Hamro Koshi Aawaj

शनिबार, कार्तिक २१ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

बंगलादेशलाई नेपालमा व्यापार विस्तार गर्न जोड

हाम्रो कोशी आवाज
भाद्र १६ २०७८, बुधबार
बंगलादेशलाई नेपालमा व्यापार विस्तार गर्न जोड

धरानः नेपालका लागि बंगलादेशका राजदूत सलाउद्धिन नोमन चौधरीले नेपाल र बंगलादेशबीच लगानी र व्यापार वृद्धि गर्न निजी क्षेत्रसँग मिलेर काम गर्ने बताएका छन । नेपाल उद्योग परिसंघसँगको भेटवार्ताका क्रममा राजदूत चौधरीले बंगलादेशी लगानीकर्ताका लागि नेपाल उपयुक्त लगानी गन्तव्य रहेको उल्लेख गरे ।
नेपाली वस्तुहरूलाई बंगलादेश निर्यातका लागि सुविधा प्रदान गर्न आफ्नो देश तयार रहेको भन्नुहुँदै उनले यसले दुई देशबीचको व्यापार घाटा न्यूनीकरणका लागि सहयोग गर्ने बताए । ‘नेपाल बंगलादेशले लगानी विस्तार र व्यापार घाटा न्यूनीकरणका लागि सहकार्य गर्ने धेरै ठाउँ छन्,’ उनले भने ।
राजदूत चौधरीले नेपालको पर्यटन बंगलादेशका नागरिकका लागि पहिलो भ्रमण गन्तव्यको रूपमा रहेको पनि उल्लेख गरे । नीतिगत सुधार र उद्योगहरूलाई दिएको सहुलियत एवं संरक्षणका कारण बंगलादेशले धेरै क्षेत्रमा उल्लेख्य प्रगति गरेकोले नेपालले पनि त्यही नीति अनुसरण गर्न सक्ने बताए ।
बंगलादेशले सामाजिक क्षेत्र र आर्थिक क्षेत्रलाई सँगसँगै अघि बढाएका कारण अर्थतन्त्रलाई गतिशील बनाउन सकेको उदाहरण पनि उनले दिए । ‘बंगलादेश महिलाहरू र साना व्यवसायमा केन्द्रित हुँदा दीगो आर्थिक वृद्धिको आधार तयार गर्न सफल भयो,’ उनले भने ।
भेटवार्ताका क्रममा नेपाल उद्योग परिसंघका अध्यक्ष विष्णुकुमार अग्रवालले नेपालमा जलविद्युत क्षेत्रमा लगानीको ठूलो संभावना रहेको र त्यसमा बंगलादेशी लगानीकर्ता आकर्षित हुन सक्ने बताए । बंगलादेशलाई ऊर्जाको ठूलो आवश्यकता रहेको भन्नुहुँदै उहाँले त्यो आवश्यकता परिपूर्ति गर्न नेपालाबाट विद्युत निर्यात एउटा महत्वपूर्ण विकल्प हुने उल्लेख गरे ।
अध्यक्ष अग्रवालले दुईदेशबीचको व्यापार र लगानी अभिवृद्धि गर्नका लागि द्विपक्षीय लगानी प्रवद्र्धन तथा संरक्षण सम्झौता गरेर अघि बढ्न सकिने बताउनुभयो । अध्यक्ष अग्रवालको उक्त भनाइमा राजदूत चौधरीले समर्थन जनाए ।
अध्यक्ष अग्रवालले नेपालको अर्थतन्त्रमा उद्योगको हिस्सा अभिवृद्धि गर्ने, नेपालको निर्यात बढाउने र रोजगारी सिर्जना गर्ने उद्देश्यले परिसंघले मेक इन नेपालस्वदेशी अभियान अघि बढाएको जानकारी गराए । उनले यो अभियानको उद्देश्य नेपालको अर्थतन्त्रको संरचनामा परिवर्तन गराउनु रहेको र त्यसको नेतृत्व परिसंघले लिने पनि उल्लेख गरेको छ ।
परिसंघका उपाध्यक्ष निर्वाणकुमार चौधरीले बंगलादेशी लगानीकर्तालाई सहजीकरण गर्न परिसंघ तयार रहेको बताए । उनले नेपाली उत्पादनलाई प्राथमिकता र सुविधा दिन पनि बंगलादेशलाई आग्रह गरे ।

प्रकाशित मिति: भाद्र १६ २०७८, बुधबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend