धरानः नेपालमा बितेको २४ घण्टामा ८२ जना संक्रमित थपिएको जनाइएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्वारा आइतबार आयोजित नियमित पत्रकार सम्मेलनमा ८२ जनामा कोरोना संक्रमित थपिइएको जनाइएको हो । योसँगै संक्रमितको संख्या १६ हजार ८०१ पुगेको छ ।
पछिल्लो २४ घण्टामा ३ हजार ९ सय १६ नमूना परीक्षण भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । दैनिक ७ हजारभन्दा माथि पुगेको परीक्षण घटेर अहिले ३ हजारमा झरेको हो । परीक्षण घट्दा संक्रमण पुष्टि हुने दर पनि घटिरहेको छ ।
परीक्षण निरन्तर घटिरहँदा नेपालमा कोभिड(१९ पुष्टि हुनेको दैनिक संख्या पनि घट्ने क्रममा छ । लगातार दोस्रो दिन कोरोना संक्रमितको संख्या दोहोरो अंकमा सीमित भएको छ ।
प्रदेश १ का मोरङमा २ र झापामा १ जनामा कोरोना पुष्टि भएको छ । यस्तै, काठमाडौंका ५, चितवनका ५, बाग्लुङका २, पर्वतका २, डडेल्धुराका २, कैलालीका २, रुकुम पश्चिमका २, लमजुङका २, धनुषाका १९, सुर्खेतका ११, कालीकोटका ७, तनहुँका ६ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।
यस्तै, सर्लाही १, सिन्धुपाल्चोक १, मकवानपुर १, सिन्धुली १, ललितपुर १, सोलुखुम्बु १, नवलपुर १, स्याङ्जा १, गोरखा १, गुल्मी १, पाल्पा १, दैलेख १, बझाङ १, दार्चुला १ जनामा कोरोना देखिएके छ ।
संक्रमितमध्ये ८ हजार ५ सय ८९ जना निको भएर घर फर्किएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. गौतमले जानकारी दिए । पछिल्लो २४ घण्टामा १ सय ४७ जना डिस्चार्ज भएको प्रवक्ता गौतमले बताए । उनका अनुसार कुल संक्रमितको ५१.१ प्रतिशत निको भएर डिस्चार्ज भएका छन् ।