धरानः सरकारको निर्णयअनुसार सवारीसाधन सञ्चालन गर्न व्यवसायीहरु तयार भएका छन् ।
सरकारले असार २६ गते सवारी सञ्चालन गर्ने निर्णय गरेपछि विभिन्न माग राख्दै आएका व्यवसायीहरु भोलिदेखि यातायात सञ्चालन गर्न तयार भएका हुन् । आइतबार यातायात व्यवस्था विभागमा भएको छलफलमा व्यवसायीहरुले भोलिदेखि यातायात सञ्चालन गर्ने बताएका छन् ।
विभागका महानिर्देशक गोगन बहादुर हमालले भोलि (सोमबार) बिहानबाट यातायात सञ्चालन गर्ने बताए ।
कोभिड संक्रमणको डर अझै रहेकाले स्वास्थ्य सुरक्षाका सम्पूर्ण उपाय कडाईका साथ पालना गर्न पनि उनले आग्रह गरे ।
सार्वजनिक यातायात केन्द्रीय महासंघका वरिष्ठ उपाध्यक्ष किरण कुमार रिजालले व्यवसायीहरुले उठाउँदै आएका मागहरु मौद्रिक नीति मार्फत समेटिएकाले यातायात सञ्चालन गर्ने निर्णय भएको बताए ।
सार्वजनिक सवारीहरु चल्न सुरु गर्ने नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौलाले बताए ।
यातायात व्यवसायीका छाता संगठनहरुले विभिन्न माग राख्दै सवारी नचलाउने निर्णय गरेका थिए । बैंकको किस्ता सार्नुपर्ने, सुहलियत ब्याजदरको पुनर्कर्जा दिनुपर्ने लगायतका माग सम्बाधेन भएकाले सार्वजनिक सवारी चलाउन अब सहज अवस्था बनेको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सिटौलाले बताए ।