Hamro Koshi Aawaj

शुक्रबार, असोज २ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

नियात्राः बैंकक वेश्यालयमा बितेका रातहरू !

हाम्रो कोशी आवाज
असोज २ २०७७, शुक्रबार
नियात्राः बैंकक वेश्यालयमा बितेका रातहरू !

कप्तान प्रशान्त राईको हैकममा उडेको आर ए ४०१ को एयर बस ए ३२० सुवर्ण भूमि विमानस्थलमा उत्रिँदा अपराह्नको सूर्य अन्डामान सागरको आकाशमा रुमलिइ रहेको थियो । साढे तीन घण्टा अगाडि मात्रै संसारको अति कम विकसित राष्ट्रको जोखिमपूर्ण अन्तर्राष्ट्रिय विमानस्थलदेखि अति सुविधा सम्पन्न विमानस्थलमा पुग्दा मनभित्र किन किन खिन्नता पैदा भइरहेको थियो ।
एअर बस विमानस्थलमा उत्रेपछि निम्बु घाँस र पाक थाइको मिश्रित सुगन्धसँगसँगै तेश्रोपटक बैंकक अध्यागमनलाई हामीले कछुवा गतिमा पार गरिरहेका थियौ । त्यसपछि मेरो अनन्त यात्रामा सदैव साथ दिने जीवन संगीनीसँग एक एक वटा सुटकेस गुडाउँदै गुडाउँदै अध्यागमनबाट यात्रु प्रतिक्षालय हलमा पुगेका थियौं । अप्रतिष्ठित मौसमको आँधीबेरीसँग विमानमा आएको हलचलले आकुल ब्याकुल बनाउँदा हामी जानुपर्ने होटलको नाम नै भुलिसकेका थियौं । त्यसैले प्रतिक्षालयमा रहेको कुर्सीमा थचक्कै बसेर होटलको नाम पत्ता लगाउन मोबाइलमा भएको विद्युतीय पत्रहरूलाई कोट्याउन शुरु गरेका थिए । किनभने होटलको अग्रिम आरक्षण मैले आफै गरेको थिइनँ, छोराले लण्डनबाट गरि दिएका थिए ।
विद्युतीय पत्रहरू खोलेर होटलको नाम पत्ता लगाएपछि एउटा ट्याक्सीलाई समातेर हामी होटलतर्फ लाग्यौं । हाम्रो होटल लगभग ५० हजार बेश्याहरूको रमाइलो वस्ती रहेको मध्य बैंककमा अवस्थित थियो । हामी बैंकक पुग्दा त्यहाँको मौसम अति सफा एवम् आकर्षक थियो । त्यति रमाइलो मौसम भएपनि घरीघरी शियामको खाडीबाट उत्पन्न भएको दृश्यहीन चिसो बतास चोपराय नदीमा ठोकिएर हाम्रो गालासम्म आइपुग्दा झन् आनन्दित हुने गर्दथ्यो । एक घन्टा जतिको रमाइलो यात्रापछि हामी तिनै चोपराय नदीको किनारमा रहेको होटल ‘अर्बना साथ्रोन’ पुगेका थियौं ।

मनभरि सयकडौं कौतुहल बोकेर होटलमा पुग्दा ताराको मुहार चन्द्रमाको किरणले झै प्रज्वलित बनेका थिए । ट्याक्सीलाई बिदाइ गरेपछि मुस्कानको भूमी भनेर लब्धकीर्ति कमाएको थाइल्याण्डको पाँचतारे होटल अर्बना साथ्रोनमा हामीले पहिलो कदम पार्यौ । मुख्य ढोकाबाट भित्र पस्ने वितिक्कै स्वागत गर्नेले थाई मुस्कानसहित, ‘तपाईहरूलाई अर्बना साथ्रोनमा स्वागत छ,’ भन्दै हामीलाई फूलको थुङ्गाले स्वागत गरिन् । उनको त्यति आकर्षक मोहडा र कामोतेजक जिउडाल देखेपछि कृष्ण बनेर मैले सुस्तरी ‘धन्यवाद’ भन्दै उनलाई जवाफ फर्काए । हाम्रो राहदानीको पानाहरू पल्टाएर हेरेपछि कम्प्युटर पटलबाट उनी उठिन र हिँड्दै म उभिरहेको ठाउ नजिकै फेरि आइपुगिन् ।
‘महाशय। तपाईहरूको कोठा तिसौ तलामा रहेको छ । यी चाबी लिनहोस् र कुनै समस्या भएमा म यहि हुनेछु ।’ भन्दै मलाई कोठाको चाबी हातैमा थमाइदिइन् ।
मेरो हातमा चाबी परेपछि हामी विद्युतीय लिफ्ट चढेर सरासर तिसौ तलामा पुग्यौं । ढोका खोलेर कोठामा पस्ने वित्तिकै बैंकक सहरको सुदृश्य देखेपछि मेरी जीवन सङ्गीनीले पहिलोचोटी वाउ भन्दै मुख खोलिन् । त्यति ठूलो भोक बिलासीय कोठाको एक छेउको झ्यालबाट सानदार चोपराय नदी र अर्को तिरको झ्यालबाट साथोन थाई सडक किनारमा रहेका गगनचुम्वी महलहरूको मनमोहक दृश्यलाई त्यहीँबाट चुम्बन गर्न मिल्दथ्यो ।
कोठाबाट देखिएको चोपराय नदीको पानीझैं बैंककको समय निरन्तर अगाडि बढिरहेको थियो । लिफ्टबाट म सँग सँगै गुडाउँदै ल्याएको सुटकेसलाई त्यतिक्कै भुइँमा छाडेर हतारहतार बार्दलीमा निस्केर एकछिन शान्तिको सास फेरें । बैंकक सहरसँग लुकामारी खेल्दै अविरल बगिरहने चोपराय नदीको बिलोकनिय दृश्यलाई तिनै बार्दलीबाट एकोहोरो हेरि रहेको थिएँ ।
‘दृश्य मात्र हेर्ने हो कि केही खानेकुरोको पनि ब्यवस्था गर्ने हो ? मलाई त भोक लागि सक्यो ?’
नदी र सहरको दृश्यवलोकनले मन्त्रमुग्ध भएर भावनामा बहिरहँदा अचानक ताराको विषालु आवाज मेरो कानमा बज्र्यो ।

होटलको तिसौ तलामा रहेको कोठाभित्रको त्यति शान्त वातावरण लाई विश्रान्ति गर्दै निस्केको उनको जहरिलो भनाइलाई मैले राम्ररी बुझेको थिएँ । त्यसैले केही नबोली लुरुलुरु कोठाभित्र पसेर सुटकेसलाई थपक्कै पर्खाल नजिकै कुनामा राखें । केही समयअगाडि स्वागतिकासँग जिस्कँदै बोल्दा उनको मुहारमा आएको अचानक परिवर्तन मैले त्यसबेला याद गरे । तर मेरो सट्टामा जुनै मर्दले पनि बैंककको त्यस्ती सुन्दरीहरूसँग मौका पाउँदा मौकाको फाइदा उठाइहाल्छन होला भन्ने मैले मनमनै कल्पना गरे ।
तैपनि तारालाई कसरी खुशी बनाउने होला भनेर मेरो दिमागलाई थोरै अभ्यास गराए । पलङको नजिकै बिजुली कित्ली थियो । तिनै कित्लीमा भरि पानी उमालेर हामी दुवै जनाको लागि एक कप चिया बनाएँ । टेवलमाथिको बिस्कुटका केही टुक्राहरूसँगै उनको अगाडि चिया राखिदिएँ । तातो तातो चिया र बिस्कुटले मास्तिर लागेको थर्ममिटरको पारो सुस्तरी ओरालै ओरालो झर्न थाल्यो । त्यसपछि मैले पनि एक कप जसमिन चिया हातमा लिएर पुनः बार्दलीमा निस्केर कुर्सीमा आरामले बसें । अनि बैंककको गगनचुम्वी महलहरूलाई दोश्रोपटक नियाल्न थालें ।
