धरानः नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पार्टी विभाजन गरेर नेकपा एकीकृत समाजवादी पार्टी निर्माण गरेका नेता माधवकुमार नेपालले पार्टी छाडेर जाँदैमा केही फरक नपरेको बताएका छन् ।
ललितपुरमा आयोजित युवा संघको भेलालाई शनिबार सम्बोधन गर्ने क्रममा नेता नेपाललाई कटाक्ष गर्दै ओलीले भने, ‘एकदुई वटा पात खस्दैमा पीर मान्नुपर्ने अवस्था छैन । रुखबाट पात झरेर केही हुँदैन । नयाँ–नयाँ पात पलाउँछ ।’
निर्वाचनमा एमालेलाई कसैले जित्न नसक्ने भएकाले जति मोर्चा बनाएर आए पनि एमालेले नै जित्ने दाबी गरे । एमाले जनताको पार्टी भएकाले विकासको एजेण्डा नभएकाहरुलाई जिताउनुको कुनै अर्थ नभएको उनको भनाइ छ ।
ओलीले दाबी गर्दै भने, ‘एमालेसँग एक्लै कसैले नचिताए हुन्छ । त्यसैले मिलेर मोर्चा बनाएर लड्ने रे ! एकसय बीस जनाको मोर्चा बनाएर एमालेसँग लड्ने ? अरुले मोर्चा कसून् । नेकपा एमालेलाई त्यसले फरक पादैन ।’
उनले माधवकुमार नेपाल नर्कको बाटो हिँडेको बताएका छन् । ‘मैले दुनियाँमा यस्तो नेता देखेको छैन, जसले म फलाना हो, म कार्यकर्ता होइन, म नेता हो भनिरह्यो’, उनले भने, ‘सुन्दा सुन्दा कान टट्टाएर थाकेको थिएँ । अहङ्कार पालेर बसेका थिए अब चोइटिएर गए । हाम्रो पार्टीका नेता कार्यकर्ताले म म भन्दैन ।’
ओलीले नेता नेपालको अहंकारले उनी नै खरानी भएर गएको बताए । ‘यसले मान्छेलाई खरानी पारेर, टुक्रयाएर लग्यो’, उनले भने, ‘म भन्ने अहंकारको भावना छाडौं । माधव नेपाल जाने बाटो नर्कको हो। माधव नेपालले हिँडेको बाटोमा कोही पनि नजानु, त्यतातिर नलाग्नु ।’