धरानः बालुवाटारमा जारी नेकपा एमालेको केन्द्रीय कमिटीको बैठकमा सहभागी नेता वामदेव गौतमले अध्यक्ष केपी शर्मा ओलीलाई माधव नेपालसहितको पार्टी एकता गर्न सुझाव दिएका छन्।
बैठकमा आफ्ना विचार राख्दै नेता गौतमले मुख्य नेतालाई अपमान गरेर एकता हुन नसक्ने बताएका हुन्।
मुख्य नेतालाई सम्मानजनक व्यवहार गरिएन भने तलको पंक्ति भड्किन्छ। मुख्य नेतालाई अपमान गरेर एकता हुँदैन,’ गौतमले बैठकमा भने, ‘हतार गर्नुहुन्न, माधव नेपालसहितको एकता हुनुपर्छ।’
एकताका लागि वार्ता कमिटी बनाइसकेको अवस्थामा यसलाई बीचमै छाड्न नहुने उल्लेख गर्दै नेता गौतमले यसलाई निष्कर्षमा नपुर्याए सबैको राजनीतिक जीवन समाप्त हुने चेतावनीसमेत दिए।
हिजो केन्द्रीय कमिटीको निर्वाचन हुँदा माधव कमरेडका जम्मा ९ जना कम थिए, अहिले पनि अवस्था उस्तै छ। एमाले आधा आधा विभाजित छ,’ उनले भने, ‘वार्ता कमिटी बनाएपछि बीचैमा छाड्नुहुन्न। सार्थक निष्कर्षमा पुर्याउनुपर्छ। अन्यथा हामी सबै समाप्त हुन्छौं।’
नेता गौतमले आफूले अहिलेसम्म मित्रघात नगरेको भन्दै आफूले भनिरहेको कुरा सबैका पक्षमा रहेको र व्यक्तिगत रूपमा ओलीकै पक्षमा रहेको दाबी पनि गरे।
यस क्रममा नेता गौतमले माधव नेपाल पक्षको पनि आलोचना गरेका छन्।
उनले भने, ‘म भएको भए पार्टीबाट राजीनामा दिएर मात्रै देउवाका पक्षमा हस्ताक्षर गर्ने थिएँ। ’