धरानः स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना संक्रमितहरुको उपचारका लागि धरौटी नलिन सरकारी अस्पतालहरुलाई निर्देशन दिएको छ ।
आइतबार आयोजित मन्त्रालयको प्रेस ब्रिफिङमा प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले धरौटी मागेका सरकारी अस्पतालहरुसँग स्पष्टीकरण सोधिएको बताए ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सबै सरकारी अस्पतालहरूलाई धरौटी रकम नलिई कोरोना संक्रमितको उपचार गर्न निर्देशन दिएको हो ।
उनले सक्नेसँग शुल्क लिने र नसक्नेसँग निःशुल्क उपचार गर्ने मन्त्रालयको निर्णय यथावत् रहेको पनि जनाए । सरकारले कोरोना संक्रमितको सःशुल्क उपचार गर्ने निर्णय गरेसँगै विभिन्न अस्पतालहरूले बिरामीहरूको उपचार गर्नुपूर्व धरौटी रकम जम्मा गर्न सूचना निकालेको छ ।
सरकारले कोरोना संक्रमितको उपचार खर्च स्वयं व्यक्तिबाट नै असुल्ने भने पनि खर्च बेहोर्न नसक्ने संक्रमितको भने निःशुल्क उपचार गर्ने भनेको छ । त्यसका लागि सरकारले विभिन्न आधारहरू तोकेको छ । सरकारले विपन्न वर्ग, अपांगता भएका, ७० वर्ष माथिका जेष्ठ नागरिक र एकल महिलाको निःशुल्क उपचार गर्ने भनेको छ । त्यसका लागि आधार अनुसार प्रमाण पत्र अस्पतालमा पेस गर्नुपर्ने छ ।
मन्त्रालयले २ कात्तिकमा विपन्न, अशक्त अति अपाङ्गता भएका, ७० वर्ष नाघेका जेष्ठ नागरिक र फ्रान्टलाइनमा खटिएकाहरुमा लक्षण देखिए मात्र परीक्षण र उपचार निःशुल्क गर्ने निर्णय गरेको थियो ।