Hamro Koshi Aawaj

शनिबार, कार्तिक २१ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

तीनबुँदे सहमतिमा हस्ताक्षर

हाम्रो कोशी आवाज
फाल्गुन २१ २०७७, शुक्रबार
तीनबुँदे सहमतिमा हस्ताक्षर

धरानः नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले सबैसँग हातेमालो गरेर अगाडि जाने कुरामा आफूहरु तयार रहेको बताएका छन् ।
‘घुम्दै घुम्दै रुम्जाटार’ पुग्ने अनि घोडा चढ्ने अवस्था अब आउन नहुने पनि उनको तर्क थियो । ‘हामी सबैसँग हातेमालो गर्न तयार छौं तर विदेशीले हस्तक्षेप गरे हामी झुक्दैनौं,’ उनले भने ।
राष्ट्रिय सभागृहमा शुक्रबार आयोजित ‘नेपाल सरकार र नेपाल कम्युनिस्ट पार्टीबीच सम्पन्न सहमतिमा हस्ताक्षर कार्यक्रम’मा सम्बोधन गर्दै उनले आजको दिन नेपाली राजनीतिक आन्दोलनको नयाँ दिनका रुपमा अंकित भएको बताए ।
‘यो सहमति केवल नेपाल सरकार र नेपाल कम्युनिस्ट पार्टीको मात्र कुरा होइन,’ उनले भने, ‘केही नेताहरुको कुरामात्र होइन, सहमतिभित्र लुकेको महान आकांक्षा छ ।’ उनका अनुसार यो सहमतिभित्र नेपाललाई सुन्दर बनाउने सपना छ । ‘दिगो शान्ति, स्थिरता, समृद्धिको आकांक्षा र युवामा हुर्किएको समृद्ध जीवनको चाहना छ,’ उनले भने ।
‘विप्लव’ ले युद्धको अन्त्य कम्युनिष्टले गर्न सक्ने बताएका छन् । ‘विश्वमा युद्धको अन्त्य कसैले गर्छ भने कम्युनिष्टले गर्न सक्छ । कम्युनिष्ट जुन दिन विजय हुनेछ, सम्पूर्ण संसारमा हतियार र युद्धको अन्त्य हुन्छ’, उनले भने ।
तीनबुँदे सहमतिमा हस्ताक्षर
यसैबीच सरकार र पार्टीबीच तीनबुँदे सहमतिका हस्ताक्षर भएको छ । नेपाल सरकारको तर्फबाट गृहमन्त्री रामबहादुर थापा र नेपाल कम्युनिष्ट पार्टीको तर्फबाट प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ले हस्ताक्षर गरेका छन् ।
सहमतिपत्रमा भनिएको छ, ‘दुवै पक्ष नेपाल सरकार तथा नेपाल कम्युनिस्ट पार्टी देशको राजनीतिक समस्याहरू वार्ता तथा संवादबाट समाधान गर्न सहमत भएका छौँ । आफ्ना सबै राजनीतिक क्रियाकलापहरू शान्तिपूर्ण रूपमा सञ्चालन गर्न सहमत भएको छ । नेपाल सरकार नेपाल कम्युनिस्ट पार्टीमाथि लगाइएको प्रतिबन्ध हटाउन, कारागारमा भएका नेता तथा कार्यकर्ताको रिहा गर्दै सम्पूर्ण मुद्दा खारेज गर्न सहमत भएको छ । ’
सहमतिमा देशको राजनीतिक समस्याहरु दुवै पक्षले वार्ता र संवादबाट समाधान गर्न सहमत भएको, नेपाल कम्युनिष्ट पार्टीले आफ्ना सबै राजनीतिक क्रियाकलाप शान्तिपूर्ण रुपमा सञ्चालन गर्न सहमत भएका छन् ।
यस्तै, नेपाल कम्युनिष्ट पार्टीमाथि लगाइएको प्रतिबन्ध हटाउन र कारागारमा रहेका नेता तथा कार्यकर्ताको रिहाइ गरी सम्पूर्ण मुद्दा खारेज गर्न तयार रहेका छन् ।
नेपाल शान्तिपूर्ण युगमा: प्रम
प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओलीले नेपाल अब शान्तिपूर्ण युगमा प्रवेश गरेको जानकारी दिएका छन् ।
नेपाल र नेपाली जनताले शान्ति खोजेको चर्चा गर्दै प्रधानमन्त्री ओलीले राष्ट्रियता, राष्ट्रिय अखण्डता, सामाजिक न्याय र समानता, अधिकारसम्म पुग्ने अवसरको प्राप्ती, लोकतन्त्रको रक्षा र शान्ति चाहेको चर्चा गरे । यो सहमतिले नेपाललाई नयाँ युगमा प्रवेश गराएको ओलीको बुझाइ रहेको छ । यसअघि सिके राउतसँग पनि यसैगरी वार्ताबाट सहमति गरी शान्तिको मूलधारमा ल्याएको प्रधानमन्त्री ओलीले स्मरण गरे ।

प्रकाशित मिति: फाल्गुन २१ २०७७, शुक्रबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend