धरान (एजेन्सी): कोरोना खोप उत्पादन गर्न ८ मुलुक हातेमालो गरेर अघि बढ्ने भएका छन् ।
दक्षिण अमेरिकी देशहरुबीच कोरोना भाइरस बिरुद्धको खोपमा सहकार्य गर्ने सहमती भएको छ । त्यहाँका ८ वटा देशहरुले नयाँ समूह बनाएर यस्तो सहकार्यको थालैनी गरेको चिलीका परराष्ट्रमन्त्री आन्द्रे एलामान्डले बताएका छन् ।
यो नयाँ समूहमा चिली, अर्जेन्टिना, ब्राजिल, कोलम्बिया, पराग्वे, पेरू, इक्वेडर र गुयाना शामिल छन् । यी आठ देशका राष्ट्र प्रमुख र विदेश मन्त्रीहरूको भर्चुअल बैठकमा आन्द्रे एलामन्डले भने, ‘खोपको लागि सँगै मिलेर काम गर्दा फाइदाहरू छन्, विशेष गरी महत्त्वपूर्ण संख्यामा र कम मूल्यमा खोप लिन सकिने हुन्छ ।’
उनले भने कि दक्षिण अमेरिकी देशहरुमा कोरोना भाइरस खोपसम्बन्धी जानकारी बाँड्न र खोप लिन सहमति भएको छ । खोपको लागि समन्वयका साथ काम गर्दा धेरै फाइदाहरू हुनेछन् । सबै देशहरूको प्रयास भनेको उनीहरूको नागरिकलाई पहिलो र सस्तो मूल्यमा खोप लगाउनु हो । विश्व स्वास्थ्य संगठनका अनुसार अहिले बिश्वब्यापी रुपमा १५० वटा कोरोना खोपहरू उत्पादन भइरहेको छ, जसमध्ये २५ वटाको मानविय परीक्षण सुरु भएको छ ।
खोप उत्पादक कम्पनीहरु जोन्सन एण्ड जोन्सन, साइनोवाक र एस्ट्राजेनिकाले दक्षिण अमेरिकामा खोप उत्पादन चाँडै सुरु गर्ने तयारी गरेका छन् । आलाण्डका अनुसारबेलायती औषधि कम्पनी एस्ट्राजेनिकाले अर्जेन्टिना, मेक्सिको वा ब्राजिलमा कोरोना खोप उत्पादन गर्ने कुरा गरेको थियो ।