धरानः प्रधानमन्त्री शेरबहादुर देउवाको मौखिक निर्देशनमा प्राध्यापक डाक्टर जागेश्वर गौतमको सरूवा रोकिएको छ। उनलाई स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले कोभिड युनिफाइड केन्द्रीय अस्पताल वीर को प्रमुख प्रशासकीय अधिकारीबाट हटाउने निर्णय सोमबार गरेका थिए।
तर प्रधानमन्त्री देउवाले मौखिक निर्देशन दिएर गौतमलाई वीरमै राख्न भनेका हुन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले डा। गौतमलाई वीरबाट सोमबारदेखि लागु हुने गरी हटाएको थियो। उनको ठाउँमा स्वास्थ्य राज्यमन्त्री श्रेष्ठले डा। रुद्र मरासिनीलाई ल्याउने निर्णय गरेका थिए।
डा। गौतमलाई कोभिड युनिफाइड केन्द्रीय अस्पतालको प्रमुख गत जेठ १० गते प्रमुख प्रशासकीय अधिकारीमा नियुक्त गरिएको थियो। वीरका ट्रेड युनियनसहितको दबाबमा दुई महिना नबित्दै गौतमलाई हटाइएकोमा प्रधानमन्त्रीले असन्तुष्टि जनाउँदै बदर गर्न निर्देशन दिएका हुन्।
सोमबार स्वास्थ्य मन्त्रालयले हटाउने निर्णयअघि स्वास्थ्यकर्मीसहितका कर्मचारीले गौतमलाई कार्यालयमा छिर्न निषेध गर्दै धर्ना दिएका थिए। सरकारले ल्याएको कोभिड–१९ संकट व्यवस्थापन अध्यादेश अनुरुप वीर अस्पताल, ट्रमा सेन्टर र वीरको नयाँ सर्जिकल भवनलाई समेटेर ‘कोभिड–१९ एकीकृत केन्द्रीय अस्पताल’ बनाएको थियो।
स्वास्थ्य मन्त्रालयले सञ्चालन गर्ने वीर अस्पतालको प्रमुख प्रशासकीय अधिकारीको जिम्मा मन्त्रालयकै तत्कालीन स्वास्थ्य समन्वय महाशाखा प्रमुख तथा प्रवक्ताको जिम्मेवारीमा रहेका गौतमलाई दिएको थियो।
डा गौतमले उक्त अस्पतालका कर्मचारीको मागबारे छलफल गर्न खोज्दा प्रहरी झिकाएर स्वास्थ्यकर्मी र कर्मचारीमाथि कुटपिट गराएको आरोप लागेको थियो। कोभिड युनिफाइड अस्पतालबाट हटाइएका उनलाई थापाथलीस्थित प्रसूति तथा स्त्री रोग अस्पतालमा सरुवा गरिएको थियो। उनले यसअघि पनि त्यहाँ ६ वर्ष निर्देशकका रुपमा काम गरेका थिए।