धरानः निवर्तमान गृहमन्त्री एवं नेकपा एमालेका उम्मेदवार रामबहादुर थापा बादललाई हराउँदै राष्ट्रियसभा सदस्यमा डा. खिमलाल देवकोटा विजयी भएका छन् । उनले ५०८८ मतभार पाए भने बादलले ४०१४ मतभार पाए ।
वाग्मती प्रदेश राष्ट्रिय सभा उपनिर्वाचनमा खिमलाल देवकोटा निर्वाचित भएका हुन् । नेकपा एमाले माधव नेपाल पक्षका उम्मेदवार डा. खिमलाल देवकोटाले प्रदेशमा ५८ र स्थानीय तहमा १२८ मत प्राप्त गरी विजयी भएका हुन् ।
त्यसैगरी उनका प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार रामबहादुर थापाले प्रदेश सभाबाट ४५ र स्थानीय तहबाट १०३ मत ल्याए । थापाले प्राप्त गरेको मतभार ४ हजार ४१ रहेको छ ।
यस्तै नेपाल मजदुर किसान पार्टीका उम्मेदवार कृष्णबहादुर तामाङले स्थानीय तहबाट २ र प्रदेश सभाबाट पनि २ मत प्राप्त गरे। उनले पाएको मतभार १३२ रहेको छ । बिहीबार बिहान मकवानपुरको हेटौंडास्थित भुटनदेवी उच्चमाविको प्रांगणमा मतदान भएको हो ।
विजेता देवकोटालाई नेपाली कांग्रेस र माओवादीले समेत मतदान गरेका थिए । त्यसको फाइदा उठाउँदै देवकोटा राष्ट्रियसभा सदस्यमा निर्वाचित भएका हुन् ।
देवकोटालाई नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी र नेकपा एमालेको माधवकुमार नेपाल समूहको समर्थन थियो ।