विश्व महामारी कोरोनााको कहरबाट देश सङ्कटमा परेको डेढ महिना नाघिसक्यो । एउटा ठूलो हिस्सा श्रमजीवी वर्गको बसोबास रहेको देशमा यति लामो लकडाउन हुँदा आम श्रमजीवी हुँदा खाने वर्गमा कस्तो समस्या छ भनेर बुझ्न दलीय ब्यवस्थामा राजनीतिक पार्टीहरुले महत्वपूर्ण भूमिका निभाउनुपर्ने हो तर त्यो हुन सकेको छैन ।
एकातर्फ नेपाली भूमि मिचिएको छ भने अर्कोतर्फ कोरोनाको कहरबाट हुँदा खाने वर्ग खाद्यान्न सङ्कटमा छन् । यस्तो विषम परिस्थितिमा राष्ट्र गुज्रेको बेला राजनीतिक पार्टीहरू एक भएर माटो र जनताको रक्षा गर्न नसक्नु राजनीतिक दलहरूको ठूलो कमजोरी हो । खाली एक अर्कोतर्फ आरोप प्रत्यारोप गरेर समय बर्बाद पारेर भाषण सुनाउने कु–सस्कार अब बन्द गर्नुपर्छ । यतिबेला जनतालाइ भाषण होइन भारतले मिचेको जमिन फिर्ता गर्ने सामूहिक प्रयास र काम नहुँदा मजदुर, किसान र गरिब जनतालाई बिहान–बेलुका हात मुख जोड्ने ब्यवस्था चाहिएको छ । यस्तो सङ्कटको घडीमा राजनीतिक पार्टीहरूले भाषण मात्र गर्ने कि यस्तो अवस्थामा दल जनताकै लागि रहेछन् भन्ने आम जनतामा महसुस हुने गरी काम पनि गर्ने ? यो राजनीतिक दल चिन्ने समय पनि हो ।
निरन्तरको लकडाउनका कारण निम्न वर्गीय गरिब जनता अभावमा छटपटिँदै गरेका बेला राजनीतिक पार्टीहरू एक अर्कालाई आरोप–प्रत्यारोप गर्दै गम्भीर राजनीतिक चलखेलमा ब्यस्त हुनु कतिको ठीक हो स्वयं पार्टीहरूले बुझ्ने कुरा हो । जुन काम जनउत्तरदायी राजनीतिक पार्टीले यो घडीमा गर्नै नहुने कार्य हो । यो घडीमा त सत्ता पक्ष प्रतिपक्षलगायत सबै मिलेर जनताका घरघरमा पुगेर जनताका समस्या समाधान गर्नुपर्ने हो ।
साँच्चिकै जनताकै लागि पार्टी खोलिएका हुन् भने आउने निर्वाचनमा गर्ने खर्च यो सङ्कटमा गर्नुपर्छ ताकि अर्को निर्वाचनमा खर्च गर्नु नपरोस् । सत्ता पक्षको मात्र दायित्व हो हाम्रो होइन भन्ने प्रतिपक्ष लगायतका दलहरू फेरि सरकारमा जाने कि नजाने फेरि जनतासँग मत माग्ने कि नमाग्ने सत्तापक्षको त त्यसैपनि अनिवार्य दायित्व हो तर प्रतिपक्षचाहिँ किन भूमिकाविहीन बन्ने के चुनाव जित्दा जनताले भोट हाल्दा मात्र जनताको काम गर्ने चुनाव हार्नेबित्तिकै जनतासँग बदलाको भावना लिने । यसरी जनतासँग बदलाको भावनाले गर्ने राजनीति कहिल्यै सफल हुने छैन । अनि सत्तापक्षले चाहिँ यो समयमा प्रत्येक नगारिकले साँच्चिकै मेरो सरकार रहेछ भन्ने गरी दुःखमा साथ र सहयोग गर्नु पर्छ कि डेढ महिनामा १०–२० किलो चामल दिएर कर्तव्य पूरा भयो भनेर गमक्क पर्नुपर्छ । यसले आम जनता र सरकारको सम्बन्ध कस्तो बनाउँछ यस विषयमा सत्तापक्ष दल अलिक जिम्मेवार बन्नुपर्छ ।
सत्तापक्षका आम कार्यकर्ता पनि जिम्मेवार र कर्तव्यनिष्ट बन्नुपर्छ । सत्तापक्ष र प्रतिपक्षलगायत सबै राजनीतिक पार्टीहरूले यति सोच्नुपर्छ कि निर्वाचन हरेक ५ वर्षमा अनिवार्य आउँछ र फेरि हामीले जनताकै मतले जितेर सत्तामा पुग्नुपर्छ भन्ने हेक्का राख्न जरुरी छ । चुनाव जित्नेहरू गमक्क पर्ने र चुनाव हार्नेहरु फनक्क फन्किने राजनीतिक संस्कार अब राख्नु हुँदैन । राजनीति गर्नेहरू निःस्वार्थ बन्न जरुरी छ । राजनीति त्यस्ताले मात्र गर्छन् जसले आफ्नो सम्पूर्ण जीवन निस्वार्थ जनताको सेवामा लगाउँछन् । जनतालाई सत्तामा पुग्ने भरयाङ मात्र सम्झेर राजनीति गर्नेहरूले अब राजनीतिबाट सन्यास लिए हुन्छ ।
राणा पञ्चायत र निरंकुश राजतन्त्रको अन्त्य किन र के का लागि भएको थियो । त्यसबेलाको कठोर अनि बलिदानीपूर्ण सङ्घर्षमा ज्यानको बाजी लषएर जनता किन लागेका थिए र आजको ब्यवस्था कसरी आयो भनेर बुझ्न जरुरी छ । ७० वर्षदेखि जनताले भाषण सुने । अब त रासन पाउने बेला हो किन जनता आज पनि पुगेन र छैन भन्न बाध्य छन् यो कुरा राजनीतिक पार्टीहरूले बुझ्न जरुरी छ ।
‘काम चलो भाँडो आफल तेरो ठाडो भने झै गर्न हुँदैन । सबै दलहरू सङ्कटमा एक हुने हो भने कुनै पनि जनताले कुनै समस्या झेल्नु पर्दैन यदि साँच्चै इमान्दारपूर्वक सबै राजनीति दलहरू मिलेर जनताप्रति उत्तरदायी बन्ने हो भने डेढ महिना त के एक वर्ष पनि जनताले सङ्कटको महसुस गर्नु पर्दैन । सङ्कटको घडीमा जनता नचिन्ने र जनताका समस्या नबुझ्ने पार्टीहरूलाई यसैगरी जनताले बदला लिए भने के हुन्छ यो पनि मनन गर्नु पर्छ ।
अन्त्यमा यस्तो सङ्कटको घडीमा सबै देशको शक्ति एक भएर लागौं राज्य कोष बाटै जनताको घर घरमा परेको अभावको परिपूर्ति गरौं । पहिला मान्छे बचाऔ अनि बिकास गरौंला । भारतले मिचेको भूमी जसरी पनि फिर्ता गरौं । शीर्ष तहबाट यसको पहल थालियोस् । देश र जनताको पक्षमा हुने काममा सत्तापक्ष र प्रतिपक्ष नबन्नुस् । घर्मै बसौ आफू पनि बाँचौ अरूलाई पनि बचाऔं । मिलेर यो महामारीको सामना गरौं । मिचिएको जमिन फिर्ता लिन पहल गरौं ।
लेखकः नेपाल बसोबास बस्ती संरक्षण समाजका महासचिव हुन् ।