हाते घडीले बेलुकीको समय ६ बजाएको थियो । यद्यपि बैंककको गर्मी दुईबाट एकमा झरेको थिएन । हामी केहीबेरपछि होटलको रिसेप्सन झरयांै । त्यहाँ झरेपछि मैले तिनै युवतीसँग सहरको एउटा नक्सा मागेर गोजीमा हाले । होटलबाट बाहिर निस्केपछि नजिकै रहेको पुलबाट साथोन थाई सडकलाई सुस्त गतिमा पार गरयौं । सडकको पारीपट्टि पुगेर अर्को कन्भन्ट रोडको पेटीमाथि हिँड्न थाल्यौ । यौनको मुख्य भूमिमा त्यसरी हिँड्दै गर्दा सडक किनारमा रहेका भट्टी पसलहरू असाध्यै रङ्गीचङ्गी र जीवित देख्न थाल्यौं ।
जति जति हाम्रा कदमहरू अगाडि बढ्दै जान्थे, उति उति हामीले मसाज पार्लरहरू पार गरिरहेका हुन्थ्यौं । त्यतिबेला मसाज पसलबाट निस्केका मेवा, चमेली, मालती, नरिवल र निम्बु घाँसका सुगन्धले हाम्रो नाकसँग जुहारी खेल्न खोजिरहेका आभास हुन्थे । अनि तिनै मसाज पार्लरहरूको चौघेरामा ठाँटिएर बसेका अर्धनग्न युवतीहरूको मुखबाट निस्केको थाई मसाज र तीन सय भाट भन्ने सुरिलो शब्दले हाम्रो कानसँग मितेरी गाँसिसकेको थियो ।

सडक किनारमा देखिएकी त्यति राम्री षोडशिहरूको पहिरन दृष्टि लगाउँदा मेरा आँखाका ढकनीहरू किन किन आफै बन्द हुन खोज्दथे । यद्यपि दुवै आँखा खोलेर सिधै नजर लगाउन नसकेता पनि छड्के नजरले उनीहरूको मधुर मुस्कानलाई चाहिँ सरम मानी मानी भएपनि हेर्दै अगाडि बढिरहन्थें । उनीहरूको चालढाल, शैली र ढर्रा देखेर लजाउन २१ औं शताब्दीको मेरो मानव मस्तिष्क र शर्मशिल आत्मालाई भित्र भित्रै धिक्कार छ भन्दै अगाडि हिँडिरहे ।
मुस्कानको सहर ‘ल्याण्ड अफ स्माइल’ मा देखा परेका सुन्दर मुहारहरूको नजर लगाउँदै लगाउँदै केहीवेरमा हामी सिलोममा अवस्थित ‘सोइ थानिया’ पुग्यौं । ‘सोई’ भन्नाले साधारणतयः थाई भाषामा मुख्य सडकबाट छुट्टिएर निस्केको सहायक मार्गहरूलाई जनाउने गर्दथ्यो । तिनै सोइ थानियादेखि पातपोङ वरिपरि क्षेत्रलाई पर्यटकहरूले विश्वको अति प्रख्यात मनोरञ्जनात्मक जिल्ला बैंकक ‘रातो बत्तिको जिल्ला’ भनेर चिन्दथे । समग्रमा पातपोङ, नाना प्लाजा र सोई काउ बोई चाँहि बैकंकको मुख्य यौनिक कर्म भूमि रहेको थियो ।
हाइनान, चाइनाबाट आएका ‘पातपोङपानीक’ परिवारले सन् १९४६ बाट त्यस क्षेत्रमा व्यापार शुरु गरेका थिए । तिनै चाइनिज पारिवारिक नामबाट त्यस इलाकालाई ‘पातपोङ’ भन्ने गरिन्थ्यो । रात्रीकालिन बजारको मुटु मानिने त्यस स्थानमा पातपोङ एक, दुई, तीन र चार गरेर समानान्तर यौन गतिविधि संलग्न हुने गल्लीहरू रहेका थिए । तर त्यस क्षेत्रमा वेश्यावृतिको मुख्य जरो गाड्ने श्रेयचाहिँ तिनै भियतनाम युद्धका पूर्व अमेरिकन सिपाहीहरूलाई जान्थ्यो ।
अङ्ग्रेजी चर्चित गायक मर्री हेडको हृदयस्पर्सी गीत ‘वान नाइट इन बैंकक’ लाई सम्झँदै सम्झँदै बैंककको यौन बजार र रात्रीकालिन बजार हामीले सँगसँगै भर्न थाल्यौं । केहीवेरमा ‘किङ्गस क्याश्चल बार’ पार गरेर पातपोङ–२ सडकमा हिँड्दै जाँदा बैंककको गर्मीले लुगा लगाउन बिर्सेर सानु बुबु छोप्ने कपडाको धर्सो र तीघ्राको बीच भागमा लिप्त भएको अन्तवस्त्र मात्र लगाएकी नगर वधुहरूसँग हाम्रो रमाइलो भेटघाट हुन थाल्यो । तिनै पाटपोङ–२ सडकको पेटीमाथि केहीवेर हिँडेपछि आयरल्याण्ड बाट ९ हजार ८ सय ५० किलोमिटर टाढा बैंककमा रहेको आइरिस भट्टी पसल ‘द पेड्डी फिल्ड’ का सामुन्ने पुग्यौं ।

त्यति रमाइलो मौसमसँगसँगै द पेड्डी फिल्ड अगाडि सडक पेटीमा एउटा हातमा गिनिस बियर र अर्को हातले थाई युवतीको नग्न फिला मालिस गरिरहेको जिम डेभिससँग मेरो अचानक भेट भयो । क्रस्वी, लिभरपुलबाट घुम्न आएको जिम लिभरपुलमा हुँदा गल्फ खेल्ने मेरो असल मित्र थिए ।
‘हे भगवान, कति सानो संसार रहेछ’ मलाई देख्ने वितिक्कै जिमले त्यसो भनेर जिस्क्याएका थिए ।
जिमसँग अचानक बैंककका भेट हुँदा हामी दुवैजना एक अर्कामा केही छिन छक्क परयौं । एउटा जिन्दगी जिउनुपर्छ, त्यसैले जीवित हुँदा मात्रै आनन्द गर्न सकिन्छ भन्ने विचारका धनी ऊ वर्षमा दुईचोटी शियाम आउने गरेका रहेछन् । धेरै लामो समयसम्म सँगसँगै गल्फ खेल्दा पनि बैंककमा आएर तरुनीहरूसँग औधि मनोरञ्जन लिन्छु भन्ने कुरो उसले मलाई कहिले पनि सुनाएको थिएनन् ।
‘खानु, पिउनु, घुम्नु र यौन मात्र मेरो जिन्दगीको परिभाषाभित्र पर्छन,’ भन्ने कुरो जिमले मलाई बैंककको वेश्यालयमा बताएका थिए । उसको त्यस्तो विचारलाई मैले केही हदसम्म स्वीकारोक्ति जनाए । कमिलाहरूको तातिमा हुने सन्छेप भेटघाट झै हाम्रो पनि छोटो भेटघाट भयो । केहीवेरपछि तिनै बैंककमा भेटिएकी केटी साथीलाई उसले सर्लक्कै अँगालोमा बाँध्यो । अनि उनको वक्षस्थलमा दाहिने हात मज्जाले आराम गरायो । त्यसपछि केटीसँगसँगै आइरिस भट्टी पसल भित्र छिरयो । हामीले सडकको पेटीमा उभिएर रोमियो जुलियटको जस्तो जीवित नाटक त्यतिबेला हेरिरह्यौ । त्यसपछि तारा र म क्रमशः गन्तब्यहीन यात्रातर्फ अगाडि बढ्यौं ।
भट्टी पसलहरूको रातो बत्ती र सडक किनारमा बलेका चहकिलो बत्तीको प्रकाशले बैंककमा रात र दिन छुट्याउन हम्मेहम्मे पर्दथ्यो । केही समयपछि समलिङ्गीहरूको बार ‘पिङ्क प्यान्थर’ र ‘ड्रिम ब्योइ’ लाई हामीले आस्ते आस्ते पार गरयौं । त्यहीँबेला हाम्रो सामुन्ने लगभग साठीको दशकमा पुगेका जस्तो देखिने एक जना तालु खुइले अङ्ग्रेज बुढो देखा परयो । बायाँ हातमा बियर समातेर त्यो बुढो दुईजना चुकचुकाउँदो उमेरका वस्त्रविहीन युवतीहरुको बीचमा नव दुलाहा झै भएर बसिरहेका थिए । वेश्यालयको युवतीहरूले भन्दा पनि उसले लगाएको ‘पोर्न हब’ गन्जिले अचानक मेरो ध्यानाकर्षण गरयो । त्यति फटाहा गन्जीले उसको ह्याकुल्लो छोपीरहेको देख्दा बुढोले कहाँ भेटाएछन् भनेर मेरो कदम केही बेर टक्क रोकियो ।

फटाफट चाल्दै गरेका मेरा कदमहरू एक्कासी रोकिएकोले हाम्रा आँखाहरु दुईबाट चार भए । म उसको सामुन्ने टक्क रोकिएको देखेर ‘तिमी हरायौ ?’ भन्दै बुढाले मलाई जिस्क्यायो । मैले प्रति उत्तरमा तपाईको गन्जी ज्यादै राम्रो रहेछ भनिदिएँ । धन्यवाद भन्दै ऊ थोरै मुस्कुरायो । त्यसपछि हाम्रो एक अर्कामा भलाकुसारी शुरु भयो । उसको नाम गेरविन थोमस रहेछ । र मर्था टिडभेल, वेल्स बाट आएको भन्ने उसले बताए । सात पुस्तासम्म बेलायती बेरोजगार भत्ता खाएर बाँच्ने मर्था टिडभेलका कुहिरे पनि त्यहाँ छुट्टी मनाउन आएको देख्न पाउँदा मलाई औधी खुशी लाग्यो ।
हाम्रो भेट भएको केही मिनेटभित्रै उसको जीवन कहानी बमन गर्न थाल्यो । पारपाचुके गरेर वैवाहिक जीवनबाट सन्यास लिएपछि आनन्ददायी समागमको लागि संसारको सबैभन्दा उत्तम स्थान बैंकक हो भन्दै उसले मलाई उत्तम सल्लाह दिन थाल्यो ।
‘गेरविन, तपाई असाध्यै भाग्यमानी हुनु हुने रहेछ । जस्ले गर्दा तपाईलाई एक्कै साथ दुई दुई जना कामोतेजक युवतीहरू मिलेछन् ।’ भन्दै मैले तालु खुईलेलाई जिस्काइदिएँ ।
‘थाइल्याण्डमा एक मिलियन युवतीहरुले काँचो मासुको ब्यापार गर्छन् । अझै संख्या त्यो भन्दा उभोउभो होला ? निश्चय नै तिमीले पनि एकजना भेटिहाल्नेछौ । किन त्यति चाँडै सुर्ता गर्छौ ?’ उसले सहानुभूति प्रकट गर्दै मलाई जवाफमा फर्कायो ।
सडक पेटीमा संक्षिप्त परिचय भएको गेरविनको कुरो वास्ता नगरी म सरासर अगाडि बढिरहें । तर पिङ प्यान्थर बार नजिकै भेटिएका खुईले बुढोसँगै बस्ने एक जोडी युवतीहरूचाहिँ स्त्रीलिङ्गी हुन् वा तेश्रीलिङ्गी हुन् भनेर ठम्याउन मलाई निक्कै मुस्किल परयो ।
हामीले पातपोङ २ को दायाँबायाँ किनारमा रहेका यौनकार्यसँग सम्बन्धित सर्वोत्कृष्ट गोगो बारहरू नियाल्दै अगाडि बढिरह्यौ । तर ‘पुसि गोगो’ बार भित्र पसेर एकदम कसिलो स्त्री प्रजनन अंगले सिट्ठी पुकेको, चुरोट पिएको, कोकको बोतल फुटाएको र पिङपङ बल उडाएको हेर्ने अभिष्ट आकाङ्क्षा ताराले गर्दा पूरा हुन सकेनन् ।

आ….आखिर जिन्दगीको सबै रहरहरू पनि त पूरा हुन सक्दैन भन्दै सडक पेटीबाट लामो समयसम्म यौन दोकान, कारवकी, मसाज, साउना, पिङपङ, डिस्को र बार गल्र्सको दृश्यावलोकन गर्दै हिँडिरह्यौ । त्यति राम्रो ब्यवस्थित वेश्यालयमा बिताइने रात्रीकालिन जिन्दगीको झझल्को दिलाउने प्रख्यात अङ्ग्रेजी चलचित्र ‘द डियर हन्टर’ र ‘मिस साइगन’ को छायाङ्कनस्थल नजर लगाउँदै लगाउँदै हामी होटलमा फर्केर बास बस्यौं ।
भोलि बिहानभरि सहरको परिक्रमा गरयौं । दिउँसो चोपराय नदीमा जलयात्रा गरेपछि बेलुकी सिलोम नजिकै रहेको थाई रेस्टुरेन्टमा पाकथाई भोजन गरयौं । त्यसपछि भूमिगत रेल मार्गबाट नाना प्लाजातर्फ लाग्यौं । नाना प्लाजा बैंककको अर्को रातो बत्तिको जिल्ला थिए ।
‘वेश्यावृत्तिको आवश्यक छ, नत्र भने मान्छेले सडकमा हिँड्ने सभ्य नारीहरूलाई आक्रमण गर्ने खतरा हुन्छ ।’
नेपोलियन बोनापार्टले भनेका उक्त हरपहरू बैंककको वेश्यालयमा पुगेर मैले झलझली सम्झिरहें । नेपोलियन बोनापार्टको जीवनी अध्ययन गर्ने क्रममा उहाँको जन्म घर आजासियो, कोर्सिका टापु पहिले नै पुगिसकेको थिएँ । कोर्सिका पुग्दासम्म वेश्यावृत्तिप्रति उहाँको विचार त्यति उदार छ भन्ने मैले पहिले सोचेको थिइनँ । उहाँको त्यो महान उदारता रातो बत्तीको जिल्ला आम्सटर्डम पुग्दा मैले चाल पाएका थिएँ, किनभने त्यहाँ वेश्यालयको श्री गणेश गर्न उहाँले नै उर्जा प्रदान गरेका थिए ।
भूमिगत रेलबाट निस्केर केहीबेरमा नाना प्लाजा होटलको अगाडि पुगेका थियौं । अनि त्यहाँका प्रत्येक भट्टी पसलहरूबाट निस्केका ठुल्ठुला सङ्गीतका आवाजहरू सडकसँग ठोकिएर प्रति ध्वनीमा परिणत भएका सुन्दै सुन्दै हिँड्यौ । हामी केहीबेरमा ‘टेम्प्टेसन गो गो’ बारलाई छाडेर ‘ट्रेप बार’ नजिकै पुग्यौं ।
ट्रेप बारको अगाडि फलामे डण्डीले बारेको सानो स्थान थियो । त्यस क्षेत्रभित्र सानो धर्सोले थोरै स्तन ढाकेर बिकिनीमा सजिएकी स्याउ स्याउती बेयराहरु देखिन्थे । हामीले तिनै बेयराहरुलाई एकएक गिलास वाईन मगायौ । र वाइन पिउँदै पिउँदै आफ्नो सिधै अगाडि परेका स्वतन्त्र वेश्याहरू ‘फ्रि लान्सर’ नियालेर हेर्न थाल्यौं ।

लखौरीहरूले आफ्नो सामुन्ने परेका कुनै पनि पुरुषलाई लटर पटर अङ्ग्रेजी भाषामा, ‘म तपाईसँग रात बिताउन चाहन्छु,’ भन्ने सुनौलो वाक्यांशहरू छाडेका हाम्रो कानसम्मै यदाकदा आइपुग्ने गर्दथ्यो । कलङ्कीत नाना प्लाजाको कुनाबाट युवतीहरूले आफ्नो शरीर बेच्नको लागि आफैले मोल मोलाइ गरिरहेको रमाइलो दृश्य त्यहाँ देख्न सकिन्थ्यो । आफ्नै आँखा अगाडि त्यस्तो बिलोकनीय दृश्य देखेपछिः
‘तारा, मानिसहरूको जिन्दगी कति अचम्मको छ हगि…?’
हातमा वाइनको गिलास समातेर बैंककको वेश्यालय अगाडि भावनामा बहेर उनलाई मैले जिन्दगीको विषयमा सोधेको एउटा जटिल प्रश्न थियो । तर मेरो प्रश्नले ताराको हृदयलाई पटक्कै छोएन, किनभने पथ्थरको दिल हुनेहरू म जति के बहकिन सक्दथे ? मैले त्यहीँ कुनामा बसेर पूर्व निरीक्षण गरेको सियोल, बर्लिन र आम्सटर्डमको वेश्यालयहरूभन्दा त्यहाँ बिलकुल फरक र भिन्न महसुस पाएँ । उक्त वेश्यालयहरूमा युवतीहरू कोठीभित्र सजिएका हुन्थे र ग्राहकहरूले झ्यालबाहिरबाट हेर्नु पर्दथ्यो । तर बैंककमा सिधै गोरु मोलाइ हुने गर्दथ्यो ।
