म हरेक अभिभावकहरूलाई एउटा प्रश्न सोध्न चाहान्छु, ‘के तपाईहरूले आफ्ना सन्तानलाई यौनशिक्षाको वारेमा जानकारी गराउनुभयो ?’ अब लजाउने समय पनि रहेन किनकि, हामी आधुनिकताको चरमोत्कर्षमा पुग्दैछौ नि होइन ?
फलानो ठाउँमा बलात्कार, बलत्कारपछि युवतीको हत्या, नौ वर्षकी बालिकाको ५८ वर्षे पुरूषबाट बलत्कार, सामूहिक बलात्कार आदि आदि । जब बलात्कारको घटना सुनिन्छ तब बलात्कारीसँग रिस उठ्छ । अनि भन्न मन लाग्छ– छयाः बलात्कार, बलात्कार बलात्कार ।
आखिर बलात्कारको घटना किन दोहोरिन्छन् भन्ने विषयमा तपाईले कति गहिराइसम्म पुग्नुहुन्छ, कि गहिराइको डरले किनार छेऊ पुग्न समेत डराउनुहुन्छ ? महिला अधिकर्मी छँदैछन् भनेर तपाई पुरूषलाई पन्छिन सजिलै आउँछ नि है । सलाम छ ती पुरूषप्रति जसले बलात्कारको पक्षमा वकालत गर्नुहुन्छ ।
छोरी जन्मिनेवित्तिकै उनका कर्तव्यहरूको पङ्ती बनाउन हतार हुन्छ नि है, अनि अधिकार किन लुकाउन खोजिन्छ ? अधिकार खोज्दा खोज्दै कति छोरीको त अस्तित्व नै धराप पर्न जान्छ । छोरीलाई सानैबाट लजाउन सिकाउने समाजले कहाँ लजाउनु हुन्छ र कहाँ हुदैन भनेर सिकाउन कन्जुस्याई किन ? छोराले मनपरी खाओस्, हिँडोस्, बोलोस् जे गरोस् वाह हुने अनि तिनै कर्महरूको पचास प्रतिशत छोरीले गरिन् भने छ्या । अनि तपाईले भन्नुहोला त्यो जमाना रहेन अब । हो, तपाईको सहरमा छैन कि । गाउँले समाजको अध्ययन गर्नुस् अनि विस्तृत जानकारी प्राप्त हुनेछ । सलाम छ ती अभिभावकहरूलाई जसले छोरा र छोरीको अन्तरको दुरी घटाउदैँ उदाहरण बन्दै हुनुहुन्छ ।
विशेषगरी छोरीलाई यौनहिंसाजन्य विषयको बारेमा एकदमै ध्यान दिएर सम्झाउनुपर्छ । किशोरावस्थामा पाइला राख्दै गर्दा तीव्ररूपमा हुने शारीरिक परिवर्तनले गर्दा सही र गलत छुट्याउन सक्दैनन् । छोरीले नलजाई आफूमा आउने समस्याहरू आफ्ना परिवारसमक्ष भन्न सकेनन् भने स्थिति भयावह हुन्छ । यौनहिंसाको पनि चरणहरू हुन्छन् । ‘के छ नानी खबर’ भनेर सुरू भएको संवादले बलात्कारसम्म पुग्छ भनेर सोच्नुभएको छ ? आफ्ना छोरीलाई कसैले नराम्रो म्यासेज गरेको छन् छैनन्, उनीहरू को सँग कसरी बोल्छन्, कहाँ जान्छन् आदि साना कुराको ख्याल अभिभावकले गर्नैपर्छ । फेरि यसो भनिरहदँ छोरीलाई बन्धनमा राख्नुपर्छ भन्ने अर्थ होइन । छोरीलाई समस्यासँग डराएर भाग्ने बनाउने होइन समस्या नै आउन नदिने बनाउने जिम्मा तपाई अभिभावकको हो । सलाम छ ती छोरीलाई जसले आफ्नो कुरा निर्धक्कसँग परिवारलाई भन्न सक्छे ।
छोरा तिमी मर्द हो, बहादुर हो भनेर सिकाउनुको औचित्य म देख्दिन । छोरा र छोरी दुवै मर्द र बहादुर हुन्छन् । छोरालाई संस्कार सिकाउन हामी किन चुक्दैछौ भन्ने विषयमा सोच्नुभएको छ ? असल संस्कार दिएको खण्डमा छोरा पनि संस्कारी हुन्छन् । छोरालाई सानैबाट आमाको महत्व र दिदिबहिनीको महत्व सिकाउन कन्जुस्याई नगरौं न हुन्न । धर्मकर्म, भजन, किर्तन, ब्रत गर्नुपर्छ भनेर छोरालाई किन भनिदैन ? छोराले यसो गर्नुहुँदैन भनेर लेखेको छ र कतै ? कि छोराले धर्मकर्म गर्नैपर्दैन ? अलिकति सोचौँ न हुन्न । संकारसहितको शिक्षा छोरालाई आवश्यक छ । अनि छोरालाई पनि यौनहिंसाको शिक्षा दिन अभिभावकले नभुलौं । सलाम छ ती छोरालाई जसले भगवानको किर्तनमा मन लगाउँछन् ।
