धरानः पूर्वाञ्चल किरात याज्थुङ चुम्लुङले २०७८ सालमा हुने राष्ट्रिय जनगणनामा जात र जाति, मातृभाषा र पुर्खाको भाषामा लिम्बू र धर्मको महलमा ‘किरात’ लेख्न र लेखाउन लिम्बू समुदायसँग अपिल गरेको छ ।
चुम्लुङले राजनीतिक तथा सांस्कृतिक आन्दोलन अघि बढाउनका निम्ति समेत महत्वपूर्ण हुने भन्दै अब हुने जनगणनामा जात जाती र मातृभाषाको महलमा हाल सम्म स्थापित र परिचित लिम्बू नै लेख्नु पर्ने उल्लेख गरेको छ ।
लिम्बू समुदायका कतिपयले जातिको महलमा याक्थुङ लेख्नुपर्ने तर्क गरिरहेको अवस्थामा चुम्लुङले जनगणनामा संख्या घट्ने वा घटाउने खालको कुनै तर्क वा बहसमा अहिले नलाग्न अपिल गरेको छ । चुम्लुङका अध्यक्ष योगराज लिम्बू वनेमले अपिल पत्र जारी गरेका छन् ।
राजनीतिक, सामाजिक, सांस्कृतिक, भाषिक अधिकार प्राप्तिका लागि जनसंख्या एक आधारभूत पक्ष रहेको वनेमले उल्लेख गरेका छन् । ‘अधिकार लडेर लिनलाइ जरुरी छ’, उनले लेखेका छन्, ‘जनगणना विकासको आधार हो, पहिचानको आधार हो । जनसंख्या शक्तिको स्रोत हो । राजनीतिक, सामाजिक, सांस्कृतिक, भाषिक अधिकार प्राप्तिको लागि जनसंख्या एक आधारभूत पक्ष हो । जनसंख्या संकलन को समय र सन्दर्भमा अरु विषयलाइ प्रमुख मानी तर्क बहस र विकल्पहरुमा अल्मलियौं भने परिणामत जनसंख्या कमजोर बन्छ ।’
२०६८ सालको जनगणनाको तथ्याङ अनुसार नेपालमा लिम्बूहरुको जनसंख्या ३ लाख ८७ हजार ३०० छ । जनसंख्याको आधारमा लिम्बुहरु १४ औं स्थानमा छन् । नेपालमा किरात धर्म मान्नेहरुको संख्या भने ३.१ प्रतिशत मात्र देखिएको छ । किरात धर्म नेपालको धर्महरुमा चौथौं स्थानमा छ ।
