Hamro Koshi Aawaj

शनिबार, कार्तिक २१ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

ओलीको नजर गोकर्ण विष्टमा, बालुवाटार बोलाएर मनाउने प्रयास

हाम्रो कोशी आवाज
बैशाख २४ २०७८, शुक्रबार
ओलीको नजर गोकर्ण विष्टमा, बालुवाटार बोलाएर मनाउने प्रयास

धरानः वैशाख २७ गते संसदमा विश्वासको मत लिन लागेका प्रधानमन्त्री केपी शर्मा ओलीले माधवकुमार नेपाल पक्षका नेताहरुसँग छुट्टाछुट्टै भेट गरेर आफ्नो पक्षमा लिने प्रयास गरेका छन्।
शुक्रबार एमालेका सचिव गोकर्ण विष्टसँग प्रधानमन्त्री ओलीले बालुवाटारमा लामो छलफल गरेका छन्।
विष्टनिकट स्रोतका अनुसार प्रधानमन्त्री ओलीले उनलाई आँफै फोन गरेर बोलाएका थिए।
भेटमा पार्टीलाई एकताबद्ध गर्ने विषयमा कुरा भएको स्रोतले बतायो।
‘पार्टीभित्र देखा परेका समस्या समाधानका लागि आँफैले पहल लिन उहाँले प्रधानमन्त्रीलाई सुझाव दिनुभयो,’ उनीनिकट स्रोतले नेपालखबरसँग भन्यो, ‘माधव नेपाल लगायतका केही नेतामाथि गरिएको कारबाही फिर्ता लिएर विश्वासको वातावरण बनाउन समेत आग्रह गर्नुभएको छ।’
नेपाल समूहमा रहे पनि पार्टीको अर्को पक्षप्रति नरम रहँदै आएका विष्टलाई ओली पक्षका नेताहरुले आफूहरुतर्फ आउनसक्ने सम्भावित नेताको रुपमा दाबी गर्ने गरेका छन्।
केहि महिनायता दुई पक्षका एमाले नेताहरु एकआपसमा आरोप प्रत्यारोपमा उत्रँदा पनि विष्ट मौन रहँदै आएका छन्। जसका कारण ओली पक्ष उनीप्रति आशावादी हुँदै आएको छ। तर विष्टको यो पुरानै शैली भएको उनीनिकट नेताहरुको बुझाइ छ।
लामो समय माधव नेपालसँग निकट रहँदै आएका विष्ट अघिल्लो महाधिवेशनमा नेपाल प्यानलबाट सचिव निर्वाचित भएका हुन्।
उनी आफ्नो निर्वाचन क्षेत्र र पार्टी संगठन दुवैतर्फ बलियो पकड भएका नेता हुन्। त्यसैले गर्दा नेपाल पक्षतर्फ भएका नेताहरुमध्ये ओलीले आँखा लगाएका सीमित नेतामा उनी पर्छन्।
त्यसो त ओलीले नेपाल पक्षका घनश्याम भूसाल, योगश भट्टराई लगायतका नेताहरुसँग पनि गएराति बालुवाटारमै बोलाएर घण्टौं छलफल गरेका थिए। सो छलफलमा कुनै सहमति हुन नसकेको नेताहरुको भनाइ छ।

प्रकाशित मिति: बैशाख २४ २०७८, शुक्रबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend