Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

नियात्राः एङ्गेल्सका यादहरू

हाम्रो कोशी आवाज
असोज ८ २०७७, बिहिबार
नियात्राः एङ्गेल्सका यादहरू

हरेक हिउँदपछि वर्षा आउँथ्यो र जान्थ्यो । त्यसरी नै अनगिन्ती हिउँदहरू आफ्नै गतिमा बहदै गइरह्यो । जिन्दगीका धेरै हिउदहरू बितेर गएपनि मलाई फ्रेडरिक एङ्गेल्सले म्यानचेस्टरमा बिताएका ठाउँहरू पुग्न रहर पालि रहेको थियो । तिनै रहरहरूलाई साकार पार्न एक दिन हामी लाइम स्ट्रिट लिभरपुल रेल स्टेसन पुगेका थियौं । बिहानको १० बजे स्टेसनभित्र छिरेपछि भित्तामा देखाइएका विद्युतीय सूचना पार्टीलाई मैले एक झलक नियालेर हेरें । १० बजेर १७ मिनेटमा एउटा रेल म्यानचेस्टरतर्फ जादै गरेको देखेपछि तिनै रेललाई समातेर त्यसतर्फ जाने हामीले निधो गरयौं ।
‘तिमी यतै उभिरहनु है ?’
तारालाई सानो स्वरमा भने र हिँडदै टिकट किन्ने काउन्टर नजिकै पुगें । म त्यहाँ पुग्दा केही मानिसहरू काउन्टरअगाडि पङ्क्तिबद्ध भएर टिकट किन्ने पालो पर्खेर उभिइरहेका थिए । त्यसैले म पनि केहीबेर उनीहरूको पछाडि उभिरहें । मेरो पालो आएपछि म्यानचेस्टर जाने रेलका दुई वटा टिकटहरू किनें । त्यसपछि हामी सरासर हिँडदै तीन नम्बर प्लेटफर्ममा पुग्यौं । तर हामी प्लेटफर्ममा पुग्नुअगावै रेल आएर हाम्रो इन्तजार गरिरहेको थियो । त्यसैले हतारहतार रेलको अन्तिम डिब्बामा चढिहाल्यौं र बायाँपट्टिको खाली सिटमा थपक्कै बस्यौं ।
सुचना पाटीमा देखाइएको समयमा रेलले लाईम स्ट्रिट स्टेसन, लिभरपुललाई छाड्यो । स्टेसन छाड्नेबित्तिकै ताराले, अब म थपक्कै सुत्छु, मलाई नबोलाउनु होस् है ? भन्दै सुस्तरी म तिर ढल्किन् र मेरो दायाँ कुमलाई उनकी पिञ्य सिरानी बनाइन् । अनि आफ्नो श्रीमान्को कुमलाई नै स्वर्ग सम्झँदै स्वर्गीय आनन्द लिन सुरु गरिन् ।
‘आ…..कुम्भकर्णको छोरीलाई के कचकच गरिरहने है ?’ भनेर म चाहिँ झ्यालबाट बाहिर नजर लगाउन थालें ।
बेलायती अगष्ट महिनाको एउटा शनिश्चर बारको दिन थियो । शुन्य आकाशबाट आएको सुनौलो घामको ज्योतिले लिभरपुलको धर्ती बेस्सरी चम्किरहेको थियो । अझै राम्ररी आकाशलाई नियालेर हेर्ने हो भने बादलका टुक्राहरू यत्रतत्र कतै देखिएका थिएनन् । बेलायतको अगष्ट सेप्टेम्बर महिनामा त्यति पारिलो घाम ताप्न पाउनु भनेको तालुमा आलु फल्नुझैं मलाई लाग्दथ्यो । त्यसैले त्यति राम्रो मौसमको फाइदा लिँदै मैले आनन्दको अनुभुति लिइरहेको थिएँ ।
लाइम स्ट्रिट छाडेको रेलले एज हिल पार गर्दै ‘रेइन हिल’ पुगेर पहिलोपटक रोकियो । रेल रोकिएपछि औंलामा गन्न सकिने यात्रुहरू रेलबाट झरे र त्यति जति नै संख्यामा चढे । केही मिनेटपश्चात् फेरि रेल हिँड्न शुरु गरयो । रेइन हिल पार गरेपछि वारिङटन नपुगुन्जेलसम्म पातलो अंग्रेजी बस्तीसँग सँगै मैले हरेक मानिसको घरको शोभनीय वगैंचाहरू विभिन्न प्रकारका रुखहरू लटरम्म फलेका स्याउका बोटहरू हरिया घाँसे मैदानका चौरहरू र सस्याना तलाउहरूसँग रुमलिएर मेरो समयलाई कटाउन थाले । तर मलाई त्यति बेला किन किन शिक्षाबाट पाइने ज्ञान भन्दा प्रकृतिबाट सिकिने ज्ञान पो झन् धेरै तागतिलो छ कि जस्तो लागि रह्यो ।

टुप्लुक्कै वारिङ्गटनमा रेल झुल्कियो र केहीबेर रोकिएर हिँड्न थालेपछि कति बाहिरको मात्रै रमिता हेर्ने होला भनेर हाते झोलाबाट एउटा पुरानो पुस्तक निकालें । र, एक पटक पुस्तकको पानाहरू फरर पल्टाएर हेरें । अब कुन पेजबाट पढन शुरु गरौं होला भनेर एकछिन झोक्रिएर त्यतिक्कै बसिरहें किनभने त्यो पुस्तकलाई मैले केही वर्ष अगाडि पहिलोपटक पढिसकेको थिएँ । अनि मेरो एउटा नराम्रो बानी चाहिँ के थियो भने कुनै पनि पुस्तकहरू प्रायः दोहोरयाएर पढ्न जाँगर चलाउँदिन थिएँ ।
मैले झोलामा बोकिहिँडेको तिनै थोत्रो पुस्तकलाई सन् १८४५ मा फ्रेडरिक एङ्गेल्सले लेखेका थिए । र, पुस्तकको नाम ‘द कण्डिसन अफ ओर्किङ क्लास इन इङ्ल्याण्ड’ भन्ने थियो । अथवा तत्कालीन समयमा अंग्रेज श्रमिकहरूको दुरावस्थाको विषयमा त्यो पुस्तक लेखिएका थियो ।
माक्र्स र एङ्गेल्स दुवैजना मिलेर लेखेका राजनैतिक दस्तावेज ‘कम्युनिष्ट घोषणापत्र’ १८४८ मा प्रकाशित हुन अगावै एङ्गेल्सले क्रान्तिकारी भाषामा लेखेको त्यो पुस्तक नै सारा वर्गीय विभेदका आमुल परिवर्तनका श्रोत हुन् कि भन्ने मलाई यदाकदा अनुभुति हुने गर्दथ्यो ।
‘नर्दन रेल’ आफ्नो गन्तब्यतर्फ क्रमशः बढिरह्यो । समय समयमा रेलले निकालेको छकछक आवाज मेरो कानसम्म आइपुग्ने गर्दथ्यो । मैले त्यसबेला निकोला टेस्लाको एउटा मर्मस्पर्शी भनाइलाई एकपटक सम्झें–
‘सबै कुराहरूमध्ये पुस्तक सबैभन्दा उत्तम कुरो हुन् ।’
त्यसपछि म पुस्तकका हरेक हरपहरुमा मज्जाले घोत्लिन थालें । बेलायतमा भर्खर भर्खरै आविष्कार गरिएको स्टिम इन्जिन र तिनै मेसिनहरूसँग सँगै काम गर्दा सर्वहारा वर्गले पाएको दुर्दशा लेखिएको तिनै पुस्तक पढ्दा कुनै कुनै बेला म अति भावुक हुने गर्दथे ।
लगभग ४० मिनेटको यात्रापछि हाम्रो रेल म्यानचेस्टर पिकाडेलीमा पुगेर अन्तिमचोटी रोकियो । रेल रोकिएपछि तारा र म एक–एक वटा हाते झोला काँधमा भिरेर रेल स्टेसनबाट बाहिर निस्कियौं ।
रेल स्टेशनदेखि बाहिर निस्केर हिँड्दै ट्याक्सी स्टेशननजिकै पुगेका थियौं । तर स्टेसनमा पुग्ने बित्तिकै थुप्रै मानिसहरूको भीड देखेर एकछिन आश्चर्यमा परयौं । त्यसदिन म्यानचेस्टर युनाइटेड र चेल्सीको बृहत ठुलो फुटबल खेल ओल्ड ट्रार्फोर्डमा हुन गइरहेको थियो । त्यसैले म्यानचेस्टर युनाइटेड फुटबल क्लबको रातो गन्जी लगाएका थुप्रै फुटबल अन्धोभक्त समर्थक ठिटाठिटीहरू ट्याक्सी पर्खेर त्यही बसिरहेका थिए । अझै कुनै कुनै फुटबल समर्थकहरू त एक अर्कामा अङ्गालो मार्दै गीत गाउँदै र नाच्दै गरेका पनि देखिन्थे ।
हामी दुईजना चुपचाप तिनै हुलको अन्तिममा पुगेर उभिरह्यौ । एकछिन पछि तीन–चार जना अंग्रेजहरू खुट्टा लरबराउँदै लरबराउँदै हामीतर्फ बढ्दै आए । उनीहरू त्यति बिहानैदेखि मातिसकेका रहेछन् भन्ने कुरो मैले उनीहरूले चालेको कदमबाट नै पत्ता लगाइसकेको थिएँ ।
बिहानको सूर्यले एक टाङ्गो पार नगर्दै अंग्रेजहरू मातेको देख्दा अंग्रेज फुटबल सँस्कृतिले अति चरमोत्कर्ष स्थानमा पुगेको जस्तो मलाई कताकता अनुभुति भयो । अझै तिनीहरूमध्ये झ्याम्म बोके दार्ही पालेका एकजना मत्थुले, ‘जिन्दगीमा शारीरिक सम्पर्क र पेय पदार्थ पछिको मनोरन्जन फुटबल खेललाई नै लिन सकिन्छ,झ् भन्दै हामीतर्फ अघि बढेको देख्दा मलाई हल्का हीनताबोध भयो । तर मैले मत्थुहरूप्रति केही वास्ता नगरे झै गरे, झन् ताराले त उसले के भनेको होला भनेर बुझ्ने कोसिस पनि गर्न चाहिनन् ।
केहीबेरपछि ट्याक्सी चढ्ने हाम्रो पालो आयो । हाम्रो ठीक अगाडि ट्याक्सी आएर रोकिनेबितिक्कै हतार हतार ट्याक्सीभित्र पसिहाल्यौं । ट्याक्सीभित्र आरामले बसेपछि मैले चालकलाई वेस्टी, सालफोर्ड जानको लागी अनुरोध गरें । त्यसपछि पाकिस्तानीमुलका चालकसँग उर्दु भाषामा हाम्रो हल्का परिचय भयो ।

