धरानः फेरि वर्षा सक्रिय हुने भएको छ । केही कम हुँदै गएको वर्षा साउन ४ गते रातिदेखि फेरि बढ्ने सम्भावना देखिएकाले उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ ।
जल तथा मौसम विज्ञान विभागले सबैलाई आग्रह गर्दै भनेको छ–श्रावण ५–८ गते सम्म कन्काइ, सप्तकोशी र सहायक नदी तमोर, अरूण, सुनकोशी, कमला, बागमती, नारायणी, तिनाउ, पश्चिम राप्ती, बबई, कर्णाली र यसका सहायक नदीमा बहाव बढ्ने, केहीमा सतर्कता पुग्न सक्ने, तटीय क्षेत्रमा उच्च सतर्कता अपनाऔं ।
विभागले जारी गरेको प्रेस विज्ञप्तिअनुसार साउन ४ गते रातिदेखि मनसुनको न्यून चापीय रेखा नेपाल नजिक आउने भएकाले त्यसको ३–४ दिनसम्म देशका धेरैजसो स्थानमा हल्कादेखि मध्यमसम्म तथा केही स्थानमा भारी साथै एक–दुई स्थानमा अति भारी (ज्यादै ठूलो) वर्षा हुने सम्भावना छ ।
विशेषगरी साउन ५ देखि ८ गतेसम्म व्यापक र ठूलो वर्षा हुने जसका कारण देशव्यापी रूपमा बाढीपहिरोको जोखिम देखिएकाले विशेष पूर्वतयारी र उच्च सतर्कता अपनाउन विभागले सम्बन्धित सबैलाई सुझाव दिएको छ ।