धरानः नेपालमा थप २ सय १० जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनासंख्या मन्त्रालयले नियमित पत्रकार सम्मेलन गरी बुधबार सो संख्यामा संक्रमित थपिएको बताएको हो ।
मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमका अनुसार रौतहट र कैलालीमा ५ सय बढी संक्रमित रहेका छन् । हालसम्म सक्रिय संक्रमित ५ हजार २ सय ३ जना रहेको उनले बताए । ३ लाख ५८ हजार ३ सय ४४ जनाको हालसम्म पीसीआर परीक्षण भएको गौतमले जानकारी दिए । उनका अनुसार नेपालमा संक्रमितको संख्या १९ हजार २७३ पुगेको छ ।
हालसम्म १४ हजार ४ सय ७१ जना क्वारेन्टिनमा रहेका छन् । पछिल्लो २४ घण्टामा १ सय ४६ जना डिस्चार्ज भएका छन् । हालसम्म डिस्चार्ज हुने संख्या १४ हजार २१ जना पुगेको उनले जानकारी दिए ।
कहाँ कति थपिए ?
स्वास्थ्य मन्त्रालयका अनुसार मोरङका ८, सुनसरीका १, सप्तरीका २, सर्लाहीका १, धनुषाका १२, महोत्तरीका १३, पर्साका ३४, भक्तपुरका १, धादिङका ७, कपिलवस्तुका २ जना रहेका छन् ।
यस्तै काठमाडौका १४, नवलपरासीका २, रौतहटका १,महोत्तरीका १, बागलुङका ७, स्यङजाका २६, म्याग्दीका २, तनहुँका १, सुर्खेतका १, बैतडीका २, डोटीका ५२, कैलालीका ८ तथा कञ्चनपुरका ८ जनामा संक्रमण पुष्टि भएको हो ।
सुनसरी र मोरङमा मात्रै आजै ९ जना थपिए
यस्तै, प्रदेश १ को सुनसरी र मोरङमा मात्रै ९ जना नयाँ संक्रमित थपिएका छन् । विराटनगरस्थित सामाजिक विकास मन्त्रालयका अनुसार मोरङको विराटनगर महानगरपालिकामा ३ पुरुष र १ महिलाको पीसीआर रिपोर्ट पोजेटिभ आएको हो ।
त्यसैगरी मोरङको मिक्लाजुङ गाँउपालिका २ पुरुष, सुनवर्षी नगरपालिकामा २ पुरुष, रंगेली नगरपालिकामा १ महिलामा संक्रमण पुष्टि भएको हो । धरान उपमहानगरपालिकामा १ जना पुरुषमा समेत कोभिड १९ संक्रमण पुष्टि भएको मन्त्रालयका प्रवक्ता डा. सुरेश मेहताले जानकारी दिए ।