धरानः झण्डै पाँच महिनापछि हवाई उडान सुरु हुने भएपछि पुरानै भाडादर कायम गरेर उडान गर्ने तयारी नागरिक उड्ययन प्राधिकरणले गरेको छ ।
नागरिक उड्ययन प्राधिकरणका प्रवक्ता राजकुमार क्षेत्रीले एक साताको आन्तरिक उडानमा के—के गर्ने भन्ने निर्णय गरेर पर्यटन मन्त्रालयल पठाएको बताए ।
सरकारले गत चैत ११ गतेदेखि लागू गरेको बन्दाबन्दी (लकडाउन) यही साउन ६ गते अन्त्य भइसकेको छ । कोरोना भाइरस (कोभिड–१९) को संक्रमण देखिएसँगै बन्द भएको आन्तरिक उडान भदौ १ गतेदेखि खुला भएपनि साविकको भन्दा ७५ प्रतिशत कम उडान गर्नेगरी नेपाल नागरिक उड्डयन प्राधिकरण तयारी गरिरहेको छ ।
यात्रुको सुरक्षा जोखिमलाई ध्यान दिँदै दैनिक ३० उडान गर्ने तयारी गरे पनि क्यानले केही उडानहरु थप्न सकिने विषयमा पनि छलफल गरिरहेको छ । केही एयरलाइन्सहरुले उडान संख्या थप्न सुझाव दिएका थिए ।
यता बायुसेवा सञ्चालकहरुले पनि यात्रु संख्या कम भएपनि पुरानै भाडादरमा उडान गर्ने तयारी गरेका छन् । केही एयलाइन्सहरुले पुरानै भाडादर कायम गरेर अग्रिम टिकट बुकिङ समेत खुलाइसकेका छन् । एयरलाइन्सहरुले स्वास्थ्य प्रोटोकल तयार गरेर स्वीकृति समेत लिइसकेका छन् । वायुसेवा सञ्चालकका कोषाध्यक्ष रुपेश जोशीले सबै एयरलाइन्सले आफ्नो तर्फबाट गर्ने काम पूरा गरेको बताए । सरकारले ३३ प्रतिशत मात्र उडान गर्न अनुमति दिएको उनको भनाइ छ ।