मेरो लट्याङ पट्याङ उर्दु भाषा सुनेर उसका दार्ही जुङ्गासम्म प्रभावित बने । यात्राको क्रममा उसले लाहोरदेखि म्यानचेस्टरसम्मको राम कहानी हामीलाई सुनाइरह्यो । उसको जीवनमा घटेका दुःखद् घटनाहरू सुनेर मेरो हृदय केहीबेर बिचलित बने । त्यसैले घुमाउरो पारामा तै पनि तपाईलाई अहिले म्यानचेस्टरको जीवन आमोद प्रमोद छ नि भनेर उसलाई सानोतिर हानी पठाएँ । तर मेरो भनाई सुनेर उसले एक्कै शब्द निकालेन बरु फिसिक्कै मुस्कान छाड्यो ।
हामी केहीबेरमा वेष्टी पुग्यौ र भिक्टोरिय मिलको ठिक अगाडि मैले ट्याक्सीलाई रोक्न लगाएँ ।
भिक्टोरिय मिल त्यस्तो ठाउँ हो जुन ठाउँबाट एउटा विशाल दर्शन ‘साम्यवाद’ को जन्म भएको थियो । तिनै घरमा सन् १८३७ मा पिटर एर्मेन र फ्रेडरिक एङ्गेल्स (सिनियर) मिलेर ‘एर्मेन एण्ड एङ्गेल्स’ कटन मिल खोलेका थिए । सालफोर्डमा कटन मिल खोलेर एङ्गेल्स प्रर्सिया पुगेपछि आफ्नो छोरालाई त्यहाँ हुने ब्यापारिक भविश्यको विषयमा हरेकदिन सुनाउने गर्दथे ।
तर छोरो त्यसबेलासम्म अलिक कलिलो भएको हुनाले त्यति धेरै कुरो बुझ्दैनथें । जब छोराले अलिक धेरै कुरो बुझ्ने भयो त्यतिबेला उनी समुल सुधारवादको विचार पछ्याएर आमुल परिवर्तनको पक्षधरमा उभिन थाल्यो । अझै उनले आफ्नो विचारलाई निरन्तरता दिन युनिभर्सिटीको अध्यान बीचैमा छाडिदियो । त्यसरी अध्यानलाई छाडदा बाबुले उसलाई जब्बरजस्ती म्यानचेस्टर पठाइदिए । सन् १८४२ मा फ्रेडरिक एङ्गेल्स म्यानचेस्टर आउँदा उनको उमेर केवल बाइस वर्षका मात्र थिए ।
एङ्गेल्स म्यानचेस्टरमा पुगेर मिलको मालिक भएर काम गर्न थाले । उसको मिलमा काम गर्ने जम्मै श्रमिकहरू चाहिँ निम्न वर्गका सदस्यहरू थिए । अनि तिनीहरूको भयानक तितो भविष्य देखेर उनी ज्यादै दुःखी हुन थालेका थिए । उनलाई समय समयमा उच्च वर्गले ब्यवस्थापन गरेको ‘सेम्पेन पाटी’ मा उपस्थित हुन निम्ता गरिन्थ्यो तर पाटीमा नगएर बरु उल्टै श्रमिकहरूसँग नजिक भएर समय बिताउन थालेका थिए । श्रमिकहरूले त्यति न्युनतम तलबमा ज्यादै कठिनाइ काम गर्नुपरेको अवस्था देख्दा उसको हृदय जलेर खरानी हुने गर्दथे । अझै बेलायती ठण्डी महिनाहरू नोभेम्बर डिसेम्बर र जनवरीको कठयाङगिने जाडोमा पनि कलिला कलिला बाल बच्चाहरू र महिलाहरूको परिश्रम देख्दा उनि भाव विह्वल हुने गर्दथे ।
त्यति मात्रै नभएर मिलमा काम गर्ने वातावरण नै राम्रो थिएन जसले गर्दा हरेक हप्ता एक–दुईजना श्रमिकहरूको ब्यर्थैमा ज्यान जाँदा उनी भयाकुल हुने गर्दथे । त्यसबेला बेलायत भर्खर भर्खरै नयाँ औद्योगिक युगमा प्रवेश गर्दै थियो । त्यसैले श्रमिकहरूको पक्षमा कुनै पनि शक्तिशाली नियम एवम कानुनहरू बनिसकेका थिएनन् । त्यहाँ राजनैतिक र सामाजिक अन्याय मात्रै नभएर सबै प्रकारको मानवीय अन्यायहरू हुने गर्दथ्यो । जुन अन्यायको मुल जरो चाहिँ वर्ग विभाजन र पुँजीवाद नै हो भन्ने उसले पुर्णरूपले ठम्याएका थिए ।