एक्कै सासमा वाइनको गिलास रित्याएर हामी पुनः आफ्नो बाटो लाग्यौं र ‘कासानोभा बार’ नजिकै पुग्यौं । जहाँ बग्रेल्ती तेश्रोलिङ्गीहरू देखा परेका थिए, किनभने कासानोभा तेश्रो लिङ्गीहरूको आफ्नै भट्टी पसल थियो । भट्टी पसलको छेउछाउ बसिरहेका सबै तेश्रोलिङ्गीहरू हुन् भनेर तारालाई सुनाउँदा उनी केहीबेर हाँसेर मुर्छा परिन् । उनले जिन्दगीमा प्रथम पटक स्त्रीलिङ्गी भन्दा तेश्रोलिङ्गीहरू त्यति बिघ्न सुन्दरी हुने रहेछिन् भनेर चाल पाएकी थिइन् ।
तर उनीहरु तेश्रोलिङ्गी बारको नजिकै बसिरहेको देखेर मैले तेश्रोलिङ्गी हुन भनेको थिएँ । सायद सबैजना तेश्रो लिङ्गीहरु नहुन पनि सक्दछन् । जबसम्म उनीहरूलाई पुरै निर्वस्त्र बनाएर आफ्नो अगाडि सुरिलो अवस्थामा राखिदैन तबसम्म म आफै पनि उनीहरूको पहिचान ठ्याक्कै गरिहाल्न सक्दैनथें ।

मनभरि तेश्रोलिङ्गीहरूको अदृश्य स्नेह सँगालेर नाना प्लाजाबाट सधैको लागि बिदा भयौं । त्यसपछि हामी सुकुम्भित नजिक्कै रहेको प्रख्यात ‘सोइ काउबोई’ तर्फ लाग्यौं, सोइ काउबोइ बैंककको अर्को प्रख्यात रातो बत्तिको जिल्ला थियो ।
सन् १९७७ मा अमेरिकन पूर्व बायु सेना टिजी एडवार्डले त्यहाँ पहिलो भट्टि पशल खोलेका थिए । उसले बाचिन्जेल सम्म आफ्नो भट्टी पसलमा काउबोइ टोपी लगाएर ग्राहकहरूलाई सेवा प्रदान गरेका थिए । उसको मृत्यु पश्चात रात्रीकालिन यात्रा लेखक बर्नाड ट्रिङ्कले त्यस ठाउँको नाम सोइ काउबोई राखेर लेखहरू प्रकाशन गर्न थाले । चालिस वटा जति भट्टी पसलहरू र लगभग १५० मिटर जति लामो दुरीमा रहेको लखर लखर पैदल यात्रा गर्न मिल्ने तिनै सानो गल्लीलाई कालान्तरमा गएर ‘सोई काउबोई’ भन्ने गरियो ।
सुकम्भित रेल स्टेसन बाट हामी त्यहाँ पुग्ने बितिक्कै चार पाँचजना युवतीहरूले सोई काउबोईमा स्वागत छ भन्दै उनीहरूको भट्टी पसलमा बोलाउन थालेका थिए । अति सुष्मबस्त्रले जीउ ढाकेको युवतीहरुको आकर्षक शरीरले त्यहाँ जुनसुकै पुरुषको मन सहजै जित्न सक्दथ्यो । उनीहरूको स्वागतलाई बेवास्ता गर्दै हामी केही अगाडि बढिरह्यौ । त्यहाँको सबैभन्दा प्रख्यात ‘सहारा बार’ अगाडि पुगेर केहीबेर टक्क अडियौं । अनि गुलावी रङ्गको विकीनी लगाएको बारमा काम गर्ने युवतीहरूलाई राम्ररी हेरिरह्यौं । उनीहरूलाई हेरि रहँदा भट्टी पसल भित्रबाट आएको विशाल सङ्गीतले गल्ली थर्किरहेको हामीलाई आभास हुन्थ्यो ।
अति आकर्षक वत्तीको उज्यालोले काउबोई गल्ली सानदार देखिरहेको थियो । आकर्षक वत्तीको प्रकाश र सङ्गीतको तालमा हाम्रा कदमहरू विशाल ‘स्ट्रिट पार्टी’ मा भाग लिएझैं लगातार चलिरहेको थियो । अझै फरक फरक भट्टी पसलमा काम गर्ने युवतीहरूको भिन्ना भिन्नै विकिनीले सुनमा सुगन्ध थपिरहेको हुन्थ्यो । सबै तरूनीहरूले आ–आफ्नो भट्टी पसलमा आएर पेय पदार्थ पिइ दिनको लागि पदयात्रीहरूको हात हातमा समातिरहेको असहज दृश्य त्यहाँ देख्न सकिन्थ्यो । मलाई चाहिँ नाना प्लाजामा भन्दा त्यहाँ अलिक थोरै तेश्रोलिङ्गीहरू देखिएकी जस्तो भान परिरह्यो ।

हामीले केहीवेरमा ‘सुजि वङ’ लाई पार गरयौं । ‘कन्ट्री रोड’ भट्टी पसल बाहिर सडकपेटीमा राखिएको कुर्सीमा एक–एक गिलास वाइन समातेर बस्यौं । अनि वत्तीको प्रकाशले प्रभाव पारेर विचित्रसँग टल्किएको कामोत्तेजक तरुनीहरूको रमिता आँखा दुखिन्जेलसम्म हेरि रह्यौं । केही समयपश्चात् हातमा चाङ वियर लिएर हाम्रो छेऊमा एकजना कुहिरे पनि हामीसँगै बस्न आइपुगे । हाम्रो परिचयको क्रममा उसको नाम जोन मर्फि भन्यो । ऊ डब्लिन, आएरल्याण्डबाट त्यहाँ घुम्न आएका रहेछन् ।
हामी डब्लिन पहिले नै पुगिसकेको थियौं । त्यसैले जोनलाई टेम्पल बार, डब्लिनसँग सोई काउबोई तुलना गर्न लगाए । उसले सोई काउबोई ज्यादै मन पर्ने तर गोजी चाँडै रितिने ठाउँ हो भने । उदाहरणको लागि अन्य ठाउँमा ९० भाट पर्ने वियरलाई सुजि वङमा १९० भाटसम्म पर्छ, उसले भने ।
यद्यपि वेश्यालय र भट्टी पसलको राम्रो ब्यवस्थापन गरेको हुनाले थाइल्याण्डले ६.५ बिलियन डलर वर्षेनी राजस्व असुल्ने गरेका छन् । तपाई आफै विचार गर्नुहोस, हरेक वर्ष बेलाय बाट मात्र १ लाख पर्यटकहरु थाइल्याण्ड आउने गरेका छन् । प्रत्येक हिउँदमा सोई काउबोईमा अनुहार देखाउने जोनले त्यहाँ भएका सबै गोगो बारहरूको कथा हामीलाई मज्जाले सुनाइरह्यो । धेरै बोलेर ऊ थाकेपछि मैले एक सिरिप वाइन पिएरः
‘जोन, यहाँका बारमा काम गर्ने तरूनीहरु असाध्यै राम्रा हुने रहेछन्, हगि….?’ गल्लीमा हुने ठुल्ठुला हल्लालाई चुनौति दिँदै जोनको कान नजिक गएर सुस्तरी मैले प्रश्न सोधें ।
मेरो प्रश्नको उत्तर दिने क्रममा, तपाईलाई जुन युवती मन पर्छ, त्यो युवतीसँग समय बिताउन सक्नुहुनेछ । तर सबैभन्दा पहिले मन परेको युवती छानेर भाउ मिलाउनु पर्छ । त्यसबाहेक युवतीले बार छाडेकी बारको जरिवाना पनि तिर्नुपर्छ । अनि युवतीलाई आफूले चाहेको ठाउँ टोकियोको जस्तै ‘लभ होटल’ तिर लान पाइन्छ । तर एउटा कुरो याद गर्नुहोला, त्यहाँ देखिएका सबै युवतीहरू थाइहरू चाहिँ होइनन् । कुनै कुनै चाइनिज, भियतनामिज, लावोसियन र रसियनहरू पनि हुन् । तपाईलाई सायद थाहा नहुन पनि सक्छ । थाइल्याण्डमा रसियन वेश्याहरूको संख्या पाँच हजार भन्दा बढिरहेका छन् ।
‘मिस्टर राई, बैंकक जोई टिङ्ग्रेहरूको लागि राम्रो स्थान नभए पनि कामुक युवतीहरूको नरम स्तन, रापिलो शरीर र अनुभवी रतिक्रिया मन पराउने असल मर्दहरूको लागि विश्वको सबैभन्दा उपयुक्त भूमि हो ।’
नशाको तालमा जोनले भनेको यावत कुराहरू सुनिरहँदा, म दुखिन्जेलसम्म जिब्रो टोकिरहेको थिएँ ।
हालः अक्सफोर्ड, बेलायत, मेलमार्फत्

प्रकाशित मिति: असोज २ २०७७, शुक्रबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend