Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानमा खुकुरी र दाप व्यवसायी समस्यामा

हाम्रो कोशी आवाज
असार ६ २०७७, शनिबार
धरानमा खुकुरी र दाप व्यवसायी समस्यामा

धरान–१५ गोविन्द मार्गका घमानसिं बराइलीसँग उनको आरनमा ।

धरानः संकटमा परेको परम्परागत पेशा कच्चा पदार्थको सहज आपूर्ति र बजार ब्यवस्थापनमा सरकारले भरथेग गरे आर्थिक उपार्जनका लागि दरिलो माध्यम बन्ने ‘आरन’ सञ्चालकहरुले बताएका छन् ।
तीन पुस्तादेखि फलामका विभिन्न औजार बनाउन ‘आरन’ को काम गर्दै आएका धरान–१५ गोविन्दमार्ग निवासी घमासिंह बराइली खुकुरी र दाप निर्माण गर्ने कारखानाहरु आर्थिक उपार्जनका महत्वपूर्ण व्यवसाय भएको बताउँछन् । घमानसिंले भने, ‘यस व्यवसायलाई आधुनिकीकरण र व्यवसायिक बनाउन सम्बन्धित जाति तथा सीप र कलाका धनी व्यक्तिलाई उचित वातावरणको सृजना गर्न राज्यका सबै तहले नीति तथा कार्यक्रम तय गर्ने र सोही अनुसार संकटमा पर्दै गएको खुकुरी दाप निर्माण उद्योगलाई संरक्षण र विकास गर्न आवश्यक देखिन्छ ।’
घमानसिं अहिले ४५ वर्षका भए । उनले आरनमा घन ठोकेर नै आफ्नो ५ जनाको परिवार धानेका मात्र छैनन् आर्थिक क्षेत्रमा राम्रो प्रगति पनि गरेका छन् । हजुरबा हर्कबहादुर, बुबा चन्द्रबहादुर हुँदै घमानसिंले पनि आरनको काम गरे । अहिले आरनको काम गर्न र कृषिका विभिन्न औजार निर्माण गर्न कच्चा पदार्थको रुपमा अति आवश्यक सखुवाको कोइला र सत्तिसालको काठ सामुदायिक बनबाट प्रतिबन्ध लगाइएपछि आरनको काम गर्न निकै कठिन भएको बताउँछन् । उनी भन्छन्, ‘त्यसका लागि कच्चा पदार्थको सहज आपूर्ति, आर्थिक लगानीको सुनिश्चितता, सहुलियत व्याजदर र अनुदान समेत आवश्यक छ । यस पेशा तथा व्यवसायलाई प्रबद्र्धनका लागि सरकारले उचित बजार व्यवस्थापन गर्न जरुरी छ । यो पेशा संकटमा पर्नु व्यक्ति आर्थिक रुपमा कमजोर हुनुमात्रै होइन, राज्यको समग्र इतिहास धरापमा पर्नुका साथै परम्परागत कला, सीप र दक्षताको नष्ट हुनु हो । त्यसैले सरकारले ठोस नीति तथा कार्यक्रम बनाएर संकटमा परेको आरन पेशा तथा खुकुरी निर्माण व्यवसायको संरक्षण र विकास गर्नैपर्छ ।’
धरान–१७ रेल्वेचौकका कृष्ण रसाइली ३९ वर्षका भए । उनले ११ वर्षको उमेरदेखि नै खुकुरी बनाउन सिके । आरनमा फलामको काम गर्नु निकै चुनौती र जोखिमपूर्ण भएपछि वैदेशिक रोजगारीका लागि पनि खाडी मुलुकका विभिन्न देशमा भौतारिए । विदेशमा गरेको दुःख सम्झिएर उनले आफ्नै देशमा कडा मिहेनत र परिश्रम गर्ने निर्णय गरे । विदेशमा विभिन्न नयाँ प्रविधिको विकास देखेर उनी फेरी आफ्नै देशमा आए र नयाँ ढंगले आरन पेशालाई अगाडी बढाए ।
खुकुरी वा अन्य हात हतियार बनाउँदा आगोमा फलाम तताएर घन ठोक्नुपर्ने र त्यसका लागि ‘फाला’ हान्ने मान्छेको अभाव भयो । उनले आफ्नै दिमागबाट आधुनिक प्रविधिको जन्म गराएर घन ठोक्ने मेसिन तयार गरे । नेपालमा उनी यस्तो मेसिन निर्माण गर्ने पहिलो व्यक्ति हुन् । अहिले कृष्णको कारखानामा एक्लै काम चल्छ, घन ठोक्ने मानिसको आवश्यकता छैन । त्यो मेसिनका पाटपूर्जा समेत अधिकांश आफै बनाएका छन् ।
उनले परम्परागत पेशालाई आधुनिकीकरण गर्न निकै प्रयास गरे । कृष्णले बनाएको घन ठोक्ने मेसिन देखेर अन्य कालिगढहरु छक्क पर्छन् । उनको कला र सिपले उनलाई इन्जिनियर भन्न सुहाउँछ तर औपचारिक शिक्षा भने कक्षा ८ सम्म मात्र पढ्न पाएको कृष्णको भनाई छ । आफुसँग कला, सिप र क्षमता भएपनि राज्यबाट कहिल्यै वास्ता नभएकोमा उनको गुनासो छ । त्यसो त कृष्णलाई सरकारले आफ्नो कला र सिपलाई प्रोत्साहन गर्छ भन्ने रत्तिभर विश्वास छैन् । उनी भन्छन् ‘सरकार भनेको जनतासँग कर उठाएर खाने र आफ्ना आफन्तलाई खुवाउने मात्र हो । हामीजस्ता श्रमजीविलाई हेला, होचा र अपमान गर्छ । त्यसैले आफ्नो लागि आफै गर्ने हो सरकारबाट केहि आशा राखेको छैन र राख्दिन पनि ।’

सुस्मिता खुकुरी उद्योग धरान–१५ का सञ्चालक घमानसिं बराइली खुकुरी निर्माण गर्दै ।

स्थानीय सरकार धरान उपमहानगरपालिका प्रतिनिधि किशोर परियार कार्यपालिकाका सदस्य हुन् । दलित समुदायको हकहित र विकासका लागि धरान उपमहानगरपालिकामा दलित विकास समिति गठन भएको छ । विकास समितिका अध्यक्ष समेत रहेका किशोर परियारले दलित समुदायका विभिन्न जातजातिमा रहेको परम्परागत पेशा तथा व्यवसाय संकटमा परेको बताए । दलित समुदायले गर्ने सिलाई बुनाई परम्परागतबाट आधुनिक भइसके पनि फलाम र छालाको काम गर्ने पेशा आधुनिकीकरण भई नसकेको बताए । फलामको काम विश्वकर्माले र छालाको काम मिजारले मात्रै गरेका कारण पनि यो पेशा सम्मानित हुन नसकेको बताए । स्थानीय तहमा दलित समुदायका परम्परागत पेशा तथा व्यवसायलाई आधुनिकीकरण र व्यवसायिक बनाउन कार्यपालिकामा पटक पटक कुरा उठाउँदा स्थानीय सरकारको नीति तथा कार्यक्रममा सम्बोधन नगरेको बताए ।
दलित विकास समितिका सदस्य तथा सिर्जनशील ट्रेनिङ सेन्टर प्रालिका सञ्चालक डिल्लीराम शिवाले कुनै पनि तहका सरकारले परम्परागत सिप तथा व्यवसायलाई संरक्षण, प्रबद्र्धन र विकास गर्न ध्यान नदिएको बताउँछन् । दलित विकासका नाममा दुईचार लाख बजेट बिनियोजन हुने र त्यो पनि क्षमता विकासमा मात्र खर्च हुने भएकोले सरकारबाटै परम्परागत पेशा तथा व्यवसायलाई विकास गर्न नीति तथा कार्यक्रम बनाउनु पर्नेमा जोड दिएका छन् । सरकारले कच्चा पदार्थको आपूर्तिमा प्रतिबन्ध लगाउनु र उत्पादन भएका सामग्रीहरुको बजार व्यवस्थापन नगर्दा व्यक्तिको रोजगारी प्रत्यक्ष गुम्दै गएको र आश्रित परिवार झन् समस्यामा परेकोले स्थानीय, प्रदेश र संघीय सबै तहका सरकारबाट आफ्नो नीति तथा कार्यक्रममा समेटेर बजेट बिनियोजन गर्नुपर्ने बताए । धरान उपमहानगरपालिकाले त्यस्तो नीति बनाएमा कार्यान्वयन गर्न दलित विकास समिति तयार रहेको बताए ।
धरानबाट दलित समुदायको प्रतिनिधित्व गर्ने प्रदेश १ की सांसद उमिता विश्वकर्माले समेत दलित समुदायको परम्परागत पेशा तथा व्यवसायलाई संरक्षण, विकास र आधुनिकीकरण गरी व्यवसायिक बनाउन आफुले संसदमा पटक पटक आवाज उठाएको दाबी गरिन् । नीति निर्माणको तहमा आफ्नो समुदायको न्यून उपस्थिति हुँदा र आफ्ना आवाजहरुलाई वेवास्ता गर्दा परम्परागत पेशा तथा व्यवसाय गर्नेहरुका समस्या समाधान नभएकोमा दुःख लागेको बताइन् । यो समस्या निश्चित जातको वा व्यक्तिको नभई समाज सञ्चालनका लागि अत्यावश्यक भएको हुनाले सबै तहका सरकारबाट नीति तथा कार्यक्रम बनाई पर्याप्त बजेट बिनियोजन गर्नुपर्ने र त्यसको कार्यान्वयनका लागि संयन्त्रको निर्माण गर्नुपर्नेमा आफु दृढरुपमा लागि परेको बताइन् । संकटमा परेका पेशा तथा व्यवसायको संरक्षण र विकास गर्ने दायित्व राज्यको भएको र राज्यबाटै समाधान खोज्नुपर्नेमा जोड दिएकी छन् ।
खुकुरी बनाउनेको पीडाजस्तै खुकुरीका दाप बनाउने मिजार समुदायका श्रमिकहरुको समस्या पनि उस्तै रहेको छ । खुकुरी बनेपछि त्यसलाई राख्ने भाँडोलाई दाप भनिन्छ र उक्त दाप काठ र छालाबाट निर्माण हुन्छ । बाजेकै पालादेखि खुकुरीका दाप निर्माण गर्दै आएका धरान १७ रेल्वैकै ५१ वर्षका डम्बर विसुङ्खेको पनि पिडा उस्तै छ । उनी भन्छन् ‘मैले १० जनासम्म सहयोगी राखेर दाप निर्माण गर्दै आएको थिएँ । भुकम्प पछि पुरै व्यवसाय खस्कियो ।
अहिले आफ्नै परिवार पाल्न पनि निकै मुस्किल भएको छ । लकडाउनले त बेहालै बनायो । अब हाम्रो पुख्र्यौली पेशा पूर्णरुपमा बन्द हुने अवस्था छ ।’ डम्बर भन्छन् ‘दाप बनाउन हल्का काठ चाहिन्छ । सिमल, करम, कदम, खिर्रा जस्ता काठ चाहिन्छ । छाला पनि पाउनै मुस्किल छ । सामुदायिक बनले खुकुरी बनाउनेलाई कोइला नदिए जस्तै हामीलाई पनि काठ नदिँदा समस्या भएको छ । छाला त भारतको कलकत्ताबाट मगाउनुपर्छ, बिचौलियाबाट लिँदा महँगो हुन्छ । हाम्रो ज्यालामा बृद्धि भएको छैन तर कच्चा पदार्थ पाउनै छोड्यो । सरकारले खुकुरी तथा दाप निर्माणका लागि कच्चा पदार्थका रुपमा कोइला र काठ निकासा गर्न दिनुपर्छ र हामीले उत्पादन गरेका सामग्री विश्व बजारमा पु¥याउने बातावरण निर्माण गरिदिनुपर्छ ।’
३ वर्ष अघिसम्म धरानमा मात्रै ५ सय जना खुकुरी बनाउने कार्यमा संलग्न थिए कालिगढहरू । अहिले मुस्किलले ५० जना पनि नभएको खुकुरी व्यवसायी धरान–१० का तिलबहादुर सिन्च्युरी बताउँछन् । धरानमा खुकुरीको दाप बनाउनेहरू २ सयको हाराहारीमा ३ वर्षअघिसम्म थिए तर अहिले २० जना पनि पाउन मुस्किल हुने दाप निर्माण व्यवसायी संघका अध्यक्ष समेत रहेका डम्बर विसुङ्खेको भनाई छ ।

धरान १७ रेल्वेचौकका कृष्ण रसाइली घन ठोक्ने मेसिन कसरी बनाउन सफल भए र अहिले खुकुरी निर्माण पेशा कसरी संकटमा पर्यो भन्दै कुराकानीका क्रममा ।

दलित समुदायभित्र पर्ने विश्वकर्मा जातिका मानिसहरुले परम्परा देखि नै खुकुरी निर्माण र मिजार (सार्की) जातिले दाप निर्माण गर्ने पेशा गर्दै आएका थिए । फलामका हातहतियार तथा औजार निर्माण गरेकै आधारमा कथित ‘कामी’ भनिएको र छालाको काम गरेकै आधारमा सार्की भनिएका यी जातिमा चेतनास्तर विकास हुँदै गएपछि सदियौदेखिको जातीय भेदभाव र अपमान सहन नसकेर पनि पुर्खौली पेशा छोड्नुपर्ने बाध्यता भएको धरान १५ बगरकोटका चन्द्रबहादुर विश्वकर्माको भनाई छ । सरकारले श्रमिकहरुको सम्मान गर्ने र गरिखाने बातावरण निर्माण गरे पलायन हुने स्थिति रोकिने उनको भनाई छ । खुकुरी र दाप बनाउने पेशा सम्मानित हुँन नसकेकै कारण गैरदलित समुदायले अपनाउन सकेका छैनन् ।
प्रथम तथा दोश्रो विश्वयुद्ध पश्चात् विश्वका विभिन्न देशहरुमा नेपालको खुकुरीले प्रसिद्धि कमायो र अन्तर्राष्टिूय बजारमा खुकुरीको माग बढेसँगै भोजपुर, संखुवासभा, तेह्रथुम, धनकुटा लगायतका पूर्वी पहाडी जिल्लाका विभिन्न क्षेत्रमा बसोबास गर्ने विश्वकर्मा तथा मिजारहरु धरानमा खुकुरी तथा दाप बनाउन कै लागि आए । कालिगढका रुपमा एउटै कारखानामा सयौंको संख्यामा काम गर्थे ।
धरानमा तिलबहादुर सिन्च्युरी, नवराज रामदाम, दिपक दर्नाल, गोविन्द रसाइली लगायतले यहि परम्परागत पेशा तथा व्यवसायबाट आफ्नो आम्दानीको राम्रो श्रोत समेत बनाए । उनीहरुले आफ्नो कारखानामा १ सय भन्दा बढि कालिगढहरु राख्थे । महिनामा करोडौंको कारोबार गर्थे तर पछिल्लो पटक धेरै कारखानाहरु बन्द भए । अहिले मुस्किलले २० वटा कारखाना त्यो पनि सञ्चालक आफै कालिगढ भएर धानिरहेको धरान १७ दियालो मार्गका बुद्धिमान रसाइलीले बताए । अहिलेको बजार मूल्य अनुसार ६ सय देखि ४ हजारसम्म प्रतिगोटा खुकुरीको दाम पर्ने गरेको छ भने दापलाई समेत ७० रुपैया देखि २ हजार सम्म पर्ने गरेको छ । काम चल्दा १ हजार रुपैया भन्दा बढि दिनमा कालिगढहरुले आम्दानी गर्दै आएका छन् ।
विश्वकर्मा समाजका महासचिव समेत रहेको घमानसिं बराइलीले विश्वकर्माहरु श्रमजीवि वर्ग भएको तर राज्य र समाजबाट अपहेलित हुनुपरेका कारण भावी पुस्ताले आरनको काम गर्न नमानेको बताए । उनि भन्छन् ‘मैले धेरै ठूलो सपना बुनेर उद्योग दर्ता गरे तर राज्यका कुनै तहबाट सहयोग भएन । हामीसँग कर असुले पनि हामीलाई चाहिने आधारभूत कच्चा पदार्थको सहज आपुर्ति समेत भएन । खुकुरीको माग विश्वभरी नै छ तर सरकारले कोइला र सत्तिसालको काठ समेत नदिँदा पूर्ण रुपमा पेशा नै बन्द हुने अवस्थामा छ । हामी त पेशा परिवर्तन गरेर भएपनि जिउँछौं तर राज्यले ठूलो सम्पत्ति गुमाउँदैछ ।’ १ सय जना भन्दा बढि कालिगढ राखेर सञ्चालन भएको धरान १६ विद्युत मार्गको नवराज खुकुरी उद्योग अहिले बन्द भएको छ । उद्योगकी सञ्चालक अमृता रामदाम भन्छिन् ‘हामीले गरेको पेशा तथा व्यवसायलाई राज्यले कहिल्यै सहयोग गरेन । एक जना श्रमिकले दिनमा १ हजार रुपैयाँभन्दा बढि आम्दानी गर्न सक्ने यो पेशा भएपनि सरकारले काम गर्ने बातावरण नबनाई दिँदा डामाडोल भयो । खुकुरी उत्पादनका लागि चाहिने कोइला र काठ नपाउँदा पत्थर कोइला चलाउन बाध्य हुने र खुकरीको बिँडको काठ नहुँदा महँगोमा विदेशबाट सिङ मगाउनु पर्छ त्यसैले यो पेशा अब संकटमा परिसकेको छ ।’
चालिस वर्षदेखि खुकुरी कमाएर नै जीविकोपार्जन गर्दै आएका धरान–१५ निराजनवस्तीका शुक्र रसाइली परम्परागत पेशा सरकारले तत्काल नीति तथा कार्यक्रम बनाएर संरक्षण र विकासको कदम अघि नबढाए बन्द हुने अवस्थामा पुगेको बताउँछन् । उनको तर्क छ ‘खुकुरी बनाउन जान्नेहरु नेपालभरी दश हजार भन्दा बढिको संख्यामा थिए तर अहिले प्रायले जिवीकोपार्जनका लागि अर्कै विकल्प रोज्न थालेका छन् । हामी बुढापाकाहरु अरु पेशा पनि जानेका छैनौ, यही पेशा गरेर बाँच्न सक्ने अवस्था पनि छैन, हाम्रो बिजोग भो, खाना खान नै धौ धौ भयो । बल र उमेर हुञ्जेल यहि पेशामा लाग्यो अहिले बुढेशकालमा मागेर खाने दिन आइसक्यो, त्यसैले मेरो छोराहरु अन्य पेशामा लागिसके ।’
खुकुरी निर्माण व्यवसायी संघ र दाप निर्माण व्यवसायी संघ अहिले निस्क्रिय अवस्थामा छन् । संघले कालिगढ र व्यवसायीहरुको हक, हित र अधिकारका लागि भन्दा पनि व्यक्तिगत फाइदाका लागि मात्रै क्रियाशील हुन थालेपछि संघ अघि नबढेको धरान १७ फोक्ल्याण्ड चारघरेका खुकुरी निर्माण तथा व्यवसायमा संलग्न पवन विश्वकर्माले बताए । दाप निर्माण व्यवसायी संघका अध्यक्ष डम्बर बिसुङ्खेले भने संघमा कालिगढ र व्यवसायी भन्दा बाहिर रहेका व्यक्तिहरु चलखेल बढि गर्ने र बिचौलियाका रुपमा क्रियाशील हुन थालेपछि स्वतः निस्क्रिय भएको बताए । संघका माग तथा समस्या स्थानीय सरकार र प्रतिनिधिलाई पटक पटक ज्ञापन पत्र बुझाउँदा समेत वेवास्ता भएपछि निस्क्रिय रहेको बताए ।
सरकारले खुकुरी तथा दाप निर्माण गर्ने कालिगढहरुको कुनै अभिलेख राखेको छैन । ९० प्रतिशत कारखानाहरु दर्ता भएका छैनन् । धरानमा कालिगढहरुले बनाएका खुकुरी ठेकेदारले संकलन गर्छन् र उनीहरुले काठमाण्डौंमा अन्य व्यापारीलाई बेच्छन् । काठमाण्डौंका ठूला व्यापारीले चाइना, हङकङ, बेलायत, अमेरिका लगायतका देशमा पठाउँछन् । खुकुरी नेपाल, भारत, बेलायत लगायतका सैनिकहरुले अनिवार्य प्रयोग गर्दै आएका छन् । धरानमा भोजपुरे, सिरुपाते, धनकुटे लगायतका खुकुरी निर्माण हुँदै आएका छन् । ति हातहतियार सुरक्षा तथा कृषि औजारका रुपमा समेत प्रयोग भएको पाइन्छ । सजावटका लागि कोथिमोडा खुकुरी बजारमा निकै महङ्गोमा बिक्री हुने गरेको छ । एउटा खुकुरीको दापमा चाँदीले मोडेको र विभिन्न डिजाइन निकालेका कारण १० हजार प्रतिगोटा समेत बिक्री हुने गरेको पुनम ज्वेलर्सका सञ्चालक गोविन्द विश्वकर्माले बताए ।
घरेलु तथा साना उद्योग कार्यालय इटहरीका निमित्त प्रमुख उद्योग अधिकृत विशेश्वर रेग्मीले खुकुरी निर्माणकर्ताहरु उद्योग दर्तामा कम मात्र आउने गरेको बताउँछन् । सामान पठाउन सजिलो होस् र ऋण चाहिने भयो भनेमात्र कार्यालयमा ठेकेदारहरु दर्ता गर्न आउने गरेको तर निर्माणकर्ताहरु असंगठित रुपमा परम्परागत शैलीमा नै पेशा व्यवसाय गरेको पाइएको बताए । उनले कार्यालयमा अनिवार्य दर्ता गरेर अघि बढ्न र राज्यले दिएका विभिन्न सुविधा लिन सजिलो हुने भएकोले सबैलाई दर्ता गर्न आग्रह गरे ।