‘आ….थोत्रे घर पनि कति हेरिरहने होला ?’
ताराको मुखबाट बिजुली चम्केझैं निस्केको आवाज अचानक मेरो कानमा बज्र्यो । म तिनै युवक एङ्गेल्सको जीवनचार्यलाई सम्झेर त्यतिबेलासम्म भावनामा डुबिरहेको थिएँ ।
चालकलाई, ‘अब जाऊ है,’ भन्ने बितिक्कै उसले ट्याक्सीको हाते ब्रेक खोल्यो र पुनः सालफोर्डको बाटोमा ट्याक्सीले गति लिन थाल्यो । हामी विस्तारै ग्रेट डुसी स्ट्रिटतर्फ लाग्यौं अनि क्रमशः थोर्नक्लिफ ग्रोभ र डोभर स्ट्रिटतिर ट्याक्सीबाट एक चक्कर मार्यौ, किनभने एङ्गेल्सले सालफोर्डको तिनै घरहरुमा पटक पटक कमिलाझैं डेरा सारिरहेका थिए । अझै भनौं बेलायती गुप्तचर प्रहरीहरूबाट बच्न उसले डेरा मात्र सारेका थिएनन् आफ्नो असली नाम कसैले चाल पाउन नसकोस भनेर छद्धमभेषी नाम ‘जनरल’ भनेर उनले आफ्नो परिचय दिने गर्दथे ।
सालफोर्डको भ्रमण सकिएपछि जुल्फिकरले हामीलाई रेल स्टेसनमा झारिदियो । त्यसपछि बेलुकीको एउटा रेल समातेर हामी बर्मिङ्घामतर्फ लाग्यौं । रेलभित्र पसेपछि ताराले अघि झै मलाई अडेस लगाएर मज्जाले आराम गर्न थालिन् । तर मेरो क्षुद्र दिमागभरि तिनै एङ्गेल्सको जीवन कहानी पुनारवृत भै रह्यो ।
‘पेटको भरले दिमागले काम गर्छ,’ भन्ने विचारका धनी एङ्गेल्सले दुई वर्ष सालफोर्डमा बस्दा ‘द कण्डिसन अफ ओर्किङ क्लास इन इङ्ल्याण्ड’ को जन्म मात्र दिएका थिएनन् । तिनै मिलमा काम गर्ने एकजना श्रमिक युवतीसँग प्रेमलिलामा फँस्न पनि पुगेका थिए । तर उसलाई राम्रै हेक्का थियो कि वर्ग विभेदको कारणले गर्दा उनीहरूबीच एक अर्कामा विवाह हुन एकदमै कठिन छ । त्यसैले त्यो अवैधानिक प्रेमलाई उनीहरूले एकदम गुपचुपमा राखेका थिए ।
उच्च वर्गको प्रर्शियन युवक फ्रेडरिक एङ्गेल्स र निम्न वर्गको आइरिस युवती मेरी बन्र्सको अदृश्य प्रेम रोमान्चकारी बन्दै गएको मेरीकी बहिनी लिज्जीलाई चाहिँ राम्रैसँग थाहा थियो । तर मेरीको बाबु माइकल बन्र्सलगायत अरु श्रमिकहरु कसैले सुईको सम्म पाएका थिएनन् ।
निक्कै लामो समयसम्म दुईजनाको प्रेमलिला चलिरह्यो । दुर्भाग्यबस सन् १८६३ मा ४१ वर्षको अल्पाआयुमा मेरी बन्र्सको अचानक मृत्यु भयो । ‘उनको मृत्युले बनाएको खाली ठाउँ मेरो जिन्दगीमा कहिले भरिँदैन,’ भनेर उदास बन्दै भौतारिहिँडेका एङ्गेल्सलाई मेरीकी तिनै बहिनी लिज्जीले पुनः दिदीको ठाउँमा साथ दिइन । त्यसपछि सन् १८७० मा एङ्गेल्स लिज्जीसँग सुटुक्कै सँधै सँधैको लागि म्यानचेस्टर छाडेर लण्डनतिर लागेका थिए ।
‘रेडिसन ब्लु’ होटल वर्मिङघाममा एक रात बिताएर बिहानीको खाजा हसुरे पछि तारा र म ‘मुर स्ट्रिट’ रेल स्टेसनतर्फ लाग्यौं । त्यहाँदेखि चिल्टर्न रेलवेजको एउटा रेल समातेर लण्डनतिर बाटो ततायौं । बर्मिङ्घाम छाडेको केहीबेरपछि रेलले सोलिहलमा पुगेर एकछिन थकाइ मारयो ।

‘सोलिहल क्षेत्र’ लण्डन पछिको दोश्रो ठुलो सहर बर्मिङघामको अति धनाढ्यहरूको प्रख्यात बस्ती रहेको थियो । उपनिवेष कालमा भारत जम्मै रित्याएर ल्याइएका सम्पत्तिले बनेका जस्ता त्यहाँका भिमकाया महलहरू, सुन्दर बगैंचाहरू र फराकिला आँगनहरू देखेर तारा केहीबेर भावुक बनिरहिन् । सायद माक्र्स र एङ्गेल्सको सपना पुरा भएर कसैले पनि ब्यक्तिगत सम्पत्ति राख्न नपाइने हुँदो हो त यिनै विशाल महलहरूमा हामी पनि बस्न पाइन्थ्यो होला कि भनेर उनले मधुरो स्वरमा बोलिन् ।
उनको भनाइ सुनेर म एकछिन नाजावाफ बनिरहें किनभने म अर्काले कमाएको सम्पत्तिमा भन्दा पनि आफ्नो कर्म र परिश्रममा विश्वास गर्दथे । रेलले क्रमशः आफ्नो गति लिइरह्यो र केहीवेरमा वारविक, लिमिङ्टन स्पा, बानबुरी र विस्टर उत्तरमा रोकिँदै हेड्डेनहाम पुग्यो । रेल हेड्डेनहामदेखि हाइवेकम नपुगिन्जेलसम्म मैले ‘देम र रिसबोरो’ को दमसाइलो जमिनमा बनेका फाटिला घाँसे मैदानहरूलाई लामो समयसम्म हेरिरहें ।
रिसबोरोदेखि शुरु भएको त्यति आकर्षक जमिन उँधो उँधो बढ्दै जाँदा दक्षिणी भागमा अवस्थित चिल्टर्न डाँडोको क्षितिजसम्म पुगेर विलय भएका थिए । अनि तिनै घाँसे जमिनमाथि निस्फिक्रीसँग चरिरहेका हेरिफोर्ड सायर गाइहरू र स्रोपसायर भेडाका बथानहरूले ती चरणहरू झन कम्ती रमाइलो देखिएका थिएनन् ।
त्यति रहरलाग्दा भेडाका जोडा जोडी पाठाहरू खुशीले तरङ्गित हुँदै आफ्नो आमाबाबाको अगाडि पिछाडि उफ्रिरहेको देख्दा मलाई किन किन नराम्रो महसुस हुने गर्दथ्यो, किनभने धेरै जसो निरीह पाठोहरूको आयु मात्र ६ महिनाका हुन्थे । त्यसपछि ‘ल्याम्प चोप’ मा परिणत भएर मांसभक्षी बुभुक्षित मानिसको थाल थालमा उत्तम डिनर बनेर सजिन पुग्दथ्यो । म त प्रकृति र प्राणीप्रति प्रेम गर्दथे त्यसैले शाकाहारी नै थिएँ तर तिनीहरूको दयनीय जीवनलाई सोच्दा वास्तवमा मानिसहरू कति निर्दयी र दुष्ट हुने रहेछ भन्ने मलाई तिनै पाठोहरूलाई देखेर ठिट लाग्दथ्यो ।
विस्टर उत्तरमा रेल रोकिँदा किनेको ‘अंग्रेजी चिया’ सकिन नपाउँदै हामी लण्डनको मार्लिबन स्टेशन पुगिसकेका थियौं । हामी त्यहाँ पुग्दा स्टेशनको भित्तामा रहेको ठुलो घडीले बिहानीको समय १० बजाइसकेको रेलको झ्यालबाट मैले देखें । रेल पुर्णरुपले रोकिएपछि म एक्कै शब्द नबोलि स्टेशनबाट हिँड्दै बाहिर निस्कन थालें । ब्यस्त सहर लण्डनमा कतै हराइहाल्छु कि भन्ठानेर मेरो पछि पछि ताराले पछ्याउन थालिन् । स्टेशनबाट बाहिर निस्केपछि मोबाइललाई मानव निर्मित उपग्रह ‘सेटलाइट’ सँग जुधाएर जमिनको नक्सा पढ्दै पढ्दै हामी आफ्नै गतिमा रेजेन्ट पार्कतर्फ लाग्यौं ।
केहीबेर हिँडेपछि बाटोमा नै मध्यान्हको भोजन खायौ र ‘१२२ रेजेन्ट पार्क रोड’ पुग्यौं । एङ्गेल्स र बन्र्सले म्यानचेस्टर छाडेदेखि रेजेन्ट पार्क रोडको तिनै घरमा धेरै लामो समयसम्म सँगसँगै जीवन बिताएका थिए । त्यो घरको बाहिरी पर्खालमा निलो रङ्गले पोतिएको गोलो फलामे पातामा फ्रेडरिक एङ्गेल्स १८७०–१८९४ सम्म बसेका थिए भनेर लेखेर राखिएका ‘ब्लु प्लेग’ अहिलेसम्म चम्किरहेको देख्न सकिन्छ ।
त्यस घरमा सरेको ८ वर्षपछि लिज्जी बन्र्स सार्है बिमारी भइन् र ११ सेप्टेम्बर १८७८ को दिन उनको मृत्यु भयो । उनको मृत्यु हुनुभन्दा दुई घण्टा अगाडि मात्रै एङ्गेल्सले लिज्जीसँग सानो बिहे गरेर उनीहरूबीचको वर्ग विभेदको अन्त्य गरेका थिए । उनको मृत्यु भएपश्चात एङ्गेल्स सन् १८९४ मा त्यस घर नजिकै रहेको ‘४१ रेजेन्ट पार्क रोड’ मा डेरा सारे । तर उनी त्यहाँ सरेको अर्को वर्ष ५ अगष्ट १८९५ मा उनको पनि देहान्त भयो ।
२८ नोभेम्बर १८२० वारमेन, प्रर्शिया (हालको जर्मनी) मा जन्मेका एङ्गेल्सको मृत्यु भएपछि वकिङ शव गृहमा लगेर उनको अन्तिम संस्कार गरियो । उनको खरानिलाई आफ्नै इच्छा बमोजिम माक्र्सको छोरी जेनी इलिनरले इस्टबोर्न सामुन्द्रिक किनार नजिकै रहेको बिचीहेडमा लगेर ‘एङ्गेल्स अल बिदा’ भन्दै सँधै सँधैको बहाइदिएका थिइन् ।
खोटाङ, बुइपा, हालः बेलायत मेलमार्फत्

प्रकाशित मिति: असोज ८ २०७७, बिहिबार

प्रतिक्रिया दिनुहोस्

  • धरानको विजयपुरः ‘माल पाएर चाल नपाएको’ ठाउँ

    -राजकुमार दिक्पाल केही सातादेखि ऐतिहासिक विजयपुर क्षेत्रलाई लिएर विवाद चर्किएको छ। स्वस्थ बहस र समाधानतर्फ अघि बढ्नुपर्ने विवाद झन् जटिल बन्दै गएको छ। सम्बन्धित पक्षहरूले...

    • ८ घण्टा अगाडी
    • ७ मिनेट पाठ
  • श्रमदानको ओज

    -बैकुण्ठ दाहाल नेपालको राजनीतिक इतिहासमा धेरै दलहरू स्थापना भए, धेरै नाराहरू उठे, तर आम नागरिकले चाहेको सुशासन, उत्पादनमुखी अर्थतन्त्र र श्रमको सम्मान अझै पनि पूर्णरूपमा...

    • ५ दिन अगाडी
    • ३ मिनेट पाठ
  • डिग्री पास छ तर सर्वसाधारणले पाउँदैनन् जागिर

    जताततै भूपू कर्मचारीको बिगबिगी धरानः सरकारी कार्यालयमा सरकारले प्राइभेट कम्पनीबाट गार्ड नियुक्त गरेको हुन्छ । यता, स्थानीय पालिकाले नगरप्रहरी राखेको हुन्छ । बैंक तथा वित्तिय...

    • १ हप्ता अगाडी
    • ६ मिनेट पाठ
  • नजानिँदो सत्ताको अस्थिर चक्रव्यूह

    -कृष्णबहादुर तामाङ “संसदीय अङ्कगणित र जोड घटाउले विकासको गतिलाई सधैँ बन्धक बनाउन सक्दैन । नेपालको सात दशक लामो राजनीतिक अस्थिरताबाट मुक्त हुने सबैभन्दा प्रभावकारी विकल्प...

    • १ हप्ता अगाडी
    • ८ मिनेट पाठ
  • हामी १२ वर्षमा प्रवेश

    धरानः हाम्रो कोशी आवाज डटकम आफ्नो स्थापनाको ११ वर्ष पूरा गरी आज १२ औं वर्षमा प्रवेश गरेको छ । हामी छैटौं वर्ष पूरा गरी...

    • १ हप्ता अगाडी
    • ३ मिनेट पाठ
  • कथा: धुवाँले निलेको सपना

    -तोमनाथ उप्रेती मोरङको दक्षिणी भेग, रतुवामाई नगरपालिका महादेवाको बिहानको आफ्नै सुगन्ध थियो। असारको वर्षापछि धानका बोटहरूमा टल्किने शीतका थोपा मोतीझैँ देखिन्थे। पूर्वबाट उठेको घामको सुनौलो...

    • १ हप्ता अगाडी
    • ६ मिनेट पाठ

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend