घरानःप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले दुःख गरेर एकिकृत गरेको पार्टी प्रचण्ड र माधव नेपालका कारण विभाजन भएको आरोप लगाएका छन्।
प्रधानमन्त्री निवास बालुवाटारमा जारी नेकपा एमाले ओली समूहको महाधिवेशन आयोजक कमिटिको बैठकमा बोल्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन्। कम्युनिष्ट पार्टी एकतावद्ध बनाउन आफू अहोरात्र खटेको उनको दावी छ।
उनले भने, ‘कम्युनिष्ट पार्टी एकताबद्ध बनाउन म रातोदिन अहोरात्र खटेको छु। हामी जिम्मेवार र अनुशासित भएकोले हामीले यो पार्टी एकता कायम गर्न प्रयास गर्छौँ। यत्रो दुःखबाट एकीकृत गरेको पार्टी प्रचण्ड र माधव कमरेडहरुको आफ्नो महत्वाकांक्षा र स्वार्थको कारण पार्टी पुनः विभाजित भयो। विभाजित नभएको भएपनि यति धेरै शत्रुतापूर्ण सम्बन्ध बनाइसक्नुभएको थियो।’
केही व्यक्तिहरुले नेताहरुविरुद्ध अराजक ढंगबाट बिषवमन गरिरहेको उनको भनाइ छ।
उनले भने, ‘मलाई साधारण सदस्यबाट समेत हटाउने दुस्साहस भयो। त्यस्ता व्यक्तिहरु नेतृत्वमा हावी हुँदा त्यो पार्टी आकारमा त ठूलो देखिन्थ्यो तर समाजलाई गति दिन र नेतृत्व लिन सक्ने हैसियतमा हुने थिएन। अहिले पनि केही व्यक्तिहरु अराजक ढंगले लागेका छन्। पार्टीकै नेताहरुविरुद्ध बिषवमन गर्न। आन्दोलनका इमान्दार पंक्तिलाई बदनाम गराउने समाप्त गर्ने हिसाबले लागेका छन्।’
पार्टीलाई एकतावद्ध गर्न आफू अझै पनि लचिलो नै रहको उनको दावी छ।
उनले भने, ‘म अझै पनि लचिलो भएर आएको छु। मेरो माधव नेपाल, योगेश भट्टराई लगायतका नेताहरूसँग भेटघाट भयो। दुई कदम पछाडि , एक कदम अगाडि बढेर हिँडनु पर्छ भन्ने लेनिनको शैली अपनाउन तयार भएर कुरा गरेँ। तर साथीहरुमा पार्टी एकताबद्ध बनाउन कुनै पहल, महसुस र अनुभूति देखिँदैन।’
पार्टी खोस्ने ढंगबाट कोही आउँछ भने त्यो सम्भव नहुने उनको भनाइ छ।
पार्टी खोस्ने ढंगले कोही आएको हो भने त्यो सम्भव छैन। कम्युनिष्ट पार्टी नयाँ उचाई र शान र गौरवका साथ अगाडि बढ्छ। यसको नेतृत्व र पहल एमालेले गर्नेछ,’ उनले भने।
स्थायी कमिटीको गठन, अनुशासनको कारबाही, नेताहरुको कार्य विभाजन, समासामयिक प्रस्ताव जस्ता विषय बालुवाटारमा जारी बैठकका एजेन्डा छन्।