धरानः नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र बरिष्ठ नेता माधवकुमार नेपाल सहमति नजिक पुगेपछि नेपाल पक्षका सांसदले दिने भनिएको राजीनामा तत्काललाई टरेको छ ।
एमालेका दुई नेताबीच चपली हाइटस्थित हात्तीगौँडामा रहेको व्यापारी रामेश्वर थापाको घरमा साढे चार घण्टा छलफल गरेपछि सहमति नजिक नजीक पुगेका हुन् । नेता नेपालले ६ वैशाखमा अघि सारेको ६ बुँदे प्रस्तावमाथि दुबै नेताले छलफल गरेका छन् ।
छलफलपछि बाहिरिने क्रममा नेता नेपालले २ जेठ २०७५ मा फर्किनेबारेमा अध्यक्ष ओली सकारात्मक देखिएको बताए । उनले वार्ता सकारात्मक भएकाले आफूनिकट २० जना सांसदले दिने भनिएको राजीनामा दुई–चार दिनलाई टरेको बताए । उनले भने ‘आज सांसदहरुले राजीनामा दिने कुरा दुई चार दिनलाई टर्यो ।’ नेता नेपालका अनुसार ६ बुँदे प्रस्ताव र २ जेठ ०७५ मा फर्किनेबारेमा छलफल गर्न फेरि वार्तामा बस्न अध्यक्ष ओली सहमत भएका छन् ।
यस्तै, ओली र नेपालबीच फागुन २८ को महाधिवेशन आयोजक कमिटीको निर्णय कसरी अघि बढाउने भन्नेबारे अध्ययन कार्यदल बनाउने समझदारी बनेको छ।
आजै एमाले स्थायी कमिटी बैठकले नेता नेपाल, भीम रावल, घनश्याम भुसाल र सुरेन्द्र पाण्डेलाई गरिएको निलम्बनको कारबाही फिर्ता लिने निर्णय गरेको छ। स्थायी कमिटीले पार्टी र सरकारको सन्दर्भमा निर्णय गर्ने अधिकार ओलीलाई दिएको छ। यसअघि वैशाख ८ र ९ मा दुई नेताबीच मेरियट होटलमा भेटवार्ता भएको थियो । तर, निष्कर्ष भने केही निस्किएको थिएन ।
माधव समूह जेठ २ गतेको पाटी संरचनामा फर्कनुपर्ने अडानमा छ । त्यस्तै फागुन २८ गतेपछि भएको निर्णय खारेज गर्नुपर्ने माग छ ।
नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक सम्पन्न भएको छ। अनौपचारिक बैठकमा माओवादी अध्यक्ष पुष्पमकल दाहालले पछिल्लो राजनीतिक परिस्थितिका सम्वन्धमा जानकारी गराएका थिए । बैठकले बहुमत संख्या नपुग्ने भएपछि सरकार नेतृत्वका दाबी गर्न नजाने निर्णय गरेको छ। बैठकपछि प्रवक्ता नारायणकाजी श्रेष्ठले भने,” माधव नेपाल समूहले निर्णय नदिएकाले बहुमतीय सरकार बनाउनका लागि तत्काल दाबी नगर्ने निर्णय गरियो।”
माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बिहीबार दिउँसो नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा भेट्न बूढानीलकण्ठ गएका थिए । त्यस भेटमा माधव समूहले राजीनामा नदिए बहुमतको सरकारको दाबी नगर्ने समझदारी भएको बताए । बहुमतको सरकार गठनका लागि प्रतिनिधिसभाका १३६ सांसदको समर्थन आवश्यक पर्छ । तर नेपाली कांग्रेससँग ६१ (दुई निलम्बित) र नेकपा माओवादी केन्द्रसँग ४९ सांसद मात्र छन् ।
यससँगै एमाले अध्यक्ष केपी शर्मा ओली नै प्रधानमन्त्री बन्ने लगभग पक्का भएको छ । उनी जनता समाजवादी पार्टीको महन्थ-राजेन्द्र समूहका सांसदको समर्थन लिएर बहुमतको प्रधानमन्त्री नै दावी गर्ने वा संविधानको धारा ७६ (३) अनुसार अल्पमतको प्रधानमन्त्री बन्ने भन्ने प्रष्ट छैन । किनकी बहुमतको सरकार गठनका लागि राष्ट्रपति विद्यादेवी भण्डारीले दिएको समय बिहीबार राति ९ बजे सकिँदैछ । संविधानको धारा ७६ को उपधारा ३ बमोजिमको सरकार गठन प्रक्रिया भने शुक्रबार मात्रै सुरु हुने राष्ट्रपति कार्यालयका कर्मचारी बताउँछन्। उक्त धारामा उपधारा (२) बमोजिम प्रधानमन्त्री नियुक्ति हुन सक्ने अवस्था नभएमा वा त्यसरी नियुक्त प्रधानमन्त्रीले उपधारा राष्ट्रपतिले प्रतिनिधिसभामा सबैभन्दा बढी सदस्यहरू भएको दलको संसदीय दलको नेतालाई प्रधानमन्त्री नियुक्त गर्ने भनिएको छ।