Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

आम्सटर्डम वेश्यालयको ‘ब्रोन्ज व्रेस्ट’

हाम्रो कोशी आवाज
मंसिर २२ २०७७, सोमबार
आम्सटर्डम वेश्यालयको ‘ब्रोन्ज व्रेस्ट’

अवतरण हुनै लागेको बिमानले अचानक उचाई लिँदा मेरा मनभित्र हल्का तरङ्गहरु उत्पन्न भइरहेका थिएँ । त्यसरी एक्कासी विमानले उच्च गति लिएर आकाश छेड्न खोज्दा, ‘आम्मै ! पटकेले मार्छ कि के हो ?’ भन्ने शब्द मेरो दायाँतिर बसेकी युवतीले अतालिँदै भनिन् । हतासमा आएको उनको त्यो बोली सुन्दा उनी निश्चय पनि क्लेनेथ्लिकी बासिन्दा हुनुपर्छ भन्ने लाग्यो । किनभने, म क्लेनेथ्लीको निजी कलेज ‘सेन्ट माइकलमा’ विगत दुई वर्षदेखि लगातार अध्ययन गरिरहेको थिएँ । र, त्यहाँका मानिसहरुले बोल्ने भाषाको लवज राम्ररी बुझ्ने भइसकेका थिएँ ।
रायन एयरको विमानले कार्डिफदेखि आम्सटर्डमको यात्रा पूरा गर्नै लागेको थियो तर, अचानक आकासिएको विमानले चक्कर मार्दा अङ्ग्रेजी च्यानलको पानी हामीभन्दा माथिमाथि परेको जस्तो मलाई अनुभूत भयो । त्यसै त आम्सटर्डम सहर सामुन्द्रिक सतहभन्दा दुई मिटर मुनिरहेको थियो । त्यसरी चक्कर मार्दा सहर झन मृत सागरभन्दा गहिरो होलाझैं लागिरह्यो । म त्यसबेला विमानको झ्याल नजिकको सिटमा बसिरहेको थिएँ । त्यसैले मेरो आँखैअगाडि परेको त्यति धेरै सामुन्द्रिक पानीसँग डराएर हतारहतार दायाँतिर फर्किन बाध्य भएँ ।
मेरो दायाँतिरका सिटमा एउटी युवती बसिरहेकी थिइन् । उनी डरले एकपोको परिरहेकी थिइन् र उनको अगाडिको कुर्सीको कान मज्जाले समातिरहेकी थिइन् । थरर कामिरहेका तर छुँदा मैलापर्ने उनका सेताम्मे तीघ्राहरु मैले त्यसबेला एकदम नजिकबाट नियालिरहेको थिएँ । साघुँरो शरीर भएको एअरबस ए ३२० ले उछ्श्रृङ्खलता देखाँउदा युवतीलाइ मात्रै होइन, मलाई पनि हल्का त्रास उत्पन्न भइरहेकै थियो । तर त्यति हँसिली चेहरा भएकी बैशालुको अगाडि के डर देखाइ हाल्ने है भनेर म नडराएझै गरिरहें ।
एकछिनपछि बिमानको सिलिङदेखि टिङटङ…गर्दै सानो आवाज आयो त्यसपछि कप्तान केभिन हन्टले उत्तरी सागरबाट अचानक आएको मिसाहा हावाले विमान अवतरण गर्न गाह्रो भएको कुरो तिनै ध्वनिप्रसारक यन्त्रदेखि उदघोषण गरें । त्यसैले हामी एअर ट्राफिक कन्ट्रोलको निर्देशन बिनानै ‘गो राउन्ड’ गरिरहेका छौं भन्ने कुरोपनि उनले यात्रुहरुलाई जानकारी गराएँ ।

गत रातदेखि पश्चिमी युरोपभरि बेस्सरी हिउँ परिरहेको थियो । माथि आकाशबाट आम्सटर्डम सहरको अनुहार हिउँले गर्लम्मै ढाकिरहेको स्पष्ट देख्न सकिन्थे । तर, तिनै सेताम्मे सहरको बिमानस्थलमा सामुन्द्रिक नुन छर्किएर अलकत्रको थोरै मुहार खोलिएका थिएँ । त्यति नराम्रो मौसमको बाबजुद पनि जबरजस्ती विमानले अवतरण गर्नुपर्दा केही समय अगाडिदेखि नै मेरा मनभित्र भय उत्पन्न भइरहेको थियो ।
दोस्रोचोटीको प्रयत्नमा विमानलेशिफोल अन्तर्राष्ट्रिय विमानस्थलमा सकुशल अवतरण गरायो । बिमानले जमिन टेक्ने बितिक्कै हातेझोलालाई दाहिने काँधमा भिरेर मैले अध्यागमनलाई पार गरिहालें । त्यसपछि केहीबेर हिँडेर यात्रु प्रतिक्षालय हलमा पुगें । तीनै हलमा आन फ्रेन्कसँग भेटने हाम्रो अग्रिम सल्लाह भएको थियो ।
आनसँग मेरो परिचय सामाजिक सञ्जालमा भएको हो । त्यसपछि हामी फोनमा पटक पटक बोलिरहेका थियौं । यद्यपि त्यसबेलासम्म हाम्रो शारिरीक भेटघाट चाहिँ भइसकेको थिएनन् । उनी यहुदी हुन् र उनकी परिवार पहिले राइन नदीको किनार नजिकै डोइजवर्ग, जर्मनीमा बस्दथे । नाजीहरुको अन्याय खेप्न नसकेरजीवन बचाउने उद्देश्यले उनका परिवार नेदरल्याण्ड छिरेका थिएँ । आन अठार वर्ष पहिले रोटड्याममा जन्मेकी थिइन् । त्यसपछि उनी सपरिवारसहित आम्सटर्डम बसाईं सरेका थिएँ ।
म प्रतिक्षालय हलमा पुगेपछि आनलाई फनफनी खोज्न थालेका थिएँ । प्रतिक्षार्थीहरुको भीडभित्र साढे पाँच फिटजति अग्ली, कैलाकेश, लामो मोहडा, गोरी अनुहार, थोरै चुच्चा नाक घुर्माइलो आँखा र पुक्कपुक्क स्याउजस्ता पोटिला गाला मेरा नयनहरु सामन्ने कतै परेनन् ।
आनको अनुहार कतै देखा नपरेपछि मलाई सामाजिक सञ्जालसँग थोरै शंका उत्पन्न हुन थालेका थिएँ । तै पनि आवेशमा आएर सामाजिक सञ्जाललाई गाली गरिहाल्ने पक्षमा पुगिसकेका थिइनँ । हुन त सामाजिक सञ्जालले पटक पटक मानिसहरुलाई फसाएको खबरहरु सुनिरहेको थिएँ । तर लरतरले अरुले भनेको कुरोप्रति त्यति चाँडै विश्वास गरिहाल्ने मेरो बानी थिएन तर, आम्सटर्डमको मौसम पटक्कै राम्रो थिएनन्, त्यसैले सायद बाटोमा आउँदै होली भनेर केहीबेर चित्त बुझाएर बसिरहें ।
प्रतीक्षालयनजिकै कोस्टा कफीको दोकान थियो । त्यहाँ गएर एउटा कफी किनेर थपक्कै कुर्सीमा बसेर पिउन थाले । गोजीदेखि मोबाइल निकालेर उनलाई फोन गरें । तर, उनको फोन स्वीचअफ थियो । उनलाई टेक्स्ट गरेर विमानस्थलमा आइपुगेको छु है भन्ने समाचार लेखेर पठाएँ ।
समयको हुरीले अस्तिको दिनदेखि जनवरी महिना भित्रयाइसकेको थिएँ । जसले गर्दा प्रतिक्षालय बाहिर फुसफुसे कोदेपानी वर्सिरहेको थियो । बाहिरको वातावरण हेर्दा हिउँ, झरी र आम्सटर्डम एकअर्कामा पर्यायवाची शब्दहरु हुन् कि जस्तो मेरो मनभित्र लागिरहेको थियो । म तिनै फुसफुसे झरीलाई गहन तरिकाले नियालेर मन्त्रमुग्ध बनिरहेको थिएँ । अकस्मात् मेरो मोबाइलको पटलमा टिङरिङ गर्दै एउटा टेक्स्ट म्यासेज टुप्लुक्कै देखापरयो ।
‘जोनाथन ! म अहिले आमस्टर्डम शिक्षण अस्पतालमा छु । गतराति मेरो बाबु र आमा कार दुर्घटनामा पर्नुभयो । झिसमिसे बिहानीमा चिकित्सकहरुले आमालाई मृत घोषणा गरिसकेका छन् । बाबुका हालत एकदम दयनीय छ । अहिलेसम्म उहाँ सघन उपचार केन्द्रमा रहनु भएको छ । मलाई माफ गर्नोस् ! यस्तो विषम परिस्थितिमा म तपाईसँग बोल्न वा भेटन सक्दिन । कृपया ! अन्यथा नठान्नुहोला ?’
टेक्स्ट आएको देखेर अत्याधिक खुशी भएको थिएँ, तर समाचार पढेर सबैभन्दा दुःखी भएँ । त्यो सबै कसरी हुनसक्यो होला भन्दै दुवैहात पुर्पुरोमा राखेर कुर्सीमा बसिरहें । त्यति दुखित समाचारले म माथि सर्लक्कै आकाश खसेजस्तै भयो । सास फेर्न हल्का कठिन भयो । मेरा नयनहरु काला र निला मात्रै होइन, मधूरो र फुस्रो भएको महसुस गरें ।
चश्मा खोलेर एकछिन टेबलमाथि राखें । मेरा दायाँबायाँ बसिरहेका सबै मान्छेहरु हाँसी खुशी बिहानीको खाजा खाइरहेका थिएँ । उनीहरुलाई खुशी देखेर मलाई थोरै इष्र्या लागिरह्यो । म सँग केही अन्य उपाय नफुरेपछि चर्मचक्षुलाई घुमाएर सर्लक्कै झ्यालदेखि बाहिरतिर पुरयाएँ । कोठा बाहिर मुटु कमाउने जाडो थियो । तर मलाई जाडोले कमाउने मुटुभन्दा आनको दुखित समाचारले झन् बढी मुटु कमाइरहेको थियो ।
अब के गर्ने होला भनेर केहीबेर किमकर्तब्यविमुढ बनिरहें । वेल्स फर्केर जाने हवाइजहाजको टिकट तीन दिनपछिको मात्रै थियो । ‘यस्तो विषम परिस्थितिमा म तपाईसँग बोल्न वा भेटन सक्दिनँ,’ भन्ने उनको समाचारलाई पुनरावृत गरे । त्यसपछि विमानस्थल छाड्ने निर्णय गरें । त्यसैले सुस्तरी कुर्सीदेखि उठेर हिँड्न खोजें । तर, समाचारको प्रभावले मेरो ढाड तीनबाङ्गो कुप्रिएझै महसुस भयो ।
हाते घडीले बिहानीको १० बजाएको थियो । आ…ठीकै छ, सहरतिर लाग्छु भन्ने मनमनै सोंचे । कछुवा गतिमा हिँड्दै केही अगाडि बढें । मेरो सिधै अगाडि एकजना डच महिला हिँडिरहेकी थिइन् । उनैलाई रेलस्टेसन देखाई मागेर त्यतैतर्फ लागें । रेलस्टेसन पुगेर आम्सटर्डम सेन्ट्रल जाने एउटा टिकट खरिद गरें ।
प्लेटफर्ममा यताउता हिँड्दै रेलको प्रतीक्षा गर्न थाले अनि केहीबेरमा टक्क रोकिए । त्यसरी रोकिँदा मेरा खुट्टाहरुले अनायसै प्लेटफर्मका भुईलाई कोट्याउन थालेका थिएँ । तर, किन किन मेरो मनभित्र आनप्रति धेरै सत्य र थोरै झूटको शंका उब्जिरहेको थियो । होइन, होइन ? म सँग उनले के झुटो बोल्थिन् होली भनेर आफैलाई सान्त्वना दिने प्रयत्न गरिरहें । तर, एक्कासी मेरो सिधै अगाडि अगाध प्यारमा झुमिरहेका एकजोडी जुरेली चरीले मलाई केहीबेरसम्म बिरमाइलो बनाइरह्यो ।
विमानस्थल थर्काउने गरी हर्न बजाउँदै रेलले आफ्नो अनुहार देखायो । मज्जाले रेल रोकिएपछि मभित्र पसेर एउटा सिटमा थचक्कै बसिहालें । एकैछिनमा बिनाआवाज रेलले विमानस्थललाई छाड्यो र उच्च गति लिन थाल्यो । मलाई त्यसबेला आ… जिन्दगी भन्ने कुरो यस्तै रहेछ जस्तो लागिरह्यो । झ्यालदेखि बाहिर देखापरेका बिनापातका अपत्र रुखविरुवाहरुसँग म क्रमशः रुमलिन थाले । केहीबेरमा रेलले मलाई आम्सटर्डमको सेन्ट्रल स्टेसनमा पुरयाएर निकालिदियो ।

फुसफुसे पानी पर्न रोकिएका थिएनन् । रेलस्टेसन बाहिर एकदम जाडो थियो । काँचो तोरीको तेल दलिएको बारबर ज्याकेटले मेरो शरीर मुस्किलले घुँडासम्म ढाँकिरहेका थिएँ । तिनै ज्याकेटभित्र राल्फ लोरनको टिसर्ट र खुट्टामा निलो लिभाइजको पतलुङ पहिरन गरिरहेको थिएँ । दुवै हातमा गाइको छालादेखि बनेका एकजोर कालो हातेपँजा र घाँटीमा भेडाको पाठोको नरम उनदेखि बनेको पश्मिनाको गलवन्दीले मज्जासँग घाँटीलाई एकफन्को बेरिरहेको थिएँ । टाउकोमा सिउरिरहेको उनीको टोपीलाई बेस्सरी तानेर कानसम्म झारे अनि युद्धमैदानमा जानको लागि तयार भएका सिपाहीझै झोला पछाडि बोकेर हिँडनको लागि तम्सें । मेरा कदमहरुलाई सुस्तरी अगाडि बढाएँ तर कताकता मोजाभित्र लुकिरहेका खुट्टाका औंलाहरुलाई थोरै चिसो महसुस भइरहेको थियो ।
रेल स्टेशनदेखि बाहिर निस्कें । त्यसपछि कतातिर लाग्नेहोला भनेर एकछिन अलमल्ल परें । के सोचेर आम्सटर्डम पुगेको थिएँ, अहिले यो हविगत भयो भन्दै स्टेसनदेखि निस्केर दक्षिणपूर्व दिशातिर हानिए । अनि अर्ध पागलझै बनेर केहीबेरसम्म एकसुरमा हिँडिरहें । त्यसरी क्रमशः हिँड्दै जाँदा मेरो सिधै अगाडि एउटा भट्टी पसल देखापरयो । अचानक देखिएको भट्टी पलिले मेरा कदमहरु टक्क रोकिए । अब हुने हुनामी दैवले टार्दैन बरु जेसुकै मरोस् भन्दै तिनै गेट्टह्यावेन भट्टी पसलभित्र छिरें ।
भित्र छिरेपछि बारको नजिकै पुगेर बेयरालाई एक पाइन्ट हाइनिकन बियर मगाए । मेरो पछाडि एउटा झोला बोकिरहेको थिएँ । झोलालाई नजिकै कुनामा थन्क्याएर मज्जासँग बियरले घाँटी भिजाउन थालें । भट्टीभित्र चुरोटको धुँवा यदाकदा आकाशका रुमलिने बादलझैं रुमलिरहेका थिएँ । र, म तिनै चुरोटको धुँवाभित्र बादलभित्र हराएको एउटा निर्दोष कागझैं भइरहेको थिएँ ।
वास्तवमा म आम्सटर्डममा राम्रैसँग हराएको थिएँ । अब कहाँ जाने होला ? अनि के गरेर तीनदिन बिताउने होला भनेर थोरै रनभुल्ल परेको थिएँ । तर, अचानक पर्खालको भित्तादेखि लिभरपुलको प्रख्यात साङ्गीतिक समूह बिटल्सको ‘लेट इट बि’ भन्ने गीत बज्न थाल्यो । त्यस गीतले मलाई त्यसबेला म्याथु स्ट्रिट, लिभरपुलको कुनै भट्टी पसलमा छु कि भन्ने अनुभूति गराइरह्यो । किनभने, त्यसबेलासम्म बिटल्सका त्यति मिठो कर्णप्रिय स्वरहरु मेरो कानदेखि विलय भइसकेका थिएनन् ।
तीन पाइन्ट हाइनिकन स्वाटै बनाइसकेपछि रात कटाउने ठाउँ खोज्नुपरयो भन्दै भट्टीदेखि सुस्तरी बाहिर निस्के । त्यसरी बाहिरिँदै गर्दा मेरो सिधै अगाडि एउटा बडेमाको कटुसको रुख देखापरयो । तिनै कटुसका फेदमा चार–पाँचजना गँजेँडेहरुले छाडेका गाँजाको धुँवा उडेर हावामा अचम्मको आकार प्रकार बनिरहेको मैले नजिकैदेखि नियालेर हेर्न थालें । बत्तीको प्रकाशसँग मिसिएर गाँजाको धुँवा विभिन्न रङ्गमा परिवर्तन भइरहेका देख्दा मलाई हल्का रमाइलो महसुस भइरहेको थियो । समय समयमा धुँवाका मुस्लोहरु स–साना बादलमा परिणत भएर आकाशभरी मडारिरहेको देख्दा मलाई केही उदेक लागिरहेको थियो ।

कटुसको फेददेखि सिधैअगाडि एउटा सानो नहर देखिन्थ्यो । नहरमाथि एक झमट बुर्कुसी मार्दानहर पारी पुग्न सकिने जस्ता देखिएतापनि यथार्थमा त्यस्तो सम्भव थिएनन् । गल्लीको किनारमा बलेको बत्तीको प्रकाशले नहरको पानी टलक्कै टल्किरहेका देखिन्थे । म त्यसै त प्रकृतिप्रेमी मान्छे थिएँ, झन नशाको सुरमा मेरो लोभी नजरलाई नहरको रङ्गीन पानीले मलाई त्यसबेला खुब आकर्षण गरिरहेको थियो ।
नहरको सिधैपारीपट्टी एक हुल मानिसहरु जम्मा भएर बसिरहेका थिएँ । उनीहरुको हात हातमा बियरका बोतलहरु थिएँ । तिनै बियरको जोसमा सानो डाँडामाथि अचम्मसँग गीत गाउँदै नाच्दै गरिरहेका थिएँ । आम्सटर्डम वेश्यालयको नजिकै रहेको तिनै सानो डाँडालाई मैले ‘हुकर हिल’ नामाकरण गरिदिएँ । र, हुकर हिलमा भएको त्यति रमाइलो ‘स्ट्रिट पार्टीको’ चर्तिकलाले मलाई केहीबेर अचम्मित तुल्याइरह्यो ।
उनीहरुदेखि मेरो नजर हटाएर सानो गल्लीतर्फ पुरयाइ दिए । साँझ झमक्कै परिसकेको थियो । केही समय अगाडिदेखि आकाशमा ताराहरु फलिसकेका थिएँ । आकाशमा भएका जम्मै ताराहरुको नजर लगाएपछि मैले लामो लामो सास तानें । र, सहरको नजिकै बहिरहेको आमस्टेल नदीले छाडेको मन्द मन्द हावामा मिसिएर आएको अक्सिजनले मेरो फोक्सोलाई एकचरण मज्जाले सफा गरें ।
निक्कै लामो समयसम्म रुखको फेदमा बसेर रमिता हेरिसकेपछि मेरा कदमहरु सुस्तरी ‘रातो बत्तीको जिल्ला डि वालेन’ तर्फ लम्कन थालेका थिएँ । दिनभरि पानी परेर भिजेको आम्सटर्डम सहरले भर्खरै शान्तिका सास फेरिरहेको थियो । पानीले डि वालेन वेश्यालयका गल्लीहरु धोबीले धोएर पखालेका लुगाभन्दा सफा देखिएका थिएँ । म तिनै सफा गल्लीमा मानिसहरुले तानेको गाँजाको धुँवा र आफैले पिएको बियरको नशा शरीरमा निरन्तर बहिरहने तातो तातो रगतसँग मिसाएर विश्वको यौनिक राजधानी आम्सटर्डम फनफनी घुम्ने आँट गरिरहेको थिएँ ।
मलाई डच बियरले साहस भरिदिएपछि मताहा हात्तीझै लमकलमक अगाडि लम्कन थालेको थिएँ । त्यसपछि मेरा कदमहरुले क्रमशः गल्लीमा बिछ्याइएका ढुङ्गाहरु गन्दैगन्दै अगाडि बढिरहें । तर मेरा कदमहरु जतिजति अगाडि बढ्दै जान्थे, उतिउति खुट्टाहरु लरबराएका जस्तो लाग्दथ्यो । किनभने, त्यहाँ हिँडिरहेका सबै मान्छेहरुको गिद्देदृष्टि मै माथि खनिएको झैं लागिरहेको थियो । त्यसैले थोरै सरम मान्दै मेरा अनुहार रातापिरा भइरहेका महसुस गरिरहेका थिएँ । निश्चय नै एउटी सुन्दरी आनको खोजीमा आम्सटर्डम पुगेको थिएँ । तर, सिसाका झ्यालहरुभित्र देखिने अनगिन्ती आनको प्रतिरुपहरु देखेर छक्क परिरहेको थिएँ ।
दिनभरि परेको पानीले विश्राम लिएपछि गल्लीमा मान्छेहरुको हुल बढ्दै जान थालेका थिएँ । ‘मार्करमिर ताल’ बाट समय समयमा हुनुनु आवाजसहित आएको चिसो बतासले मेरो कानसिरी कठङ्ग्रिन खोजिरहेका जस्तो भान पर्दथ्यो । म गन्तब्यहीन दिशामा भौतारिरहेको थिएँ । त्यसैले मेरा सिधै अगाडि परेका गोरेटोहरुजति सबै मेरा हुन् भन्दै निरन्तर अगाडि बढिरहें ।
केहीबेर हिँडेपछि ‘औडी डेलानस्ट्राट’ गल्लीमा पुगेर मेरा कदमहरु अचानक रोकिए । त्यँहीबेला मेरो सिधै अगाडि एउटी सुन्दरीवेश्या देखा परिन् । अझै उनले दाहिने हात उठाउँदै ‘यता भित्र आउनोस्,’ भन्ने मलाई सङ्केत गरिरहेकी थिइन् । उनी शिशाका झ्यालभित्र थिइन् र म उनको ठीक विपरीत दिशा गल्लीमा ठिङ्गै उँभिरहेको थिएँ । एक अर्कामा हाम्रा नजर जुधेपछि झण्डै निर्वस्त्र वेश्याकी अनुहार, छाती, पेट, फिला र खुट्टासम्म मज्जाले नियालेर हेरें । रेड लाइट डिस्ट्रिकमा देखिएका वेश्याहरुमध्ये सबैभन्दा ‘सुन्दरी वेश्या’ उनी नै हुन् कि भन्ने मलाई त्यसबेला लागिरह्यो ।
मलाई दोश्रोचोटी बोलाएपछि, उनको कोठामा पस्ने निधो गरें । जब मेरा कदमहरु बढेर ढोका छेवैमा पुगे, तब मलाई कतै नभएको लाज लागेर आयो । त्यसैले मेरो मुन्टोलाई घरी दायाँ र घरी बायाँ हेर्न थालें । म जस्तै अन्य मानिसहरु पनि ढोकाढोका चाहारिरहेको दृश्य त्यहाँ देखापरेका थिएँ । त्यस्तो दृश्यले मलाई हल्का मनोबल त बढाएको थियो तर एक्कासी मेरा नजर सिधै माथिको आकाशतर्फ पुग्यो । त्यसरी अचानक आकाशलाई हेर्दा तितरबितर भएर छरपष्टिएका बादलका टुक्राहरुबीच सुनौला ताराहरु चम्किरहेका देखें । मलाई त्यसबेला बादल र ताराहरुको रमाइलो त्यो खेलनै वास्तविक जीवन हो भन्ने लाग्यो । वास्तविक जीवन सम्झेर जिन्दगीमा पहिलोपटक वेश्यालयको कोठीभित्र छिरें ।
कोठाभित्र पसेर उनलाई आत्मियताको साथ ‘हेल्लो’ भनेको थिएँ । म कोठाभित्र पसेको देखेर उनले दोश्रोचोटी मधुर मुस्कानले वाण हानेकी थिइन् । त्यसपछि, ‘यहाँलाई मेरो कोठामा हार्दिक स्वागत छ,’ सानो स्वरमा बोल्दै मलाई स्वागत गरिन् । उनको स्वागत र आकर्षक शरीरले म केहीबेर द्विविधामा परिरहेको थिएँ । अब के भन्ने होला भनेर मेरो मुखदेखि अर्को शब्द निस्कन एकदम गाह्रो परिरहेको थियो । मलाई एक्कासी अस्वाभाविकरुपले सास बढेर आयो । त्यसैले लामो लामो सास तानेर छाड्ने प्रयत्न गरे । तर किन किन मेरो शरीरदेखि फोक्सोले अघि नै बिदा लिएर हिँडेको जस्तो अनुभूति भइरह्यो ।

‘के तपाई रसियन हो ?’ मुस्किलले मेरो मुखदेखि अर्को शब्द फुत्कियो ।
‘होइन, होइन म पोलिस हुँ । तर मेरी आमा काजाक हुन् । त्यसैले मेरा कैलाकैला आँखाहरु रसियनहरुको जस्तै देखिन्छन् । कृपया ! यता भित्रै आउनोस् ? अनि केही अफ्ठ्यारो मान्न पर्दैन ? यहाँ पाल्नुहुने सबै ग्राहकहरुको उद्देश्य एउटै हुन्छन् ।’
उनले उद्देश्यमा लगेर वाक्यांशलाई पूरा गरेकी थिइन् । मेरो त्यति छोटो प्रश्नको जवाफ निक्कै लामो गरेर फर्काएकी थिइनँ । म जहाँ उभिरहेको थिए त्यसको भित्रपट्टि अर्को दैलो थियो । उनी त्यसतर्फ हिँड्दै गइन् र तिनै दैलोलाई खोलिन् । दाहिने हातले इसारा गर्दै मलाई भित्र पस्न भनिन् । म केही बोलिनँ तर उनले भनेझै सरासर त्यस कोठाभित्र पसें । भित्र पसेपछि नजिकै रहेको कुर्सीमा बस्नको लागि उनले पुनः सङ्केत गरिन् । मैले थोरै सङ्कोच मानें तर दायाँबायाँ नहेरी थपक्कै कुर्सीमा बसें ।
म कुर्सीमा बस्नेबित्तिकै उनले ढोकालाई मज्जाले बन्द गरिन् । चुकुल राम्ररी लागेको छ वा छैन भनेर एकचोटी निश्चित गरिन् । एकै ठाउँ खप्टिएर बसिरहेको झ्यालका पर्दाहरु सरर तानेर टक्क लगाइन् । कोठाको सिलिङ र भित्तामा भएका चहकिला बत्तीहरुलाई हल्का मधूरो बनाइन् । म त्यतिबेलासम्म घोत्लिएर उनको कार्यशैलीलाई एकनासले हेरिरहेको थिएँ । त्यसपछि हिलको टकटक आवाजसहित उनी म बसिरहेको कुर्सीतिर हिँड्दै आइन् ।
जब उनी मेरो नजिकै आइपुगिन् । मेरो मुटुको गति ढुकढुक बढिरहेको थियो । अदृश्यरुपले मेरो सम्पूर्ण शरीर थरर काँपिरहेको थियो । तैपनि उनको त्यति पातलो र आकर्षक शरीरसँग म आकर्षित भइरहेको थिएँ । मलाई डर लागिरहेको थियो तर उनको हरेक गतिविधिलाई खुब नजिकदेखि नियालेर हेरिरहेको थिएँ ।
केहीबेरमा उनका हातका औंलाहरु मेरा शरीरमा ठोक्किन आइपुगे र सुस्तरी सुस्तरी खेल्न थाले । उनको औंलाको स्पर्शले मलाई हल्का अफ्ठ्यारो लागेका थिएँ, त्यसैले आँखाहरु बन्द भए । लाजले मेरो मुखबाट एक्कै शब्द प्रस्फुटित हुन सकिरहेका थिएनन् । किनभने, जिन्दगीमा पहिलोचोटी वेश्यालयको भ्रमण गरेको थिएँ । सायद त्यहाँको चलन त्यस्तै होला भनेर पापी औंलाहरु जति सलबलाए पनि चुपचाप सहिरहेको थिएँ ।
केहीबेरमा उनैले मुख खोलिन्, ‘प्रथमचोटी हो ?’
सुस्तरी हावामा मिसिएर आएको उनको प्रश्नलाई मैले राम्ररी सुनिरहे । तर,उनलाई जवाफ फर्काउन सकिरहेको थिइनँ । म त्यतिक्कै नाजवाफ बनेर बसिरहेको फाइदा उठाउँदै मेरा शरीरमा उनीरहेका सबै कपडाहरुलाई उनैले बिदा गरेर पठाइदिइन् । त्यसपछि, एक्कासी बिनाबादल आकाशमा गुडुडु मेघ गज्र्यो । घरको छानो छेडला जस्तोठूल्ठूला पानीका फोकाहरु वर्षन थाल्यो । मार्कमिर तालको जम्मै पानी उल्टेर आए जस्तै भयो । लाल बत्तीको जिल्ला आम्सटर्डममा समयको हुरी नराम्रो तरिकाले आयो र निमेषभरमा फुसुक्क अन्त भयो ।
मैले एउटा थकित, क्लान्त र शिथल शरीरलाई एउटी वेश्याकी पलङमा केहीबेरसम्म लडाइरहें । एक बोतल पानी पिएपछि उनीसँग बिदा माग्दै म बाहिर निस्कें । एउटी सक्कली आन फ्रेन्कको खोजी गर्दै अन्तराष्ट्रिय यौनिक राजधानी आम्सटर्डम पुगेको थिएँ । तर, नक्कली आनसँग शरीर मिसाएर औडी डेलानस्ट्राटको साघुँरो गल्लीमा हिँड्न थालें । मेरो जिन्दगीको प्रथम सहवासले अनुहार आम्सटर्डमको रेड लाइट डिस्ट्रिकको बत्ती जस्तै लाल रङ्गमा परिणत भएको लामो समयसम्म महसुस गरिरहेको थिएँ ।
आम्सटर्डममा बेस्सरी जाडो भइरहेको थियो । मेरा दुवै हातहरुलाई ज्याकेटको खल्तीभित्र मज्जाले लुकाइराखें । औडी डेलानस्ट्राट गल्लीलाई फेरि नफर्किने बाचा गर्दै सुस्तरी दाहिनेतिर घुमें । त्यसबेला वेश्यालयको समयले एघार बजाइसकेको थियो । मेरो शिरलाई घोप्टो बनाए र निरापराध कदमहरुलाई गन्तब्यहीन दिशातर्फ क्रमशः चालिरहें ।
रात छिपिँदै जाँदै थियो । त्यसैले अलिक जोडले हिँड्न थालेको थिएँ । तर एकैछिनमा गलेर लखतरण परिहालें । केहीबेर टक्क रोकिएर दुवै हातलाई कम्मरमा राखे । त्यसपछि लामो लामो सास तानेर आकाशतर्फ हेरें । मलाई किनकिन त्यसबेला आकासे बगैंचामा टहटह चम्किएका पूर्ण चन्द्रमाले जिस्क्याइरहेको जस्तो भान परयो । गल्लीका किनारमा बलेको बत्तीको प्रकाश एकदम मधूरो थियो । म तिनै मधूरो प्रकाशमुनि खियाले खाइसकेको फलामझैं जीर्ण शरीर लिएर एकाध उभिरहेको थिएँ अनि मेरा पाइतालाहरु सतहमा बिछ्याइएका स–साना ढुङ्गाहरु (कोबल स्टोन) माथि आराम गरिरहेका थिएँ ।
म जुन ठाउँमा उँभिरहेका थिएँ । तिनै ठाउँमा एकजना बेश्या आइमाई आइपुगिन् र मेरो खुट्टाले कब्जा गरिरहेको जमिनमा उनले हेर्न लगाइन् । उनको भनाइ सुनेर पहिले म झसँगै बनें तर हतारहतार भुईतिर नजर लगाइहालें । मेरा खुट्टा नजिकै एउटा धातुको पातामा एकजोडी स्तन ‘ब्रोन्ज ब्रेस्ट’ देखा परे । र, बायाँतिरको स्तनलाई मानवीय हातका पन्जाले च्याप्प समातिरहेका देखिएँ ।
केहीबेर भुइँमा बिलाएका मेरा नजरलाई टिपेर तिनै वेश्यातर्फ पोख्न खोजे । उनले छाडेकी आवाज हावामा बिलिन हुन नपाउँदै उनी मसँग दुर भइसकेकी थिइन् । त्यसरी अध्याँरोभित्र उनी बिलिन हुँदै गर्दा मलाई हल्का लज्जाबोध भइरहेको थियो । मेरा दाहिनेतिर विरहपूर्ण भाखाले नहरको पानी ओरालैओरालो बहिरहेको थियो । मार्कामिर तलाउदेखि आएको चिसो चिसो बतासले मेरो शरीरलाई आंशिकरुपले हल्लाईरहेका थिएँ ।
तर, आम्सटर्डम वेश्यालय बाहिर भेटिएको ‘ब्रोन्ज व्रेस्ट’ कसले र किन बनाएका होला भनेर म निकैबेर घोत्लिरहेको थिएँ ।
बुइपा, खोटाङ, हालः अक्सफोर्ड, बेलायत

प्रकाशित मिति: मंसिर २२ २०७७, सोमबार

प्रतिक्रिया दिनुहोस्

  • धरानको विजयपुरः ‘माल पाएर चाल नपाएको’ ठाउँ

    -राजकुमार दिक्पाल केही सातादेखि ऐतिहासिक विजयपुर क्षेत्रलाई लिएर विवाद चर्किएको छ। स्वस्थ बहस र समाधानतर्फ अघि बढ्नुपर्ने विवाद झन् जटिल बन्दै गएको छ। सम्बन्धित पक्षहरूले...

    • १० घण्टा अगाडी
    • ७ मिनेट पाठ
  • श्रमदानको ओज

    -बैकुण्ठ दाहाल नेपालको राजनीतिक इतिहासमा धेरै दलहरू स्थापना भए, धेरै नाराहरू उठे, तर आम नागरिकले चाहेको सुशासन, उत्पादनमुखी अर्थतन्त्र र श्रमको सम्मान अझै पनि पूर्णरूपमा...

    • ५ दिन अगाडी
    • ३ मिनेट पाठ
  • डिग्री पास छ तर सर्वसाधारणले पाउँदैनन् जागिर

    जताततै भूपू कर्मचारीको बिगबिगी धरानः सरकारी कार्यालयमा सरकारले प्राइभेट कम्पनीबाट गार्ड नियुक्त गरेको हुन्छ । यता, स्थानीय पालिकाले नगरप्रहरी राखेको हुन्छ । बैंक तथा वित्तिय...

    • १ हप्ता अगाडी
    • ६ मिनेट पाठ
  • नजानिँदो सत्ताको अस्थिर चक्रव्यूह

    -कृष्णबहादुर तामाङ “संसदीय अङ्कगणित र जोड घटाउले विकासको गतिलाई सधैँ बन्धक बनाउन सक्दैन । नेपालको सात दशक लामो राजनीतिक अस्थिरताबाट मुक्त हुने सबैभन्दा प्रभावकारी विकल्प...

    • १ हप्ता अगाडी
    • ८ मिनेट पाठ
  • हामी १२ वर्षमा प्रवेश

    धरानः हाम्रो कोशी आवाज डटकम आफ्नो स्थापनाको ११ वर्ष पूरा गरी आज १२ औं वर्षमा प्रवेश गरेको छ । हामी छैटौं वर्ष पूरा गरी...

    • १ हप्ता अगाडी
    • ३ मिनेट पाठ
  • कथा: धुवाँले निलेको सपना

    -तोमनाथ उप्रेती मोरङको दक्षिणी भेग, रतुवामाई नगरपालिका महादेवाको बिहानको आफ्नै सुगन्ध थियो। असारको वर्षापछि धानका बोटहरूमा टल्किने शीतका थोपा मोतीझैँ देखिन्थे। पूर्वबाट उठेको घामको सुनौलो...

    • १ हप्ता अगाडी
    • ६ मिनेट पाठ

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend