‘कुलुङले कुलो खन्यो,
थुलुङले थुन्यो ।
सोताङले सोध्यो,
खालिङले खोल्यो ।’
माथिको भनाइ मे, २००६ मा प्रकाशित ‘जनजाति सेरोफेरो’ नामक आफनो किताबमा स्व. डा. हर्क गुरुङले उद्धृत गरेका छन् । जुन भनाइ गुरुङले लेखेको ‘भिग्नेटस् अफ नेपाल’ नामक अंग्रेजी किताबमा पनि उल्लेख छ । त्यस्तै ‘जनजाति सेरोफेरो’ नामक किताबमा संकलित २६ वटा लेखमध्ये अन्तिम अर्थात् २६ औं लेख ‘आदिवासी, जनजाति सूचीकरणः अवधारणा र अनुभव’ शीर्षक लेखको पाना–१९६ मा पनि माथिको भनाइ डा. गुरुङले उल्लेख गरेका छन् ।
स्वर्गीय डा. हर्क गुरुङले जनजाति सेरोफेरोमा सो भनाइ पूर्वमा रहेको लोकगीत भनी प्रस्ट्याउँदै उल्लेख गरेका छन् । हुन पनि विसं २०६८ को ११ औं राष्ट्रिय जनगणना अनुसारको नेपालमा १ सय २५ जातजाति र १ सय २३ भाषाभाषी रहेका छन् । यसरी हेर्दा वास्तवमै नेपाल विविध जातजाति र भाषाभाषीको साझा फुलबारी हो भन्न सकिन्छ । भलै राज्यले त्यही अनुसार नीति निर्माण नगर्नु अर्कै कुरो हो ।
विसं २०६८ को ११ औं राष्ट्रिय जनगणनामा उल्लेख भएका १ सय २५ जातजाति र १ सय २३ भाषाभाषी मध्येकै एक जाति हो ‘कुलुङ जाति’ त्यसअघि कुलुङ जातिलाई राई जातिमा गाभेको, गाभिएको थियो । त्यसो त अभैm पनि नेपाल सरकारको मातहतमा रहेको र आधिकारिक मानिएको र, तत्कालीन स्थानीय विकास मन्त्रालय अन्तर्गत रहेको ‘आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान’मा भने कुलुङ जातिलाई अन्य जातिसरह छुट्टै जातिका रुपमा सूचीकृत गरिएको छैन । यसो हुनुमा तत्कालीन श्री ५ को सरकार (हालको नेपाल सरकार), नेपालका समाजशास्त्री, मानवशास्त्री, जातिशास्त्री, नृवंशशास्त्री, भाषाशास्त्री (भाषाविद) का साथै आम मानिसहरुमा वास्तवमा राई’ के हो ? कुलुङ के हो, को हुन् ? भन्नेबारेमा वास्तविक कुरो थाहा नभएर वा भनौं बाहिर नआएर पनि हो । तर, अहिले भने धेरै हदसम्म नेपाल सरकार, नेपालका समाजशास्त्री, मानवशास्त्री, जातिशास्त्री, नृवंशशास्त्री, भाषाशास्त्री (भाषाविद) का साथै आम मानिसहरुमा वास्तवमा ‘राई’ जात वा जाति नभएर विगतमा, खासगरी नेपालको भगौलिक एकीकरणपछि शासकहरुले दिएको पगरी, पदवी मात्रै हो भन्ने बारेमा प्रष्ट हँुदै गएको छ ।
जे होस्, यो लेखमा कुलुङ को हुन् ? कुलुङ जातिको उत्पत्ति थलो कहाँ हो ? उनीहरुको ऐतिहासिक थलो भूमि छ, छैन ? कुलुङहरु अन्य जातिसरह स्वतन्त्र जातीय अस्तित्व भएको छुट्टै जाति हो, होइन ? कुलुङको जनसंख्या कति छ ? कुलुङ मातृभाषीहरु कति छन् ? आदि इत्यादिबारे आम पाठकहरुमाझ छोटकरीमा प्रस्ट्याउने प्रयास गरिएको छ ।


