Hamro Koshi Aawaj

शुक्रबार, असोज २ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

पहिरन नै व्यक्तिकाे भूमिका निर्धारक हाे ?

हाम्रो कोशी आवाज
पुष २० २०७७, सोमबार
पहिरन नै व्यक्तिकाे भूमिका निर्धारक हाे ?

“चेलीले पाइन्ट लगाउँदैमा चेलो हुने होइनन्” पहिलोपटक मैले आफ्नोबारेमा समाजबाट पाएको प्रतिक्रिया यही थियो। म ‘शिक्षित परिवार’मा जन्मेको भएर पनि होला मैले तत्कालीन समाजका धेरै कुरीतिको त्यति सिकार हुने माैका पाइनँ। तर, वैचारिक र संवेगात्मक रूपमा सधैं असुरक्षा भइरहन्थ्यो। म जुन समाजबाट आउँछु त्यहाँ “म छोरी हुँ” भन्ने सत्यता एउटा छोरीले सधैं बोकेर हिँड्नुपर्छ। आफूलाई नै झस्काइरहनुपर्छ र याद दिलाइरहनुपर्छ यो सत्यता। प्रायः हरेक आवाज छोरीहरूले यसकारण आफै दबाउँछन् कि उनीहरू छोरी हुन्। मैले स्कुलमा कहिल्यै केटी साथी पाइनँ। जहाँ म हुर्किएँ र बढेँ त्यहाँ छोरीको लागि उच्च शिक्षा तीन कक्षा पास गराउनु थियो त्यतिबेला। तीन कक्षासम्म पनि नियमित स्कुल जान पाउँदैनथे छोरीहरू विविध कारणले।
मैले पाएको प्रतिक्रियाले एउटा कुरा चाहिँ संकेत गर्छ कि पितृसत्तात्मक समाजमा पुरुषको कपडा मात्रै पनि शक्ति प्रदर्शन गर्न प्रशस्त भइदिन्छ। कहीँ न कहीँ यो विश्वास त हुँदोरहेछ कि पुरुषको कपडा लगाउन सक्नेले भोलि पुरुषलाई उनीहरूकै क्षेत्रमा आएर चुनाैति दिन सक्छन् जुन ‘अनर्थ’ हुनसक्छ समाजकै लागि। र, यस्तै एउटा सानो उदाहरण दिन चाहन्छु म। एकजना कैरी (नाम परिवर्तन) दिदी हुनुहुन्थ्यो। उहाँ त्यतिबेला मैले देखे सुनेकी एकमात्र महिला हुनहुन्थ्यो जुन पुरुष जस्तै भारतमा गएर कमाउनुहुन्थ्यो, अरु पुरुष ‘लाहुरे’ जस्तै छ ब्याट्री लाग्ने टेप बोकेर खल्तीमा एकदुई क्यासेट बोकेर आसपासको गाउँ र आफन्तकोमा जानुहुन्थ्यो। उहाँको कपाल कटाइ, कपडा, जुत्ता र टाउकोमा रुमाल बाध्ने लगायतका कुनै पनि किसिमको पहिरन कुनै पुरुषको भन्दा कम थिएन। उहाँलाई पहिलोपटक देख्नेले दाइ/ भाइ भनेर बोलाउँथे पछि भन्नुपर्थ्यो कि उहाँ दिदी/बहिनी पर्नुहुन्छ भनेर। आफै निहुँ खोज्न जाने, महिला भनेपछि आफू शक्तिशाली हुनुको प्रमाण पेश गरिहाल्ने ती दिनहरूमा रक्सी पिएर बाटोमा सुतेको मान्छेहरूपनि उहाँको लागि बाटो छोडिदिन्थे। जात्रा, जन्तीभोजमा जतापनि प्रायः पुरुषले उहाँलाई बाटो छोडिदिन्थे। उहाँ कथित दलित समुदायको हुनुहुन्थ्यो जुनबेला जातीय भेदभाव अझै उत्कर्षमा थियो समाजमा। तर पनि उहाँलाई नारी र कथित दलित भनेर हेप्ने कसैको हिम्मत हुँदैनथ्यो। पुरुषहरू आफै साइड लागेर जान्थे। यो उदाहरणले अझ स्पष्ट पार्छ कि कपडामा केही न केही हदसम्म शक्ति देखेकै हुँदोरहेछ समाजले।
यही कारण होला बीसाैँ शताब्दीको नारीवादी आन्दोलनमा जब महिलाहरू आफ्नो हक र अधिकारको लागि संगठित रूपमा अघि बढे तब फरिया, स्कर्ट भन्दापनि पाइन्ट र ट्राउजर लगाएर सडकमा उत्रिए। कोको चनेल जस्ता अग्रागामी फेशन डिजाइनरले पहिलोपटक आफ्नै स्कर्टलाई ट्राउजरमा परिणत गरेर लगाएपछि ‘ट्रेन्ड’ नै सुरु भयो। छोटो कपाल बनाउने र ट्राउजर लगाउन सुरु गरिसकेपछि स्वयं महिलाले केही शक्ति हाँसिल गरेको र केही पहिलाभन्दा भिन्न महसुस भएको हुँदो हो। त्यही उर्जा र हाैसलाकै परिणाम महिलाको मताधिकार सुनिश्चित, सम्पत्तिको हक, समानता र समता लगायतका कैयौं माग अघि सारिए, विचार र बहसहरू सुरु भए।
केही मनोवैज्ञानिक विश्लेषकहरू विपरीतलिङ्गी आकर्षणले पनि महिलालाई पुरुषको पहिरनले अाकर्षण गरेको व्याख्या अघि सार्दछन्। मेरो बुझाइमा यो मनोवैज्ञानिक भन्दापनि चेतना र शक्ति संरचनाको उपज हो। कार्ल मार्क्सका अनुसार आधार र अधिरचना दुईवटा संरचनाबाट समाज चलेको हुन्छ। आधारले उत्पादनप्रक्रिया र त्यससँग अाबद्ध रहेको वर्गसंघर्षलाई जनाउँदछ भने अधिरचनाले संस्थागत, वैचारिक र सामाजिकआर्थिक मूल्यमान्यताको क्षेत्रलाई जनाउँछ। अर्थ र उत्पादनमा पितृसत्तात्मक समाजमा महिलाको पहुँच नभएर अन्त्यमा वैचारिक तवरले केही आधारमा परिवर्तन आफूबाटै गरेको भनेर पनि विश्लेषण गर्न सकियो। तथापि यो विश्लेषण ‘सबैलाई’ स्वीकार्य हुनैपर्छ भन्ने छैन।
प्रायः नक्कल गरिने भनेकै शक्ति र सत्तामा पुगेको र रहेको व्यक्तिहरूको नै हो। उनीहरूले निर्माण गरेको ‘डिस्कोर्स’लाई नै सर्वमान्य तरिकाले यसरी लागू गरिदिन्छन् कि बाँकी सबै भ्रम हुन भन्ने भ्रम पैदा गरिदिन्छ। मिसेल फुकोका अनुसार भाषाको सामाजिक अभ्यासको पक्ष नै सङ्कथन अर्थात डिस्कोर्स हो। जसमा शक्ति, सत्य र चित्रण तीनवटा पक्षहरूले ‘सत्य’को प्रतिनिधित्व गर्दछ। तर, त्यो सत्य सार्विक, अन्तिम सत्य र चिरस्थायी भने हुँदैन। जब शक्ति र सत्ता परिवर्तन हुन्छ तब ‘सत्य’ पनि परिवर्तन हुन्छ। पितृसत्तात्मक समाजमा पनि महिला आन्दोलनका आवाजहरू उठ्नुपूर्व सत्य त्यही थियो जे पुरुषले लेख्थे, भन्थे, सुनाउँथे, र आदेश दिन्थे। जब समता र समानताका आवाजहरू उठे तब सत्य आफै ‘विनिर्माण’ भयो विभिन्न क्षेत्रहरूबाट। यसैको फलस्वरूप हुन सक्छ अहिले कति बिदेशी स्कुल/ क्याम्पसहरूको पोसाकमा छात्रहरू पनि मिनिस्कर्ट लगाउने गरेका खबरहरू पढ्न र देख्न मिल्ने। विभिन्न ‘डान्स रियालिटी सो’हरूमा महिलाको पहिरनमा पुरुषले नृत्य देखाइरहेकाे दृश्यहरू हामीलाई आम लाग्न थालिसकेको। सम्भवत शक्ति र सत्यको परिभाषा विनिर्माण हुँदै जानुको नतिजा यो पनि हो।
यो भन्नु नितान्त गलत हुन जान्छ कि पितृसत्तात्मक समाजमा महिला हेपिनू र पछि पर्नुको कारण पुरुषमात्रै हो। यसमा महिला पनि हिस्सेदार हुन्छन् नै। शक्ति पाएको महिलाले कमजोर महिलालाई विभिन्न तरिकाबाट दबाएकै हुन्छ। त्यसको बिल पनि पुरुषको टाउकोमा काटिनुहुँदैन। एउटा उदाहरण दिइहालाैँ हिजोको बुहारी आज सासु बन्ने बित्तिकैपनि उनले शक्तिको अभ्यास सुरु गरिसक्छिन। अन्य प्रशासनिक र ‘राजनीतिक’ क्षेत्रमा पनि एउटा महिला अग्रसर छिन भने ती महिलाले प्रायः महिलालाई नै हेप्ने, गिराउँने र बरु अप्ठ्यारो पार्ने गरेका उदाहरण पनि हामीसँग नभएका होइनन्।
