धरानः बिहे गर्ने उमेर पुगेका युवा–युवतीका लागि चासोको महिना हो मंसिर । यस वर्षको मंसिरमा पनि थुप्रै जोडीहरु धमाधम लगनगाँठो कसिरहेका छन् ।
मंसिरमा बिहे गर्न नभ्याउनेहरुले भने अब लगनका लागि चार महिना कुर्नुपर्ने भएको छ । यसपालि मंसिरदेखि बैशाखको बीचमा बिहेको लगन छैन । मंसिरमा पनि १५ गतेपछि मात्रै लगन निस्केका थिए । पञ्चाङ निर्णायक समितिको पात्रो अनुसार यस वर्षको मसिंरमा जुरेका बिहेका चारवटा साइतहरु मंसिर १६, २१, २२ र २६ गते मात्रै हुन् । १६ गतेको साइत गुज्रिइसकेको छ । अब २१, २२ र २६ गतेमात्रै साइत जुर्छ ।
मंसिरको साइत गुज्रिएपछि मुहूर्त जुराएर बिहे गर्न चाहनेले बैशाससम्म कुर्नुपर्ने जानकारहरु बताउँछन् । श्री पञ्चमी वा विवाह पञ्चमीमा बिहे गर्न साइत जुराउनुपर्दैन भन्ने मान्यता सही नभएको तोयानाथ पञ्चाङ्ग पात्रोमा लेखिएको छ ।
शास्त्रीय मान्यताअनुसार माघ १ गतेदेखि असार मसान्तसम्मका ५ महिना (चैतबाहेक) विवाहका लागि शुभ मानिन्छ । तर यसपटक पुस, माघ र फाल्गुन महिनामा विवाहको लगन नरहेको पञ्चाङ्ग निर्णायक समितिका सचिव सूर्य ढुंगेलले बताए । उत्तरायणका ५ महिना र मंसिरमध्ये पनि वृहस्पति र शुक्र अस्ताएको बेलामा विवाहरव्रतबन्ध गर्न मिल्दैन । यो वर्षको माघ महिनामा लगन नजुर्नुको कारण यिनै ग्रहको अस्त रहेकोले हो ।
यस वर्ष माघ महिनामा किन जुरेन त लगन ? सचिव ढुंगेल भन्छन्, ‘विवाहको लगनका लागि विभिन्न कोणबाट शुभ साइत जुराउनुपर्छ । यो वर्ष माघमा वृहस्पति र शुक्र अस्त भएकोले माघ र फाल्गुनमा विवाहको साइत जुरेको छैन ।’ पञ्चाङ्ग निर्णायक समितिका अनुसार माघ ४ गतेदेखि सुरु भएको वृहस्पति अस्त फाल्गुनको २ गतेसम्म जारी रहन्छ, माघमा नै सुरु हुने शुक्र अस्त भने वैशाख महिनाको पहिलो सातासम्म चल्ने भएकोले विवाहको लगन पनि मंसिरपछि एकैपटक वैशाखमा मात्रै जुर्न लागेको हो ।
पञ्चाङ्ग निर्णायक समितिका सचिव सूर्य ढुंगेलका अनुसार एउटा विवाहको लगनलाई अयन, महिना, तिथि, नक्षत्र, अधिकमास, क्षयमास, चतुर्मास लगायतले प्रभावित बनाएको हुन्छ । शुभ वा अशुभ दिन भनेर निर्धारण गर्ने आधारको रुपमा यिनीहरुलाई लिइन्छ भने विवाहको मुहूर्त जुराउने सवालमा पनि महत्वपूर्ण मान्ने गरिन्छ ।
नेपाली परम्परामा माथि उल्लेखित संयोग मिलेपछि त्योभन्दा गहन रुपमा लगन जुराउने गरिएको छैन । माथि उल्लेखित विषय जुरिसकेपछि लगन अनुसार शुभ मुहूर्त खोज्ने गरिन्छ । पञ्चाङ्ग निर्णायक समितिले तोकेको मितिमा पनि व्यक्तिको कुण्डलीको लग्न अनुसार शुभ अशुभ मुहूर्त जुराउने गरिएको ढुंगेल बताउँछन् । सबै व्यक्तिलाई सबै लगनमा विवाहको लागि जुराएको हुँदैन ।