नेपालको हालसम्मको जातीय बनोटको आधारमा उदाहरण प्रस्तुत गर्दा मगर नेपालको एउटा जाति मानिन्छ । अनि जसरी मगरभित्र थापा, बराल, रज्जाली सिञ्जाली, सोमै, रखाल, आले, लाफा, गाहा आदि थरहरु हुन्छन्, त्यसरी नै कुलुङ भनेको पनि मगर भने जस्तै जाति हो भने मगरभित्र जसरी विभिन्न थरहरु छन्, त्यसरी नै कुलुङभित्र पनि विभिन्न थर, उपथरहरु छन् । जस्तै थिम्रा, लोवात्ती, ङोपोचो, तोङेर्बु, होनित्ति, बुक्खो, सोम्फोरु, देउराम, लाम्लछा, ताम्बुछा, तोर्ङो, सैमालुङ, पिदिसै, सूर्वा, राजित्ति, थोप, वारोखु, गोक्तुलु, वालाखाम, वादीरी, निमरस, वार्सी, तोमोछा, सेकछा, थोमरोस, मान्थेर्बु, मोल्थो, ङोपोचो, रोतेम्बु, हिमार, छाप्कोस, नमाखाम लगायत ३ सय ६० वटाभन्दा बढी कुलुङ जातिभित्र थर, उपथरहरु रहेको छ ।
कुलुङ जातिको मूल थलो अर्थात् कुलुङ जातिका पिता पर्खाले सुरुमा खाई खेली गरेको, चर्चेको मूलथलो सोलुखुम्बु जिल्लाको उत्तरपूर्र्वी क्षेत्रको बुङ, छेस्खाम, गुदेल, सोताङ, पावै आदि गाविसका विभिन्न स्थानहरु (हाल महाकुलुङ र सोताङ गाउँपालिका) हुन् भने यी ठाउँलाई कुलुङ जातिका मानिसहरु आफ्नो मातृभाषामा ‘मा कूलू’ भनी उच्चारण गर्छन् । स्मरणीय छ, सुरुमा कुलुङ जातिको वंश अर्थात् पूर्खाहरु चारजना थिए । उनीहरुको नाम ‘खप्दुलु’, ‘राताप्खु’, ‘ताम्सी’ र ‘छेम्सी’ हो । यसरी कुलुङको चार पूर्खामध्ये ‘खप्दुलु’ले पेल्माङ, पिल्मोमा, ‘राताप्खु’ले सत्तो, सोत्तो (सोताङ) मा, ‘ताम्सी’ले छेस्खाममा र ‘छेम्सी’ले छेम्सिमा वसोवास सुरु गरे । त्यस्तै कतिपय विदेशी लेखक तथा अन्वेषकहरु र नेपालका अन्य जातिहरुले ‘यो क्षेत्रलाई (केही समय अघिसम्म कुलुङ जातिको मात्रै एकल वस्ती रहेको) ‘महाकुलुङ’, ‘ग्रेटर कुलुङ’ भनेर चिन्दछन् । कुलुङ जातिको बाक्लो बसोवास सोलुखुम्बुको महाकुलुङ क्षेत्रबाहेक संखुवासभा, भोजपुर, सुनसरी, ईलाम, झापा, सुनसरी, मोरङ र भारतको दार्जीलिङ, सिक्किम लगायतका ठाउँहरुमा छ भने नेपालको तेह¥थुम, चितवन, धनकुटा, ताप्लेजुङ, पाँचथर, उदयपुर, सिराहा, कास्की, खोटाङ, काठमाण्डौ, ललितपुर, भक्तपुर, मुस्ताङ, धनुषा लगायत लगभग २३÷२४ जिल्लामा रहेको छ ।
२०६८ को जनगणना अनुसार कुलुङहरुको जनसंख्या केवल २८ हजार ६ सय १३ भए तापनि कुलुङ जातिको वास्तविक जनसंख्या कम्तीमा एकलाख ६० हजारभन्दा माथि हुन सक्ने, नेपाल किरात कुलुङ भाषा तथा संस्कृति उत्थान संघ (किरात कूलू गूसखोम), केन्द्रीय कार्यसमितिका महासचिव इन्द्र कुलुङ बताउंँछन् । वास्तवमा राईकरणको मारमा परेका सबै किरातीहरुको तथ्यांङ्क २०६८ को राष्ट्रिय जनगणनामा यसरी नै कम देखाइएको छ । कुलुङ जातिले आफ्नो मातृभाषालाई ‘कूलू रीङ’ भन्छन् ।
जहाँसुकै वसोवास गरेका कुलुङ भए तापनि कूलपितृ आदिमा कुलुङ जातिका मोप, नोक्छोहरुले ‘कुलु रिङ’मै रिदूम (अरुले मुन्धुम भन्छन्) फलाक्छन् । त्यस्तै २०५८–०५९ (यले दोङ ५०६१) मा चन्द्रसिंह कुलुङ, टंक सोम्फोरु, प्रकाश लोवात्ती कुलुङ (यो पंक्तिकारको त्यो बेलाको लेख्ने नाम), पत्तिबहादुर सोम्फोरु, मेखबहादुर कुलुङ, सूर्यबहादुर कुलुङ, इन्दिरा कुलुङ, पाण्डु राजित्ति लगायतको सक्रियतामा भाषाविद्हरु अमृत योन्जन तामाङ र डा. माधव पोखरेलको सहयोगमा कुलुङ भाषाको स्वर वर्ण र व्यञ्जन वर्ण पहिचान गरिएको थियो । त्यस अनुसार कुलुङ भाषामा २१ वटा व्यञ्जन वर्ण र १२ वटा स्वर वर्ण पहिचान गरिएको छ । कुलुङ भाषामा दीर्घ नभएकोले लिपिवद्ध गरिदा दीर्घलाई हूस्व मान्ने र दीर्घ जनाउदा विसर्ग (ः) दिने वा ः चिन्ह प्रयोग गर्ने व्यवस्था गरिएको छ ।

