धरानः सरकारले आगामी वर्ष २०७८ को वर्षभर हुने बिदा र कार्यालय समय निर्धारण गरेको छ ।
सरकारले २०७८ सालमा दिइने सार्वजनिक बिदाको सूची सार्वजनिक गरेको हो ।
सोमबार राजपत्रमा प्रकाशित सूचनाअनुसार चालु वर्षभन्दा आउँदो वर्ष चार दिन पर्व बिदा थप भएको छ ।
आउँदो वर्ष दशैंमा ६ दिन बिदा दिइने छ । घटस्थापनासहित ६ दिन बिदा हुनेछ । असोज २६ गते फूलपातीदेखि ३० गते एकादशीसम्म बिदा हुने सरकारले जनाएको छ ।
यता तिहारमा लक्ष्मीपूजाको दिन कात्तिक १८ गतेदेखि २० गतेसम्म बिदा हुनेछ । सरकारले पहिलोपटक राष्ट्रिय एकता दिवस पुस २७ गतेलाई मान्यता दिएको छ ।
यसका साथै विश्व मजदुर दिवस, गणतन्त्र दिवस, संविधान दिवस, प्रजातन्त्र दिवस, महिला दिवसलगायतमा पनि बिदा दिइएको छ ।
गृह मन्त्रालयद्वारा जारी सूचनामा आगामी वर्षभरिका शनिबार बिदा, पर्व बिदाहरु, सम्बन्धित धर्म, संस्कृति, भौगोलिक क्षेत्र र स्थान विशेषका लागि मात्र बिदा हुने पर्वहरु, महिला कर्मचारीहरुका लागि मात्र दिइने बिदा आदि तय गरेको छ ।
त्यसैगरी शिक्षण संस्थाहरुका लागि दिइने बिदा, काठमाडौं उपत्यकाका लागि हुने जात्रा बिदा, दशैं बिदा, तिहार बिदा, दिवस बिदा, जन्मजयन्ती बिदा र राष्ट्रिय रुपमा मनाइने तर कार्यालय खुल्ने प्रकृतिका दिवस तोकिएको छ ।