धरानः नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान पारस खड्काले अन्तर्राष्ट्रिय क्रिकेटबाट संन्यास लिएको घोषणा गरेका छन् ।
पारसले सामाजिक सन्जालमा प्रेस नोट जारी गर्दै आफूले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यास लिएको घोषणा गरेका हुन् ।
नेपालका लागि खेल्नु नै आफ्नो जीवनको सर्वश्रेष्ठ उपलब्धि हो भन्दै उनले क्रिकेट यात्रामा साथ, समर्थन, माया र हौसला दिने सबैप्रति ऋणी रहने जनाएका छन् ।
क्रिकेटर खड्काले मैदानभित्रका दुई दशक जीवन रहुन्जेल मिठो यादका रुपमा आफूसँग रहने भन्दै नेपाली क्रिकेटलाई सबै मिलेर नयाँ उचाइमा पुर्याउने विश्वाससमेत व्यक्त गरेका छन् ।
सन् २००४ मा अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालबाट डेब्यु गरेका पारसले लामो समय कप्तानी पनि सम्हालेका थिए । उनकै कप्तानीमा नेपालले अन्तर्राष्ट्रिय क्रिकेटमा विश्वकप खेल्नेदेखि ओडीआई मान्यतासम्म प्राप्त गरेको थियो ।
नेपालका लागि झन्डै १७ वर्ष अन्तर्राष्ट्रिय क्रिकेट खेलेका उनले सफल अलराउन्डरको रुपमा आफूलाई स्थापित गरे । पारसले नेपालबाट पछिल्लो पटक गत वर्ष फागुनमा थाईल्यान्डमा भएको एसिसी इस्टर्न रिजन टि(२० प्रतियोगिता खेलेका थिए ।
पारसले गत वैशाखमा घरेलु मैदानमा भएको नेदरल्यान्ड्स र मलेसियासँग त्रिकोणात्मक टि(२० आई सिरिज भने चोटका कारण खेलेका थिएनन् । नेपालका लागि यू(१७, यू(१९ हुँदै २००४ मा पारसले मलेसियाविरुद्ध डेब्यू गरेका थिए ।
पारसले सन् २००८ देखि २०१९ सम्म नेपाली क्रिकेट टोलीको कप्तानी गरेका थिए । पारस नेपाली क्रिकेटका सर्वाधिक सफलक कप्तान हुन् । उनको कप्तानीमा नेपालले पहिलो पटक २०१४ टि२० विश्वकप खेलेको थियो ।
त्यस्तै २०१८ मा पहिलो पटक ऐतिहासिक ओडिआई मान्यता पाएको थियो । पारसले नेपाललाई पहिलो पटक २०१० मा डिभिजन पाँचको उपाधि जिताएका थिए । उनको कप्तानीमा नेपालले डिभिजन ५ देखि ३ सम्म उपाधि जितेको छ ।
पारस ओडिआई र टि(२० आई दुबैमा नेपालबाट पहिलो शतक प्रहार गर्ने खेलाडी हुन् । ओडिआईमा २०१९ मा यूएई र त्यसैवर्ष सिंगापुरविरुद्ध टि(२० आईमा शतक प्रहार गरेका थिए । पारसले नेपालबाट १० ओडिआई, ३३ टि(२० आई, २ प्रथम श्रेणी, ४४ लिष्ट ुए रु ५६ टि(२० क्रिकेट खेलेका छन् । पारसले २०१९ मा नेपाली टोलीको कप्तानी छाडेका थिए ।