पुरुषनिर्मित सङ्कथनको यति प्रभाव परिसकेको छ कि कहिलेकाहीँ महिलाले आफ्नो न्यायको लागि आवाज उठाएँ सोचेपनि उल्टै आफैमाथि अपमान भइरहेको हुन्छ। मैले देखेको एउटा छोटो प्रसङ्ग जोड्न चाहेँ। एकजना पुरुषले प्रायःजसो रक्सी पिएर महिलाहरूलाई मात्रै तथानाम गाली गर्ने गरिरहन्थे। एकदिन महिलाले गाउँलेलाई गुहार मागेर भेला गराइन। र, गाउँलेले उनैलाई सोधे कि ‘भन यसलाई के सजाय दिनुपर्छ?’ महिलाको जवाफ जस्ताको त्यस्तै, ‘यो नामर्दको हातमा चुरा लगाएर छोडिदेऊ।’
उनलाई आफैलाई लाग्यो कि जुन चुरा उनी सधैं लगाउँछिन्, अवसर अनुसार छानीछानी लगाउँछिन् र साैभाग्यको प्रतीक मान्छिन् तिनै चुरा महिलालाई बारम्बार अपमान गरिरहने पुरुषलाई भयानक सजाय सोचिन्।
पुरुषले जहिल्यै नारीको अपमानै गरे। धर्मग्रन्थले त धुज्जी नै उडाए भन्ने कुराहरू धेरैपटक सुनिसकेका र पढिसकेका कुरा हुन। अब एउटा पृथक प्रसङ्ग यहाँनिर, त्यो प्रसङ्ग हो महाभारतका प्रमुख र प्रभावशाली पात्र मध्येका एक, अर्जुनको प्रसङ्ग। धर्म, सत्य, इश्वरको अस्तित्व रहे नरहेको पाैराणीक र एेतिहासिक तथ्यहरूतिर नजाऊँ अहिले। महाभारत एउटा महाआख्यान हो र अर्जुन एउटा प्रमुख पात्र हुन यो स्विकार्न सायद कसैलाई आपत्ति नहोला। अर्जुन जस्तो सर्वश्रेष्ठ धनुर्धरले अज्ञातवासका बखत एक वर्षसम्म बृहनल्लाको अवतारमा रहेर विराट युद्धको क्रममा भीष्म, द्रोणाचार्य, कृपाचार्य, कर्ण र दुर्योधन जस्ता महारथिहरूलाई पराजित गरेको पाैराणीक घटना अहिलेसम्मकै नारी वस्त्रलाई दिएको न्यायपूर्ण र उत्कृष्ट दर्जा हो मलाई लाग्दछ। जबसम्म पुरुष योद्धाहरू जिउँदो रहन्छन् तबसम्म नारीले युद्धमा भाग लिनु अशुभ र अनुचित मानिने तत्कालीन समाजमा महिलाको पहिरनमा रहेका अर्जुनसँग युद्ध लड्दैनाैँ, यसले युद्धबाट बच्न महिलाको पहिरनमा आयो भनेर कुनैपनि प्रतिपक्षीले अपमानजनक शब्द उच्चारण पनि नगर्नुले महिलाको वस्त्रले अस्त्रकै सम्मान पाएको एक तर्क हो। युद्धलाई प्रोत्साहन दिनुपर्छ यदि नारी वस्त्रले सम्मान पाउँछ भने भन्ने अाशय चैं पटक्कै होइन।
कपडाले ‘नारीत्व’ र ‘पुरुषत्व’ छुट्याउँदैन। समाजले सामाजिक अभ्यासहरूलाई यति सक्रिय हिसाबले प्रस्तुत गरिदिन्छ कि मानवनिर्मित चालचलनहरू पनि ‘प्रकृतिकरण’ गरिदिन्छ। नारीवादी विचारक जुडिथ बटलरका अनुसार जन्मिदै कोही पनि महिला र पुरुषले सामाजिक व्यवहार बोेकेर आउँदैन। समाजमा समायोजन हुन र आफ्नो स्थान बनाउँनका लागि सामाजिक भूमिका समाजबाटै सिक्ने गर्दछ। जसअन्तर्गत हिँडाइ, बोलाइ, कुरा गराइ र पहिरनको कुराहरू पर्दछन्। महिला र पुरुष प्रकृतिले छुट्याइदिएको भएपनि ‘नारीत्व’ र ‘पुरुषत्व’ को दायरा निर्माण र भिन्नता निर्धारण चाहिँ समाज र सामाजिक संरचनाले गर्दछ।
बटलरका अनुसार ‘नारीत्व’ को कुनै तात्त्विक सत्य हुँदैन। कुनै पनि नारी जन्मिदै ‘नारीत्व’ का गुणहरू बोकेर आउँदिनन्। ‘नारीत्व’ कुनै जैविक गुण र भिन्नता नभइ समाजले निर्माण गरेको संरचनाको उपज हो। यसै क्रममा बटलरले फ्रान्सेली नारीवादी विचारक हेलेन सिक्सु, जुलिया क्रिस्टेवाका विचारहरूको पनि ‘विनिर्माण’ गरेकी छिन्। सिक्सु र क्रिस्टेवाका अनुसार नारीको भाषा उसको शरीर र शारिरीक अनुभूतिहरूसँग जोडिएको हुन्छ। महिलाको भाषा प्रेमिल, मिजासिलो, मृदुल र सरल हुन्छ भने पुरुषको भाषा सशक्त हुन्छ जसले शक्ति प्रदर्शन गर्दछ। महिला लेखकको लेखमा तरलता र सरलता हावी भएको हुन्छ भने पुरुष लेखकहरूको लेख विशिष्ट, व्याकरणात्मक रूपमा उच्चस्तरीय र जटिल किसिमको विषयवस्तुमा अाधारित हुन्छ। यिनै विचारलाई खण्डन गर्दै बटलरले तर्क अगाडि सारेकी छिन् कि कुनैपनि भाषा लिङ्गको बनावटले निर्माण गर्दैन। न त जन्मिदै कुनै बालकले भाषाको ज्ञान लिएर जन्मेको हुन्छ। भाषा सिकाइको प्राथमिक र प्रमुख थलो समाज र सामाजिक सङ्घसंस्थाहरू हुन्। समाजमा समायोजन हुनको लागि चलिआएका चालचलन पछ्याउँनु र सिकाइअनुसार व्यवहार अगाडि बढाउँनुलाई ‘नारीत्व’ को तात्त्विक सत्य मान्न सकिँदैन।
निष्कर्षमा कुनै पनि कपडाले व्यक्तिको भूमिका निर्धारण गर्दैन । शरीर ढाक्नबाहेक बाँकी कपडाको कुनै शारीरिक प्रयोजन हुँदैन यदि कपडालाई कुनै ‘आइडियोलोजी’ सँग जोडेर शक्ति अभ्यासको संज्ञा नदिने हो भने। पहिरनले निश्चितरूपमै भूमिकामा प्रभाव पारिरहेकै हुन्छ यदि हाम्रो बुझाइले विचार, बाैद्धिकता, तार्किक क्षमता, धैर्य, हिम्मत र आत्मविश्वास जस्ता पक्षहरूलाई पहिरनको परिभाषाभित्र समेट्न सक्दछ भने। कपडालाई भूमिकाको कारकतत्वसँग जोड्नु र ‘नारीत्व’ र ‘पुरुषत्व’को सत्य तात्त्विक र सार्विक हुन सोच्नु उस्ताउस्तै हो।
प्रमुख अध्ययन स्रोतहरू
क्रिस्टेवा, जुलिया डिजाएर इन ल्याङ्वेज: अ सिमियोटिक अप्रोच टु लिटरेचर एण्ड आर्ट अनु: लियो स्यामुअल, कोलम्बिया युनिभर्सिटी प्रेस, १९८०
फुको, मिसेल “गभर्नेमेन्टालिटी” मिसेल फुको: पावर सम्पादन: जेम्स फाउवियन, न्युयोर्क प्रेस, १९९४
बटलर, जुडिथ जेन्डर ट्रबल: फेमिनिज्म एन्ड द सबभर्जन अफ पेट्रिआर्की न्युयोर्क: रटलेज, १९९०
मार्क्स, कार्ल अ कन्ट्रिब्युसन टु द क्रिटिक अफ पोलिटिकल इकोनोमी अनु: एस. डब्लु. रायाजान्सकाया, मस्को: प्रोग्रेस पब्लिसरस्, १८५९
सिक्सु, हेलेन “द लाइफ अफ मेड्युसा” न्यु फ्रेन्च फेमिनिजम सम्पादन: मार्कस एण्ड फर्टिभोरस, १८८१ साहित्यपोष्ट

प्रकाशित मिति: पुष २० २०७७, सोमबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend