धरानः यूईएफए युरो कप अन्तर्गत आज सम्पन्न खेलमा पोर्चुगललाई हराउँदै बेल्जियम क्वाटरफाइनलमा प्रवेश गरेको छ। स्पेनको सेभियास्थित स्टेडियो डे ला कार्टुजामा सम्पन्न खेलमा बेल्जियमले साविक विजेता पोर्चुगलमाथि १-० को संघर्षपूर्ण जित निकाल्दै क्वाटरफाइनलको यात्रा तय गरेको हो।
बेल्जियमको जितमा थोर्गेन हजार्डले निर्णायक गोल गरे। उनले खेलको ४२ औं मिनेटमा गरेको गोल पोर्चुगललाई हराउन पर्याप्त बन्यो। दोस्रो हाफमा पोर्चुगलले बेल्जियममाथि दवाब बढाए पनि गोल फर्काउन सकेन। यद्यपि केही राम्रा अवसरहरु भने बनाएको थियो।
आजै राति सम्पन्न पहिलो खेलमा नेदरल्याण्ड्सलाई हराउँदै चेक रिपब्लिकले क्वाटरफाइनलको यात्रा तय गरेको थियो।
युरो कपमा भरे राति पनि दुई खेल हुनेछन्। पहिलो खेलमा क्रोएसिया र स्पेन पौने १० बजे भिड्नेछन् भने फ्रान्स र स्वीजरल्याण्ड पौने १ बजे भिड्ने छन्।
१० खेलाडीमा सीमित नेदरल्यान्ड्सलाई पराजित गर्दै चेक गणतन्त्र युरो २०२० को क्वार्टरफाइनलमा प्रवेश गरेको छ। आइतबार राति भएको खेलमा चेकले नेदरल्यान्ड्सलाई २-० गोलले पराजित गर्दै अन्तिम आठमा स्थान पक्का गरेको हो।
पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा नेदरल्यान्ड्सका डि लिटले ५५ मिनेटमा रातो कार्ड पाएका थिए। सुरुमा पहेँलो कार्ड पाएका लिटलाई भिएआरमार्फत रेड कार्ड दिइएको थियो।
चेकका प्याट्रिक शिकलाई डिबक्स नजिक रोक्ने क्रममा लिटले हातले बल फर्काएको भिडियो रिप्लेमा देखिएको थियो।
नेदरल्यान्ड्स १० खेलाडीमा सीमित बनेपछि सहज अवस्थामा पुगेको चेकले ६८ मिनेटमा खेलमा अग्रता लियो।
बराकको फ्रिकिकमा कालसले हेडमार्फत मिलाइदिएको पासमा टोमश होल्सले गोल गर्दै चेकलाई अग्रता दिलाए।
८० मिनेटमा चेकले अग्रता दोब्बर पार्यो। उसका लागि प्याट्रिक शिकले दोस्रो गोल गरे। होल्सले दिएको उत्कृष्ट पासमा शिकले दोस्रो गोल गरेका हुन्।
१० खेलाडीमा सीमित हुनुअघि नेदरल्यान्ड्सका डेनयल मालेनले गोल गर्ने पाएको सुन्दर मौका खेर फालेका थिए। वान भर्सेस वानको अवस्थामा उनको प्रहारलाई चेकका गोलकिपरले विफल पारे।
अब चेकले सेमिफाइनल प्रवेशका लागि डेनमार्कसँग प्रतिस्पर्धा गर्नेछ।