कुलुङ जातिको अरु जातिको भन्दा भिन्न प्रकारको संस्कार(संस्कृतिहरु रहेक छ । जन्मदेखि मृत्युसम्ममा आफ्नै जातिका पूर्खाले मूख्य भूमिका खेल्छन् । जहाँसुकैका कुलुङले पनि मृत्युपछि मृत्यु संस्कार गर्दा मृतक (मृत आत्मा) को आत्मालाई महाकुलुङको पोम्लालुङ भन्ने ठाऊँमा पठाउनु पर्छ । कुलुङ समुदायमा चलेको विश्वास र मान्यता अनुसार यो (पोम्लालुङ) नै कुलुङ जातिको लागि ‘स्वर्ग’ हो । मृतकलाई यसरी ‘स्वर्ग’ अर्थात् पोम्लालुङ पठाउँदा पुग्नुअघि मृतकलाई पानी पिउन दिने ठाऊँ छ । यो ठाऊँलाई ‘पोम्ला काउ’ भनिन्छ । यो ‘पोम्ला काउ’ भन्ने ठाऊँ महाकुलुङ गाउँपालिकाको वडा नम्बर(२ पेल्माङमा पर्छ । मृतात्मालाई पठाइने कुलुङहरुको स्वर्ग अर्थात् ‘पोम्लालुङ’ तत्कालीन गुदेल गाविसमा पर्छ । जुन स्थललाई कुलुङ जातिले पवित्र स्थल मान्ने गर्छन् । विवाहमा चेली पक्षकाले ज्वाइँ पक्षलाई सुक्तुलू (चुल्हा) मा दी (जाँड) र हाङ्मुवा (रक्सी) चढाउँदै वागदत्ता दिएर सम्पूर्ण रुपमा सुम्पने गरिन्छ । सामान्यतया कुलुङहरु २ पटक विवाह गर्दछन् । पहिलो विहेसम्म चेलीको मृत्यू भइहालेमा माइतीले नै काजक्रिया गर्नुपर्छ । दोश्रो विवाह छिन्ती विवाह हो जसलाई ‘दाप्लो कुइम’ भनिन्छ ।
त्यस्तै, कुलुङ जातिको आफ्नै जातीय पहिरन र गरगहनाहरु छन् भने आफ्ना मौलिक बाजागाजाहरु पनि छ । कुलुङ जातिमा जन्म संस्कार गर्दा बालबालिका जन्मेपछि जन्म दिने आमा (सुत्केरी) आफैले नाइटो काट्ने, भांग्रे सिस्नोको धागोले बाँध्ने, बच्चालाई भांग्राकै कपडाले बेरेर राख्ने, स्थान र समय अनुसार ५÷७ दिनमा कटुस, उत्तिसको काँचो बोक्रा र हरियो पात मिसाएर कुटेको धुलोले बच्चा र सुत्केरीलाई नुहाई दिने गरिन्छ । र, यसरी नुहाएपछि चोखो भएको मानिन्छ ।
मृत्यु संस्कारमा भने अकालमा मरेकाहरुलाई खाडल खनेर, घरभन्दा टाढा जंगल, ओढार आदिमा काँडा बिच्छ्याएर, लासलाई नाँगै घोप्टो पारेर राखिन्छ र, फेरि लासमाथि काँडा, सिस्नो आदिले छोपेर पुरिन्छ । यस्तो मृत्यूलाई कुलुङहरु ‘हिल्सी’ भन्छन् । स्वाभाविक रुपमा मृत्यु भएकाहरुलाई भने घुरयान वा घर नजिकैको बारीमा गाडिन्छ ।
असलियतमा कुलुङ जातिमा मृत्युपछि मरेर जानेको नाममा सेतो लुगा लगाउने, नुन बार्ने, कांसातामा, मासुमंस बार्ने गर्दैनन् । अझ, मूलथलोका कुलुङहरु मान्छे मरेकै दिन घरमा जे छ, त्यसैले चोखिन्छन् । तर, मूलथलो छाडेका कुलुङहरु भने अन्य जातजातिको देखासिकी र, त्यसो नगर्दा बहिस्कृत हुनु पर्ने र हेलोहोचो हुनुपर्ने डरले नुन नबारे पनि ३–४ दिन बार्ने, कपाल काट्ने, बर्खी गर्ने, रांगा, सुगुर मार्ने (स्मरण रहोस्, कुलुङ जातिमा मृतकलाई चढाउँदा, बिदा दिंदा सिङ भएको जनावर चल्दैन ।) गर्छन् । कुलुङ जातिको चाडपर्वहरुमध्ये चाक्चाकुर, तोस, देदाम, नागी, मोबो वा साप्लोपा, साइपोम, साइपोको आदि प्रमुख हुन् भने साहूै अनिकाल प¥यो, दुःख, बिमार भयो भने मात्रै ‘देदाम’ गर्ने प्रचलन छ । तर यो साह्रै खर्चिलो हुन्छ । जोडी सुंगुर, असंख्य कुखुरा, दी र हाङ्मुवा (जाँड रक्सी) आदि इत्यादि चाहिन्छ भने उक्त कार्य गर्दा नोक्छोले सुँगुरलाई ढाडमा तरवारले हानेर मार्नुपर्छ । त्यसरी सुँगुर मार्दा नोक्छोले एकपटकमा जति गहिरो काट्न सक्छ त्यो भन्दा माथिको भाग नोक्छोले आफ्नो घरमा लाने प्रचलन छ । तोस गर्दा ‘योंङ्कुलु’ अर्थात् पवित्र ढुंगा राखिन्छ । त्यस्तै नागी गर्दा ‘दी छारी’मा लीप् (घेम्पा) पिँधमा प्वाल पारेर राखिएको हुन्छ जुन ‘दी’ ले सुक्तुलू (चुल्हो) पुजिन्छ । यो पूजा ठाउँ अनुसार फापर, जौ र कोदोको जाँडले गरिन्छ ।
यसरी हेर्दा कुलुङ जातिको संस्कारगत कुराहरु बाहुन–क्षत्री त के अहिलेसम्म कथित् ‘राई जाति’ एकै हौं, भाषा मात्रै फरक हो भनिएका किरातीहरु, जस्तै आठपहरिया, खालिङ, याम्फु, लोहोरुङ, बान्तावा, थुलुङ, चाम्लिङ, बाहिङ, दुमी, कोयु, जेरो आदिसँगसमेत मिल्दैन । फेरि हिन्दु जात समूहमा जसरी पण्डित भए जो भए पनि संस्कार गर्न मिल्छ वा हुन्छ, त्यसरी कुलुङको घरमा आएर आठपहरिया, खालिङ, याम्फु, लोहोरुङ, बान्तावा, थुलुङ, चाम्लिङ, बाहिङ, दुमी, कोयु, जेरो आदिका धामी वा पूर्खाले पूजाआजा गर्न मिल्दैन । कुलुङ जातिकै नोक्छो वा पूर्खा चाहिन्छ । किनभने कुलुङको सुक्तुलु अर्थात् चुला अरु जातिले छुन समेत हुँंदैन । वास्तवमा यो यथार्थ कुलुङ जातिमा मात्रै लागू नभएर हालसम्म राईकरणको मारमा परेका आठपहरिया, याम्फु, लोहोरुङ, मेवाहाङ, बान्तावा, जेरो लगायात सम्पूर्ण किरातीहरुको हकमा लागू हुन्छ ।
माथि सुरुमै उल्लेख गरिएको स्वर्गीय डा. हर्क गुरुङले उद्धृत गरेको भनाइ भैंm ‘कुलुङले कुलो खनेको, थुलुङले थुनेको, सोताङले सोधेको र खालिङले खोलेको छ, छैन ? भनी हेर्दा अरुले के गरे ? भन्न सकिन्न ! तर, स्वर्गीय डा. हर्क गुरुङले उल्लेख गरेभैंm कुलुङले जातीय स्वपहिचानको सवालमा विसं २०५७–०५८ देखि कुलो खन्दै आएको र, कुलुङले खनेको कुलोले सिञ्चित गरेकै कारणले गर्दा विसं २०६८ को ११ औं जनगणनामा कुलुङबाहेक अरु पनि ११ वटा किराती जातिहरु प्नि अलग्गै जातिका रुपमा आउन सफल भएका छन्, जो त्यसअघि कथित् राई जाति ! भनी चिनिन्थे । त्यस्तै कुलुङ जाति जस्तै अलग्गै जातीय स्वपहिचान भएको र भाषिक तथ्यांक पनि आएको तर, जातीय तथ्यांक भने नआएको १६÷१७ वटा अरु किराती जातिहरुको अवस्था के छ ? भनी यो ‘केहीनजान्ने कुलुङे ढाक्रे’ले भनी रहनै परेन ।
थप केही जान्न चाहेमाः ०१४६२०२००, ९८४९९८५९९७, ९८६२४३६०४९
ninamkirat123@gmail.com