काठमाडौंः नेपालमा पछिल्लो २४ घण्टामा थप १०८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । अघिल्लो दिनको भन्दा पनि यो कम हो ।
यो पछिल्लो समय एकैदिन थपिनेको सबैभन्दा कम संख्या हो । पछिल्लो २४ घण्टामा ४ हजार ५८८ जनाको पीसीआर परीक्षण गरिएको थियो ।
बिहीबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले देशभरका परीक्षण केन्द्रमा गरिएको आरटीपीसीआर परीक्षणमा थप १०८ जनामा कोरोना पोजिटिभ देखिएको बताए ।
योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १६ हजार ५३१ पुगेको छ । यस्तै पछिल्लो २४ घण्टामा थप १३९ जना कोरोना मुक्त भएर विभिन्न आइसोलेसन केन्द्रबाट डिस्चार्ज भएका छन् । योसँगै नेपालमा कोरोना निको हुनेको संख्या ७ हजार ८९१ पुगेको छ ।
संक्रमितमध्ये प्रदेश १ बाट २ जना मात्रै छन् । सुनसरीका १, झापाका १ जनामा मात्रै कोरोना पुष्टि भएको छ ।
यस्तै, सप्तरीका २, धुनषाका २, सिरहाका ४, दार्चुलाका १, डोटीका २, काठमाडौंका ५, नुवाकोटका १, सर्लाहीका १, चितवनका ४, नवलपरासी पूर्वका १, मकवानपुरका १, बागलुङका ३, सिन्धुपाल्चोकका १, तनहुँका २, म्याग्दीका २, गोरखाका २, कास्कीका ४, लमजुङका ५ , बाँकेका २, दाङका ७, दैलेखका ३, मुगुका २, सुर्खेतका १८, बझाङका १६, अछामका ४, बाजुराका २, कञ्चनपुरका २ र कैलालीका ८ जना रहेका छन् ।
मन्त्रालयका अनुसार बिहीबारसम्म पीसीआर विधिबाट २ लाख ७१ हजार १४५ परीक्षणहरु गरिएका छन् र २४ घन्टामा ४ हजार ५ सय ८८ परीक्षण भएका छन् । हालसम्म क्वारेन्टाइनमा रहनेको संख्या २४ हजार ४२५ जना रहेका छन् । त्यसैगरी आइसोलेसनमा रहनेको संख्या ८ हजार ६०५ जना छ ।
मन्त्रालयका प्रवक्ता गौतमले संक्रमितको संख्या कम भएपनि हेलचेक्र्याइँ नगर्न आग्रह गरेका छन् । उनले हेलचेक्र्याइँ बढेकाले स्थिति भयाभह हुनसक्ने भन्दै सचेत रहन अपिल गरे । उनले अब संक्रमण कम गर्न सबै सचेत नभए फेरी बढ्ने चेतावनी दिए ।