Hamro Koshi Aawaj

शनिबार, कार्तिक २१ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

अन्तर्राष्ट्रिय उडान प्रतिबन्ध लम्बियो, अत्यावश्यक उडान जारी

हाम्रो कोशी आवाज
बैशाख २९ २०७८, बुधबार
अन्तर्राष्ट्रिय उडान प्रतिबन्ध लम्बियो, अत्यावश्यक उडान जारी

धरानः मुलुकको एक मात्र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भएर हुने अन्तर्राष्ट्रिय उडानमाथिको प्रतिबन्ध आगामी जेठ १७ गतेसम्म लम्बिएको छ ।
नेपाल नागरिक उड्डयन प्राधिकरणले जरुरी सूचना निकालेर अन्तर्राष्ट्रिय हवाई उडानमाथिको प्रतिबन्ध थप दुई साता लम्ब्याउने जानकारी अन्तर्राष्ट्रिय उडानका सबै वायुसेवा कम्पनीलाई गराएको हो । तथापि नेपाल र भारतबीच भएको एयर बबल सम्झौताअनुरुप दुई मुलुकको उडानलाई भने निरन्तरता दिइएको छ । उक्त सम्झौताअनुरुप सातामा दुई उडान कायम राख्ने गरी उडान सञ्चालन हुनेछ । नेपालमा यही वैशाख २३ गते रातिदेखि अन्तर्राष्ट्रिय उडान स्थगन गरिएको थियो ।
अहिले अन्तर्राष्ट्रिय तथा आन्तरिकतर्फ कार्गो तथा उद्धार उडान मात्रै सीमित सङ्ख्यामा भइरहेको छ । राजधानी काठमाडौं उपत्यकाको निषेधाज्ञा आगामी जेठ १३ गतेसम्म लम्ब्याउने निर्णय गरिएको छ । सरकारले कोभिड महामारी नियन्त्रणका लागि वैशाख १६ देखि उपत्यकासहित देशका विभिन्न स्थानमा निषेधाज्ञा लागू गरेको छ । निषेधाज्ञाको जारी अवधिमा पनि आन्तरिक र अन्तर्राष्ट्रिय दुवैमा उद्धार, चार्टर्ड तथा कार्गो उडान भइरहेका छन् ।
विमानस्थल कार्यालयका अनुसार मंगलबार अन्तर्राष्ट्रियतर्फ कार्गो तीन कार्गो, दुई चार्टर्ड र एक एयर एम्बुलेन्स गरी कूल छ उडान भएका छन् । नेपाल वायुसेवा निगमले चीनको बेइजिङबाट अक्सिजन सिलिन्डरसहितका सामग्री ल्याएको थियो भने हिमालय एयरलाइन्सले चीनको कुनमिङमा दुई उडानमार्फत कार्गो तथा बंगलादेशमा एक चार्टर्ड उडान गरेको छ । दुबईबाट रोयल एयर एम्बुलेन्सको नेपालमा एक उडान भएको छ ।
अन्तर्राष्ट्रियमा आज विभिन्न एयरलाइन्सका चार कार्गो, एक ट्राभल बबल र एक ट्रेनिङ उडान हुने विमानस्थलले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । आन्तरिकतर्फ हेलिकोप्टर कम्पनी तथा एयरलाइन्सका गरी मंगलबार ६२ उडान भएका थिए ।
अन्तर्राष्ट्रिय विमानस्थलमा आन्तरिकतर्फ १० हेलिकोप्टर कम्पनीसहित १९ वायुसेवा प्रदायक कम्पनीले उडान भर्दै आएका छन् । अन्तर्राष्ट्रियमा तीन नेपालीसहित २० वायुसेवा प्रदायकले उडान सञ्चालन गरिरहेका छन् ।
अघिल्लो वर्ष कोभिड(१९ संक्रमणको पहिलो लहर नेपालमा फैलिएपछि महामारी नियन्त्रणका लागि सरकारले चैत ११ देखि देशभर बन्दाबन्दी गरेको थियो । चैत १० देखि आन्तरिक र अन्तरराष्ट्रिय दुवै उडान स्थगन गरेको थियो । महामारी घटेपछि गत भदौ १६ गतेदेखि अन्तरराष्ट्रिय तथा असोज ५ गतेदेखि आन्तरिक उडान सञ्चालनमा ल्याएको थियो ।

प्रकाशित मिति: बैशाख २९ २०७८, बुधबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend