धरानः नेकपा एमालेका उपाध्यक्ष भीमबहादुर रावलले प्रतिनिधिसभा सदस्यबाट राजीनामा दिएका छन् ।
रावलले आइतबार प्रतिनिधिसभा सदस्यबाट राजीनामा दिएका हुन् । अनैतिक खेलमा नलाग्ने भन्दै आफूले राजीनामा दिएको उनले बताए ।
संसद भवन बानेश्वरमा पुगेर सञ्चारकर्मी समक्ष उनले राजीनामा पत्र पढेर सुनाएका थिए । नेपालको राजनीतिक नेतृत्वले नेपाल र नेपालीको शिर निहुराउने काम गरेको रावलले आरोप लगाएका छन् ।
राजनीतिक तहमा देखिएको विवाद समाधान गर्न प्रशस्त मेहनत गरेको भए पनि आफू त्यसमा सफल हुन नसकेको उनले बताए । ‘यस्तो खेलमा मेरो सहभागिता हुँदैन । म संसद सचिवालयमा दर्ता गर्न आएको छु । केहीबेरमा राजीनामाको पत्र बुझाउन बानेश्वरस्थित संसद भवनमा जान्छु,’ उनले भने । रावल अछाम क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए ।