धरानः अन्ततः डिभी भरेका करिब २६ सय नेपाली जान नपाउने भएका छन् ।
सन् २०२० का लागि फर्म भरेका २६ सय बढी नेपाली अमेरिका जान रोकिएका हुन् । कोरोना भाइरसको महामारीका कारण आप्रवासीहरूलाई सन् २०२० को अन्त्यसम्म नै प्रवेशमा रोक लगाएपछि डिभी लोटरी परेका नेपाली पनि अमेरिका जान नपाउने भएका छन् ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कार्यकारी आदेशमार्फत सन् २०२० को अन्त्यसम्मका लागि कामदार भिसा र अधिकांश आप्रवासी भिसामा रोक लगाएपछि सन् २०२० का लागि डिभीमा छनौट भएका नेपालीहरूले पनि भिसा नपाउने भएका हुन् । अप्रिल २३ देखि लागु गरिएको आप्रवासन भिसाको प्रतिबन्ध बढाएर डिसेम्बरको अन्त्यसम्म बनाइएको छ ।
उनीहरूले आगामी सेप्टेम्बरको अन्त्यसम्मा भिसा पाइसक्नुपर्ने नियम रहेकोमा डिसेम्बरको अन्त्यसम्म लगाएको आप्रवासन रोकले भिसा नपाउने निश्चित भएको छ । सेप्टेम्बरसम्म भिसा नपाएपछि सन् २०२० को डिभी समाप्त हुने नियम रहेको छ । डीभी लोटरीका लागि भिसा फर्म भरेर अन्तरवार्तामात्र कुरेकाहरुको भिसा शुल्क के हुने भन्नेबारे केही बताइएको छैन ।
सन् २०२० मा ३ हजार ६९६ जना नेपालीलाई डीभी लोटरी परेकोमा १ हजार ६९ जनाले भने भिसा प्राप्त गरिसकेका थिए । सन् २०२१ को डीभीका लागि छनौट भएकाहरुले पनि आउदो जनवरीअघि भिसा नपाउने भएका छन् ।