धरानः नेपाल कम्युनिष्ट पार्टीको प्रचण्ड–माधव समूहका नेताहरु निर्वाचन आयोग पुगेका छन् । यो समूहबाट अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालसहितका नेताहरुको अगुवाईमा माइतीघरबाट सुरु भएको प्रदर्शन निर्वाचन आयोगसम्म पुगेको हो ।
प्रदर्शनअघि नेताहरुले माइतीघरको सडकमै बसेर प्रदर्शन गरेका थिए । उनीहरुले सर्वोच्च अदालतमा संसद विघटनको रिट पेशीमा राखेको दिन अदालत नजिकै माइतीघरमा हामी यहाँ छौं भन्दै धर्नामा बसेका थिए । त्यसपछि उनीहरु प्रदर्शन गर्दै कान्तिपथस्थित निर्वाचन आयोग पुगेका थिए । तर जमलमा पुगेपछि निषेधित क्षेत्र भन्दै प्रहरीले प्रदर्शनकारीलाई रोकेको छ ।
शुक्रबार बिहान ९ः३० बजेदेखि अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल समूहले माइतीघरमा प्रदर्शन गरेका थिए । उनीहरूको प्रदर्शन शान्तिपूर्ण थियो ।
सो समूहका अध्यक्षद्वय प्रचण्ड र नेपालसहित नेताहरू झलनाथ खनाल, प्रवक्ता नारायणकाजी श्रेष्ठलगायतले छातीमा ‘हामी यहाँ छौं’ लेखेर टाँसेका थिए ।