काठमाडौंः कांग्रेसले पार्टीको महाधिवेशन आगामी फागुनको पहिलो साता गर्ने निर्णय गरेको छ । कोभिड–१९ संक्रमणका कारण तीन महिना पार्टीका सबै गतिविधि ठप्प भए पनि केन्द्रीय महाधिवेशन भने यसअघि तोकिएकै मितिमा गर्ने पार्टीको केन्द्रीय समिति बैठकले निर्णय लिएको हो ।
केन्द्रीय कार्यसमितिको सोमबार सम्पन्न बैठकले प्रदेश, जिल्ला, निर्वाचन क्षेत्र, पालिका र वडा तहको अधिवेशनको तालिका भने परिमार्जन गर्ने निर्णय गरेको छ । बैठकले समायोजनको काम साउन १० गते भित्र सक्ने लक्ष्य लिएको छ । क्रियाशील सदस्यताको वितरण, नवीकरण साउन मसान्तभित्र सक्ने र भदौ मसान्तभित्र सदस्यताको सूची केन्द्रमा पठाई सक्न मातहतका स्थानीय निकायलाई निर्देशन गरेको छ ।
सरकारमा जाँदैनौंः प्रवक्ता शर्मा
कांग्रेसले जनताको म्याण्डेटअनुसार पाँच वर्ष प्रतिपक्षमै बस्ने जनाएको छ । सत्तारुढ नेकपा आन्तरिक विवादका कारण फुटको संघारमा पुगेको अवस्थामा कांग्रेसले सत्ता सहकार्यका लागि कांग्रेस अहिले तयार नरहेको बताएको हो । शर्माले सोमबार भनेका छन्, ‘नेकपाको दुवै पक्षले कांग्रेस छलफल गर्न चाहेको छ । तर उहाँको विवादमा हामी तटस्थ बस्छौं । जन भावनाअनुसार कांग्रेसलाई पाँच वर्ष प्रतिपक्षमा तयार छ ।’