खुकुरी निर्माण व्यवसायी संघ धरानका अध्यक्ष दीपक दर्नालले अहिले व्यवसाय नै धरापमा परेकोले संघ समेत निस्क्रिय भएको बताए । उनले धरानबाट मात्रै बार्षिक १० करोड भन्दा बढिको कुखुरी निकासा हुने गरेको जानकारी दिए । राज्यले भरथेग गरे व्यवसायीहरु विश्व बजारमा खुकुरी निकासी गर्न तयार रहेको बताए ।
परम्परागत सीप तथा व्यवसायको प्रबद्र्धन गर्नका लागि १ नम्बर प्रदेश सरकारले आर्थिक वर्ष २०७७।०७८ को नीति तथा कार्यक्रममा सम्बोधन गरेको छ । एक नम्बर प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रबहादुर आङबोद्वारा प्रदेश सभामा प्रस्तुत नीति तथा कार्यक्रममा भनिएको छ( ‘स्वदेशी श्रम, सीप, स्थानीय कच्चा पदार्थ, श्रोतको उपयोग गरी घरेलु तथा साना उद्योगको विकास गर्ने उद्धेश्यका साथ गरिबी निवारणका लागि लघुउद्यम विकास कार्यक्रम सञ्चालन गरिएको छ । हालसम्म १० हजार ६ सय ७४ नयाँ लघुउद्यम संस्था विकास भएका छन् । ९ हजार ६ सय ६० लघुउद्यम संस्थाहरु स्तरोन्नति भएका छन् ।’ मन्त्री इन्द्रबहादुर आङबोले कृषि, पर्यटन र उद्यमशीलतालाई प्राथामिकतामा राखिएकोले परम्परागत पेशा व्यवासायको संरक्षण र विकासमा सरकारले सहयोग गर्ने बताए ।
यतिबेला कोरोना भाइरसको संक्रमणका कारण त्यसको रोकथाम, नियन्त्रण र उपचारका लागि पुरै विश्वको ध्यान गएको छ । नेपालमा ०७६ चैत्र ११ देखिको बन्दाबन्दी (लकडाउन) ले गर्दा उत्पादन प्रक्रिया र बजार व्यवस्थापन ठप्प भएको छ । केहीदिन यता बन्दाबन्दीमा खुकुलोपन अपनाइए पनि खुकुरी तथा दाप निर्माण गर्नेहरुले काम सञ्चालन गर्न सकेका छैनन् । करिब ३ महिनासम्म घरमा बसेर खानुपर्दा र आफ्नो काम नचल्दाको पीडाबाट सहजै छुटकारा पाउने अवस्था छैन ।
परम्परागत पेशा तथा व्यवसायका रुपमा सञ्चालन हुँदै आएको आरन र त्यसमा पनि खुकुरी निर्माण गर्नेहरुलाई कच्चा पदार्थको सहज आपूर्ति, तत्काल बिना धितो सहुलियत ऋण तथा अनुदानको आर्थिक प्याकेजको व्यवस्था र बजार व्यवस्थापनको भरपर्दो सुरक्षित वातावरण उपलब्ध गराएमा संकटमा परेको खुकुरी निर्माण व्यवसाय थप उत्साहका साथ अघि बढ्ने देखिन्छ । बैदेशिक रोजगारीका लागि विभिन्न देशमा पुगेका युवाहरु स्वदेश फिर्ति हुने सम्भावना बढी भएकोले उनीहरुलाई यस पेशा तथा व्यवसायमा आबद्ध गराउँदा रोजगारको वातावरण सृजना हुनुका साथै नेपालले आयश्रोतको क्षेत्रमा ठूलो उपलब्धी हासिल गर्नसक्छ । त्यसैले संकटमा परेको परम्परागत पेशा तथा व्यवसाय खुकुरी उत्पादनको क्षेत्रमा सरोकारवाला पक्षले सम्भावित लाभलाई मध्यनजर गर्दै अघि बढ्न आवश्यक छ ।

प्रकाशित मिति: असार ६ २०७७, शनिबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend