजेको छ ।
असार धर्तीपुत्र किसानका लागि महत्त्वपूर्ण समय हो । आदिमकालदेखि नै किसान र प्रकृतिका बिच घनिष्ठ सम्बन्ध रही आएको छ । यतिखेर बर्सिएको वर्षा किसान र फसलका निम्ति अमृत समान हुन्छ । देशको मुख्य बाली धान रोप्ने समय भएकाले जब असार सुरु हुन्छ, तब किसानहरू आकाश हेर्न व्यस्त हुन्छन् । पानी कहिले पर्ला र रोपाइँ गर्ने भन्ने चिन्ताले किसानलाई सताउने गर्छ । किसानको यस्तो चिन्ता हटाउन राज्यले प्राथमिकताका साथ ठोस कार्याक्रम ल्याउनैपर्छ ।

प्रकाशित मिति: असार १५ २०८३, सोमबार

प्रतिक्रिया दिनुहोस्

  • धरानको विजयपुरः ‘माल पाएर चाल नपाएको’ ठाउँ

    -राजकुमार दिक्पाल केही सातादेखि ऐतिहासिक विजयपुर क्षेत्रलाई लिएर विवाद चर्किएको छ। स्वस्थ बहस र समाधानतर्फ अघि बढ्नुपर्ने विवाद झन् जटिल बन्दै गएको छ। सम्बन्धित पक्षहरूले...

    • ३ घण्टा अगाडी
    • ७ मिनेट पाठ
  • सुनसरीको बसपार्कबाट प्रहरीले खोजीखोजी समात्यो

    धरानः सुनसरीको इनरुवाबाट प्रहरीले लागूऔषधसहित पक्राउ गरेको छ । इनरुवा–४ बसपार्कमा प्रहरीले खोजीखोजी युवालाई पक्राउ गरेको हो । पूर्व–पश्चिम राजमार्गमा जिल्ला प्रहरी कार्यालय सुनसरी र अस्थायी...

    • ४ दिन अगाडी
    • २ मिनेट पाठ
  • श्रमदानको ओज

    -बैकुण्ठ दाहाल नेपालको राजनीतिक इतिहासमा धेरै दलहरू स्थापना भए, धेरै नाराहरू उठे, तर आम नागरिकले चाहेको सुशासन, उत्पादनमुखी अर्थतन्त्र र श्रमको सम्मान अझै पनि पूर्णरूपमा...

    • ५ दिन अगाडी
    • ३ मिनेट पाठ
  • डिग्री पास छ तर सर्वसाधारणले पाउँदैनन् जागिर

    जताततै भूपू कर्मचारीको बिगबिगी धरानः सरकारी कार्यालयमा सरकारले प्राइभेट कम्पनीबाट गार्ड नियुक्त गरेको हुन्छ । यता, स्थानीय पालिकाले नगरप्रहरी राखेको हुन्छ । बैंक तथा वित्तिय...

    • ७ दिन अगाडी
    • ६ मिनेट पाठ
  • नजानिँदो सत्ताको अस्थिर चक्रव्यूह

    -कृष्णबहादुर तामाङ “संसदीय अङ्कगणित र जोड घटाउले विकासको गतिलाई सधैँ बन्धक बनाउन सक्दैन । नेपालको सात दशक लामो राजनीतिक अस्थिरताबाट मुक्त हुने सबैभन्दा प्रभावकारी विकल्प...

    • १ हप्ता अगाडी
    • ८ मिनेट पाठ
  • हामी १२ वर्षमा प्रवेश

    धरानः हाम्रो कोशी आवाज डटकम आफ्नो स्थापनाको ११ वर्ष पूरा गरी आज १२ औं वर्षमा प्रवेश गरेको छ । हामी छैटौं वर्ष पूरा गरी...

    • १ हप्ता अगाडी
    • ३ मिनेट पाठ

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend