धरानः प्रचण्ड–नेपाल नेतृत्वको नेकपाकी केन्द्रीय सदस्य रामकुमारी झाँक्रीलाई प्रहरीले पक्राउ गरेको छ ।
विघटित प्रतिनिधि सभाकी सांसद झाँक्रीलाई बिहीबार शंखमुलस्थित उनको निवासबाटै पक्राउ गरेको हो । झाँक्रीलाई राज्यविरुद्धको कसुर मुद्दामा दफा ५८ अनुसार पक्राउ पुर्जी थमाइएको प्रहरीले जनाएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले पुस ५ गते प्रतिनिधि सभा विघटन गरेपछि झाँक्रीले सो विघटनलाई तत्काल अनुमोदन गर्ने राष्ट्रपति र सो कदमको समर्थन गर्नेप्रति कडा आलोचना गर्दै आएकी छन् ।
उनले केही दिन पहिले गोरखामा आयोजित एक कार्यक्रममा बोल्ने क्रममा राष्ट्रपतिलाई सो पद र राष्ट्रकै सर्वोच्च संस्थाको गरिमा कायम राख्न आग्रह गरेकी थिइन् ।
यसअघि उनलाई महानगरीय प्रहरीले सोधपुछका लागि बोलाएको थियो । लगत्तै सादा पोसाकका प्रहरी शंखमूल पुगेका थिए । झाँक्रीले उनीहरूलाई पहिले पक्राउ पुर्जी लिएर आउन भनेकी थिइन् । प्रहरीले पक्राउ पुर्जी लगेपछि उनले गिरफ्तारी दिएकी हुन् ।
उनले आफू कानुनको परिपालन गर्ने नागरिक भएको भन्दै उनले राज्यविरुद्धको कसूरको दफा ५८ अनुसार गिरफ्तारी दिने घोषणा गरेकी हुन् । उनले आफूहरूले कहिल्यै पनि अभिव्यक्ति स्वतन्त्रता र नागरिक अधिकार हनन नहुने गरी लोकतन्त्र ल्याएको भएपनि वर्तमान केपी शर्मा ओली नेतृत्वको सरकारले अभिव्यक्ति स्वतन्त्रतामा अकुंश लगाउने कोसिस गरेको उल्लेख गरिन् ।
आफ्नो गिरफ्तारीका लागि आएको प्रहरी र सयौं कार्यकर्ताहरूलाई धन्यवाद ज्ञापन गरेकी छिन् ।