ताप्लेजुङः प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले ताप्लेजुङको मेरिङदेन गाउँपालिका–३ दोभानमा आगलागीबाट विस्थापित हुन पुगेका परिवारको लागि सरकारले पुनस्थापना गर्ने बताएका छन् ।
ताप्लेजुङको दोभान बजारमा आगलागीबाट प्रभावित क्षेत्र अवलोकन तथा विस्थापित परिवारको लागि राहत वितरण गर्दै तीन सरकारले विस्थापित परिवारको लागि सहयोग गर्ने बताएका हुन् । आगलागी प्रभावित क्षेत्रको लागि दिगो योजना बनाएर प्रदेश सरकारसमक्ष योजना माग गर्न स्थानीय जनप्रतिनिधिहरुलाई मुख्यमन्त्री राई आग्रह समेत गरे । केन्द्र सरकारले प्रति परिवार एक लाख दिने बताउँदै प्रदेश सरकारले प्रति परिवार ५० हजार रुपैयाँ नगद राहत उपलब्ध गराउने मुख्यमन्त्री राईले बताए ।
आगलागीबाट विस्थापित परिवारले भूकम्पबाट विस्थापित सो सरह राज्यले सहयोग गर्न मुख्यमन्त्रीसमक्ष माग राखे । उनीहरुले बिनाधितो सहुलियतमा बैंकबाट ऋण उपलब्ध गराउन समेत माग गरेका छन् । मुख्यमन्त्री राईले भने, ‘नजिकको सरकार नजिँकैछ । प्रदेश सरकार पनि छ । केन्द्र सरकार पनि छ । आज प्रदेश सरकार तपाईहरुको आँगनमा उभिएको छ । र केन्द्र सरकार पनि आउँछ सबै काम तीन सरकारले गर्नेछ ।’
मंगलबार दोभानमा आगलागीबाट ४० करोड ५ लाख ७४ हजार २९ रुपैयाँ बराबरको क्षति भएको छ । आगलागीबाट ५० घर जलेर नष्ट भएको छ । भने ६३ परिवार विस्थापित हुन पुगेको क्षति विवरण संकलन संयोजक तथा मेरिङदेन गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत डम्बरबहादुर आङदेम्बेले बताए । ६३ परिवारमा ३२४ जना विस्थापित हुन पुगेको आङदेम्बेले बताए ।
आगलागी विस्थापित परिवारलाई मेरिङदेन गाउँपालिकाले प्रति परिवार १५ हजारको दरले नगत राहत मंगलर बेलुका नै वितरण गरेको गाउँपालिका–३ का वडा अध्यक्ष गरेणशप्रसाद भण्डारीले बताए । त्यस्तै, नेपाल रेडक्रस ताप्लेजुङ र उद्योग वाणिज्य संघ ताप्लेजङले खाद्यान्न तथा कपडा वितरण गरेको छ । विस्थापित परिवार निजिकको छिमेकीहरुमा बस्ने व्यवस्था मिलाएर बसेको भण्डारीले जानकारी दिए ।
तस्वीरः दिलकुमार