जसरी पुरूषहरू आफ्नो लक्ष्य पूरा गर्नको लागि आफ्नो परिवार समेत त्यागेर अगाडि बढ्छन्, त्यसैगरी महिलाले अगाडि बढ्न पाएका छैनन् । बन्धनमा रहेका महिलाहरूले स्वतन्त्रताको अर्थ बुझ्न नसकेर महिलाहरू यौनहिंसाको सिकार बन्न पुग्छन् । आफू यौनहिंसामा परेको छु भनेर बुझ्न समेत समय लागेको छ । पुरूषप्रधान समाजलाई पल्टाएर महिला प्रधान बनाउने भन्ने पनि होइन । महिला अगाडि बढ्न हिम्मत र साहस चाहिन्छ । परिवार र समाजले साथ दिएमा बलात्कार हुन पाउने छैन । यौनशिक्षाको पूर्णरूपले ज्ञान पाएका महिलाहरू आफूलाई सुरक्षित बनाउन लागिपरेका हुन्छन् र सफल पनि भएका छन् । सलाम छ ती महिलाहरूलाई जसले यौनहिंसाविरूद्ध खुलेर विरोध गर्दै महिला न्यायको लागि सशक्त भूमिका खेल्दै हुनुहुन्छ ।
बलात्कार आजको मात्र समस्या भने होइन । हुनसक्छ मानव सभ्यातासँगै सुरू भएको हो कि । त्यसबेला गरिने जबरजस्तीकरणीलाई बलात्कार भनिएन सायद । मानव सभ्याता आधुनिकताले बढाउँदै लग्यो । हिजो र आज संसार पूर्णरूपमा बदलिएको छ । एकपल्ट तपाई पुरूषले मनन गर्नुस् कि मैले कति सम्मान गरेको छु अथवा छैन भनेर । ५८ वर्षे पुरूषले ९ वर्षकी बालिकालाई बलात्कार गर्नुपर्ने कारण के हो ? कृपया मलाई कसैले भनिदिनुस् न । घरमा सुरक्षित भएमा समुदायमा सुरक्षित, समुदायमा सुरक्षित भए समाजमा एवम् रितले देशमै सुरक्षित हुन सक्छिन् । कहिले आउला छोरीले निस्फ्रिक्री भएर हिँड्न पाउने, रमाउन पाउने आदि ।
बलात्कार हुने पहिलो कारण आमा तथा चेलीबेटीको महत्व बुझ्न नसक्नु नै हो । बलात्कारीलाई कडा भन्दा कडा सजाय दिन नसक्नु भनेको बलात्कारीलाई उक्साउनु हो । जसोतसो समाए जस्तो गर्ने अनि भित्रभित्रै के के गरेर हिरासतबाट उम्काउने । बलत्कार भएपछि बलात्कार भएको प्रमाण खोज्छ अदालतले,आफै सोच्नुस एक बलात्कृत चेलीले कसरी प्रमाण दिन सक्छिन् ? भत्किएको मन अनि चुँडिएको भविष्यको कसलाई मतलव र यहाँ । बलात्कृत भएपछिको जीवन झन् कष्टप्रद हुदो हो । ओहो, सम्झिँदा मुटु च्वास्स घोच्दछ । महिलालाई निरीह बनाउने परिवार, समुदाय, समाज अनि सिंगो देश नै हो हरेक चेलीको बलात्कार हुनुको कारण । परिवर्तन चुट्कीको भरमा हुने प्रक्रिया त होइन तथापी बिस्तारै बदलिनु जरूरी छ । पुरूषलाई मात्र आरोप लगाउने मेरो मनसाय पटक्कै छैन, कतै महिलाको कारणले पनि चेली बलात्कृत भएकी छिन् । सामाजिक समस्यालाई उन्मुलन गर्न महिला र पुरूष दुवैको साथ र सहयोग आवश्यक छ । तपाईं जिम्मेवारीबाट पन्छिनु हुन्छ भने धिक्कार छ महिला र पुरूष दुवै प्राणीलाई । नेपाललाई कहिले बलात्कारमुक्त देश बनाउने ?